१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाविस सचिवज्यू ! माग्नेलाई सिफारिस दिन मिल्छ ?



  • स्थानीय खबर संवाददाता 

काठमाडौं, १५ असोज 
माग्ने मान्छेलाई गाविसले सिफारिस दिन्छ भन्दा अचम्म लाग्न सक्छ ! तर गाविसले दिएको कतिपय सिफारिस पत्र माग्नलाई प्रयोग हुँदै आएको छ । माग्नेले बोकेको कागज पत्र राम्ररी नियालेर हेर्नुहोस्, ‘जो जससँग सम्बन्धित छ’ भन्ने ब्योहोराको त्यस्तो अधिकांश पत्र गाविसको सिफारिस हुने गर्छ । माग्नेलाई सिफारिस किन दिइन्छ भन्ने प्रश्नको उत्तर न गाविस सचिवसँग छ, न सरकारसँग नै । 
माग्नेलाई सिफारिस दिन मिल्ने कि नमिल्ने भन्नेबारे गाविस सचिव हकहित संरक्षण केन्द्र मञ्च र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसमेत अन्योलमा छन् । अहिलेसम्म सिफारिससम्बन्धि कुनै पनि मापदण्ड नबनेको मञ्चका अध्यक्ष दामोदर रिजालले बताए । 
“कसैलाई समस्या परे आर्थिक वा अन्य कुनै सहयोगका लागी सिफारिस लिन सचिवकहाँ आउँछन् । नियमअनुसार दुईचार जनालाई साक्षी राखेर सिफारिस दिन्छौं,” रिजालले भने, “एउटा मात्रै प्रयोजनका लागी प्रयोग गर्नुपर्ने सिफारिस माग्नलाई समेत प्रयोग गर्छन् । जस्तो, औषधी उपचारका लागी सहयोग गर्नुहोला भन्ने सिफारिस पत्र पसल–पसलमा देखाउँदै मागेर हिँड्छन् ।” एउटा प्रयोजनका लागी दिइएको सिफारिस पत्र त्यही कामका लागी मात्रै प्रयोग गरे समस्या नहुने रिजालले बताए । 
खासगरि महंगो उपचार आवश्यक हुने दिर्घरोगी, असाह्य, अपाङ्गका लागी यस्ता सिफारिस दिए पनि प्रयोजनभन्दा बाहिर दुरुपयोग भइरहेको छ । सिफारिस मापदण्ड बनाउनेबारे मन्त्रालयलाई सुझाव दिए पनि कुनै चासो नदिएको रिजालले गुनासो गरे । मन्त्रालयका उपसचिव विजयराज सुवेदीले सिफारिस मापदण्डबारे छलफल भइरहेको जानकारी दिए । 
“गाविस सचिवज्यूहरूको सुझाव हेरिरहेका छौं । कस्ता मापदण्ड बनाउँदा उपयुक्त हुन्छ भनेर अध्ययन गरिरहेका छौं” सुवेदीले भने । नागरिकलाई दिन पर्ने सबैखाले सिफारिस दिने तर कुन मापदण्डका आधारमा दिने भनेर प्रष्ट नियम बनाउनु पर्ने रिजालको सुझाव छ । 
कुन सिफारिसमा कस्तो खाले मुचुल्का, साक्षी, प्रमाण चाहिन्छ भन्नेमा प्रष्ट हुनुपर्ने उनले बताए । “कसैले चाहिनेभन्दा बढी कागजपत्र, प्रमाण खोज्दा नागरिकले दुःख पाइरहेका छन्,” रिजालले भने, “कुनै सचिवले आवश्यक प्रमाण नजुटाई सिफारिस दिँदा दुरुपयोग भइरहेको छ ।”
सिफारिसको संवेदनशीलता  
झट्ट हेर्दा गाविस सचिवले दिने सिफारिस सामान्य सरकारी कामजस्तो लाग्छ । गाविसको सिफारिस आतंकवादी कार्य, किर्तेजस्ता बिषयमा जोडिन थालेको छ । भारतका बिद्रोही संगठन बोडोल्याण्डका नेता निरञ्जन होजाईले गाविसको सिफारिसबाट निरज राईको नामबाट नेपाली नागरिकता लिएका थिए । उनलाई प्रहरीले जोरपाटीबाट पक्राउ गरेको थियो । 
सांसद मिर्जा दिलसाद बेगको हत्यामा संलग्न भनिएका बब्लु श्रीवास्तवले पनि गाविसकै सिफारिसमा नागरिकता लिएका थिए । भारत सरकारको अत्यधिक खोजीको सुचीमा रहेका आतंकवादी यासिन भट्कलले नागरिकता बनाउन गाविसको सिफारिस लिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । घरजग्गा, सम्पतिमा हुने किर्ते काममा पनि गाविसको सिफारिस दुरुपयोग हुँदै आएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०७३, शनिबार ००:००