१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाधारको अभावमा स्थानीय तह नागरिकलाई सेवा दिन असमर्थ




विनोद सिंह विष्ट

बैतडी, १४ कात्तिक ।
मुलुक संघीय संरचनामा गएपछि सिंहदरबारको सेवा घरदैलोमै उपलब्ध गराइने भनिए पनि प्रदेश नं ७ को पहाडी जिल्ला बैतडीमा भने त्यो लागू हुन सकेको छैन ।

यहाँ बैंक, सडक जस्ता भौतिक पूर्वाधार तथा संरचना र जनशक्तिको अभाव छ । यी पूर्वाधारको अभावमा यहाँका जननिर्वाचित प्रतिनिधि र स्थानीय नागरिकले सास्ती खेप्नुपरेको छ ।

बैतडीमा रहेका १० स्थानीय तहमध्ये आठ वटामा बैंक नहुँदा बैंकिङ कारोबार गर्न समस्या छ । बैंक नभएका कारण स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिले सहज रुपमा कारोबार गर्न पाएका छैनन् ।

बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा मात्रै बैंकका शाखा रहेका छन् । स्थानीय तहमा बैंक नहुँदा स्थानीय बासिन्दासमेत बैंकिङ कारोबार गर्न सदरमुकाम धाउन बाध्य भएका सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।

यहाँका बासिन्दा बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम जान बाध्य छन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ । उनले भने– “हरेक आर्थिक कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।”

बैतडीको पाटनमा केही बैंकका शाखा सञ्चालनमा रहेको भए पनि अधिकांश बैंक अहिले सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा रहेका छन् । बैंक नभएकै कारण कतिपय स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुने गरेका छन् ।

जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा परिचित पुर्चौडी नगरपालिकामा पनि बैंकको अभावमा बैकिङ कारोबार गर्न मात्रै डेढ दिन पैदल हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लालबहादुर भण्डारीले बताए । सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंक शाखा अझै पुनःस्थापना हुन सकेका छैनन् ।

स्थानीय तहमा बैंक नहुँदा कर्मचारीको तलब वितरणदेखि लिएर आर्थिक कारोबारमा समस्या भएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए । सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने वचनबद्धता व्यक्त गरेको भए पनि अहिलेसम्म शाखा खुलेको छैन । विसं २०६८ को जनगणनाअनुसार बैतडीको कूल दुई लाख ५० हजार ८९८ जनसंख्यामध्ये करिब एक लाख ५० हजारलाई बैंकिङ कारोबार गर्न कठिनाइ छ ।

सरकारले गत साउनमा बैतडीका छ वटा स्थानीय तहमा नयाँ बैंकका शाखा खोल्ने भने पनि अहिलेसम्म शाखा खुल्न सकेका छैनन् । जिल्लाका छ वटा नयाँ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्ने योजना राखिएको थियो । योजना अनुसार पुर्चौडी नगरपालिकामा ग्लोबल आईएमइ बैंक, डिलाशैनी गाउँपालिकामा कुमारी बैंक, मेलौली नगरपालिकामा एनसिसी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक र सिगास गाउँपालिकामा प्रभु बैंकको शाखा खोलिनुपर्ने थियो ।

कर्मचारी नहुँदा कामकाजमा समस्या
बैतडीका स्थानीय तहमा आवश्यक कर्मचारी नहुँदा कामकाजमा समस्या भएको छ । नगरपालिका तथा गाउँपालिकामा प्रविधिक कर्मचारी नहुँदा समस्या भएको स्वयं जनप्रतिनिधिले बताएका छन् ।

गाउँपालिका तथा नगरपालिकामा कार्यकारी अधिकृत एक, इञ्जिनियर एक, सवओभरसियर दुई, सुब्बा एक र खरिदार एकजना तथा कार्यालय सहयोगी स्थानीय विकासतर्फका कर्मचारी हुने व्यवस्था छ तर जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहमा इञ्जिनियर छैनन् । प्रविधिज्ञ कर्मचारी नहुँदा गाउँसभाले पारित गरेका भौतिक पूर्वाधारका योजना कार्यान्वयनमा ल्याउन समस्या भएको सुर्नया गाउँपालिकाका अध्यक्ष विष्टले जानकारी दिए ।

आवश्यकतानुसारका कर्मचारी नहुँदा नागरिकले चाहेजस्तो सेवा दिन गाह्रो भएको उनले बताए । प्रविधिज्ञ कर्मचारीका साथै गाउँपालिकाका वडामा वडासचिव समेत नहुँदा एकजना सचिवले दुई वटा वडाको काम गर्नुपरिरहेको सिगास गाउँपालिकाका अध्यक्ष धामीले जानकारी दिए । गाउँपालिकाले अघिसारेका कतिपय सुधारका योजना कर्मचारी अभावमा सञ्चालन गर्न कठिनाइ भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको दुखेसो छ ।

वडासचिव नहुँदा सेवाग्राहीलाई सास्ती
बैतडीका विभिन्न वडामा वडासचिव नहुँदा सेवाग्राहीलाई सेवा पाउन मुस्किल भएको छ । चौरासी वटा वडामध्ये ६७ वटा वडामा मात्रै वडासचिव रहेका स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिए । वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीलाई सामान्य सिफारिश बनाइदिनेदेखि लिएर अन्य कामका लागि समेत अप्ठ्यारो हुने गरेको छ ।

जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा रहेको सिगास गाउँपालिकाका नौ वडामध्ये पाँच वडामा वडासचिव नभएको गाउँपालिकाका अध्यक्ष धामीले जानकारी दिए । अहिले त्यहाँ चार जना वडा सचिवले नौ वडाको काम गर्न परिरहेको छ ।

यस्तै सुर्नया गाउँपालिकाको वडा नं २, ७ र ८ मा वडासचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको गाउँपालिकाका कार्यकारी अधिकृत खगेन्द्र भारतीले जानकारी दिए । यस्तै शिवनाथ गाउँपालिकाका तीन वडामा वडासचिव छैनन् । पाटन नगरपालिकाको वडा नं ८ मा वडासचिव नहुँदा प्रशासनिक सबै काम रोकिएको वडाध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । पुर्चौडी नगरपालिका ६ मा वडासचिव छैन भने पञ्चेश्वर गाउँपालिकाका तीन वटा वडामा वडासचिव पुगेका छैनन् ।

यस्तै, दोगडाकेदार गाउँपालिका १ का वडासचिवलाई गाउँपालिकाको निमित्त कार्यकारी अधिकृत बनाएर खटाइएपछि वडावासीलाई समस्या भएको छ । जिल्लाका धेरैजसो वडा कार्यालयमा भवनसमेत नहुँदा स्थानीय तहले प्रभावकारी रुपमा सेवा प्रदान गर्न नसकेको यहाँको बासिन्दाको गुनासो छ ।

स्थानीय तहमा सडकको पहुँच छैन
बैतडीका चार वटा स्थानीय तहका केन्द्रमा सडकको पहुँच नै छैन । स्थानीय तहका केन्द्रमै पुग्न ५ ६ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केन्द्रमा सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको हो ।

गाउँपालिकाको केन्द्रमा पुग्न पाँच घण्टा हिँड्नु पर्ने बाध्यता रहेको सिगास गाउँपालिका थालाकाँडाका बासिन्दा पदम रोकायाले बताए । उनले भने– “स्थानीय तहको केन्द्रमा पुग्ने सडक नहुनाले स्थानीयवासीलाई सेवा लिन निकै गाह्रो भइरहेको छ ।”

यस्तै सुर्नया गाउँपालिकाको वडा ७ र ८ का नागरिकलाई गाउँपालिकाको केन्द्रमा पुग्न कठिनाइ छ । डिलाशैनी ९ गोकुलेश्वरका कृष्णनाथ योगी गोकुलेश्वरमा सडक पुगेको भए पनि डिलाशैनी गाउँपालिकाको केन्द्रमा पुग्न चार घण्टा उकालो हिँड्नुपर्ने बाध्यता रहेको बताउछन् ।

चार वटा स्थानीय तहका केन्द्र सडकले छोएको छैन भने धेरै वडामा पनि सडकको पहुँच छैन । गाउँपालिकाको केन्द्रसम्म सडक नपुगेका स्थानीय तहहरुले सडक पु¥याउन बजेट विनियोजन गरेको भए पनि कहिलेसम्म सडक पुग्ने यकिन छैन । स्थानीय तहमा सडक, विद्युत्, सञ्चारजस्ता अतिआवश्यक भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा नै समस्या भएको स्थानीय तहहरुले जनाएका छन् ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार ००:००