१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ, इलाकाको भद्रगोल



  • रञ्जित तामाङ

काठमाडौं, ६ कात्तिक 
इलाका आधार मानेर स्थानीय तह पुनर्संरचना गर्ने र साविकको नगरपालिकालाई यथावत् राख्ने तीन दलीय सहमति कतिसम्म हचुवा रहेछ भन्नेबारे कैलाली जिल्लालाई हेरौं । 
स्थानीय तह पुनर्संरचना आयोगका अनुसार कैलालीमा १३ वटा इलाका छन् । तीमध्ये ४ नं. इलाकामा अहिले प्रतापपूर गाविस र लम्कीचुहा नगरपालिका छन् । दलीय सहमतिअनुसार पुनर्संरचना गर्ने हो भने प्रतापपूर गाविसलाई मात्रै गाउँपालिका बनाउनु पर्ने हुन्छ । 
साथै, लम्कीचुहा नगरपालिकालाई पनि एउटै स्थानीय तह बनाउनु पर्ने हुन्छ । सरकारले २०७१ बैशाख २५ गते ४ नं. इलाकामा रहेका बलिया र चुहा गाविस गाभेर लम्कीचुहा नगरपालिका घोषणा गरेको थियो ।
  
“बलिया, चुहा र प्रतापपूर गाविसकै अबस्थामा रहेको भए इलाकालाई आधार मान्न सकिन्थ्यो,” आयोगका सदस्य माधव अधिकारीले भने, “नगरपालिकालाई यथावत् राख्ने र इलाकालाई पनि आधार मान्ने भने लम्कीचुहा र प्रतापपूरलाई छुट्टाछुट्टै स्थानीय तह बनाउनु पर्ने हुन्छ । यस्तो सम्भव छैन ।” 
०७१ बैशाख २५ गते अत्तरिया नगरपालिका घोषणा गर्दा ११ नं. इलाकामा रहेका मालाखेति, गेटा, श्रीपुर र बेलादेवीपूर गाभिएको थियो । अहिले ११ नं. इलाकामा गोदावरी र सहजपूर गाविस मात्रै छन् । 
“पछिल्लो मापदण्डमा यति नै गाभ्नु पर्छ भनेर संख्या एकित गरेका छैनौं । तर कुनै गाउँपालिकाको जनसंख्या ३० हजार, कुनैको ३ हजार हुनेगरि स्थानीय तह तोक्दैनौं,” अधिकारीले भने, “कैलालीको प्रतापपूर र लम्कीचुहालाई बेग्लाबेग्लै स्थानीय तह बनाउन सम्भव छैन ।”
५० भन्दा बढी जिल्लाबाट पुनर्संरचना प्रतिवेदन आइसकेको असोज ९ गते दलहरूबीच ९२७ इलाकालाई प्रमुख आधार मानेर पुनर्संरचना गर्ने सहमति भएको थियो । इलाकालाइ प्रमुख आधार मान्ने सहमतिअनुसार ११ गते आयोगलाई सरकारले टीओआरबाट दिएको थियो । 
इलाकालाई आधार मान्ने सहमतिबाट पछि हटेको भनिए पनि २० गते दिइएको अर्काे टीओआरमा घुमाउरो भाषामा इलाका नै प्रमुख आधार मान्ने भनिएको छ । 

अरूमा पनि समस्या 
०७१ बैशाख २५ देखि नयाँ नगरपालिका गठन गर्न थालेदेखि इलाको क्लष्टर भत्किन थालेको हो । साढे २ बर्षअघि नगरपालिकाको संख्या ५८ थियो, अहिले त्यो संख्या २१७ पुगिसकेको छ । यसबीचमा ७ सय ५८ वटा गाविस नगरपालिकामा गाभिएका छन् । 
एउटै इलाकाका सबैजसो गाविस नगरपालिका बन्ने र केही स्थानीय निकाय गाविसकै हैसियतमा रहेका छन् । कैलालीमा मात्रै होइन, यस्ता अफ्ठेरो अरू जिल्लामा पनि छन् । 
अहिले अछामको ५ नं. इलाकामा नन्देगडा गाविस मात्रै छ । ५ नं. इलाकामा रहेका सिद्धेश्वर, जल्पादेवी, बैजनाथ, रिडीकोट, माष्टमाडौं, भागेश्वर, चण्डिका र नवठाना गाविस अहिले साँफेबगर नगरपालिका बनेको छ । 
यसैगरि ११ नं.मा दैजी गाविस मात्रै छ । ११ नं.मा रहेका झलारी र पिपलाडी गाविस भाभिएर झलारीपिपलाडी नगरपालिका बनिसकेको छ । कञ्चनपूरकै १० नं.मा सुडा गाविस मात्रै छ । यसै गरि मनाङको ९ इलाकामध्ये ७ वटा १÷१ वटा मात्रै गाविस छन् । 
“इलाकालाई आधार मान्ने र नगरपालिकालाई पनि यथावत् राख्ने हो भने सबैजसो जिल्लामा समस्या आउँछ,” अधिकारीले भने, “इलाकालाई सहायक आधार मान्न सकिन्छ । प्रमुख आधार मान्न सकिन्न ।” 

प्रकाशित मिति : ६ कार्तिक २०७३, शनिबार ००:००