१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा कार्यकारी प्रमुखः ‘गाउँपालिका र नगरपालिकामा उपसचिव, उपमहानगरपालिकामा सहसचिव, महानगरपालिकामा सचिव’



  • रञ्जित तामाङ

रामेछाप, ९ कात्तिक 
अब बन्ने गाउँपालिका र नगरपालिकाको कार्यकारी प्रमुखमा उपसचिव, उपमहानगरपालिकामा सहसचिव तथा महानगरपालिकामा सचिवस्तरको कर्मचारी नियुक्त गर्नुपर्ने कर्मचारीहरूले सुझाव दिएका छन् । 
गाविस महासंघले आयोजना गरेको कार्यक्रमहरूमा सिन्धुली र रामेछापका कर्मचारीहरूले स्थानीय तहमा अनुभवी उपसचिव खटाउनु पर्ने सुझाव दिए ।
कार्यबोझ धेरै हुने भएकाले गाउँपालिका र साना नगरपालिकामा उपसचिव, उपमहानगरपालिकामा सहसचिव र महानगरपालिकामा सचिव खटाउनु पर्ने सिन्धुलीका जिल्ला प्रशासन प्रमुख ताराबहादुर कार्कीको सुझव छ । 
सिन्धुलीमा आयोजित कार्यक्रममा महानगरपालिकामा सचिव खटाउनु पर्ने कार्कीले बताए । “गाउँपालिकामा ४/५ बर्ष काम गरेका पुराना उपसचिव खटाउनु पर्छ । नयाँ उपसचिवले काम गर्न सक्दैन,” कार्कीले भने, “पोखरा, बीरगञ्ज, नेपालगञ्ज, बुटवलजस्ता उपमहानगरपालिकामा अनुभावी सहसचिव खटाउनु पर्छ ।” 
साथै शाखा प्रमुखहरू पनि अनुभवी शाखा अधिकृतहरू नियुक्त गर्नुपर्ने कार्कीको सुझाव छ । गाविस महासंघले रामेछापको मन्थलीमा आयोजना गरेको कार्यक्रममा पनि कर्मचारीहरूले गाउँपालिका र नगरपालिकाको संगठन ठूलो हुने तथा कार्यबोझ धेरै हुने भएकाले उपसचिव नियुक्त गराउनु पर्नेमा जोड दिएका छन् । 
रामेछाप जिविसका अधिकृत दिपक सुवेदीले अब बन्ने स्थानीय तहमा जिल्ला सदरमुकाममा जस्तै बिषयगत कार्यालय तथा शाखाहरू बन्ने हुँदा उपसचिव आवश्यकता पर्ने बताए । शाखा अधिकृतस्तरको बिषयगत कार्यालयका प्रमुख हुनुपर्ने उनले बताए । 
“रामेछापको गुम्देलजस्तो दुर्गम गाउँपालिकामा पनि धेरैवटा गाविस गाभिन्छन्, त्यसैले उपसचिवस्तरको कर्मचारी नियुक्त गर्नुपर्छ,” उनले भने, “नगरपालिका वा कार्यबोझ धेरै भएका स्थानीय तहमा सहसचिव नै नियुक्त गर्दा उपयुक्त हुन्छ ।”
यसैगरि कोष तथा लेखानियन्त्रकको कार्यालय प्रमुख मधु पोखरेलले कृषी, जनस्वास्थ्य, पूर्वाधार, सुरक्षासँग सम्बन्धित कार्यालयका प्रमुखहरू उपसचिवस्तरको हुनु पर्ने बताए । बिषयगत कार्यालयहरूको प्रमुख एउटै स्तरका कर्मचारीहरूलाई बनाउँदा  विवाद आउन सक्नेतर्फ उनले औंल्याए । 
जिविस महासंघका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले पनि स्थानीय प्रमुख उपसचिव हुनु पर्ने स्वीर्काछन् । कार्यबोझ बढी हुने विषयगत कार्यालयका प्रमुखहरू उपसचिव नियुक्त गर्नुपर्ने उनी बताउँछन् । 
“जनसख्ंया, भूगोल, कार्यबोझका हिसाबले मझौला स्थानीय तहमा उपसचिव चाहिन्छ,” सापकोटाले भने, “राजधानी, भित्रि मधेश र तराईका नगरपालिका र सदरमुकाममा सहसचिव वा सचिवस्तरकै कर्मचारी चाहिन्छ ।” 
अहिले ठूला गाविसमा शाखा अधिकृत, मझौलामा नायब सुब्बा र सानामा खरदारस्तरका सचिव कार्यरत छन् । जनसंख्या, कार्यबोझ, बजेटका हिसाबले साना नगरपालिकामा शाखा अधिकृत र ठूलोमा उपसचिवस्तरको कर्मचारी कार्यकारी अधिकृत छन् । 
काठमाडौं महानगरपालिकामा भने सहसचिव कार्यकारी अधिकृत हुने व्यवस्था छ । गाविस महासंघले स्थानीय तहको पुनर्संरचना र कर्मचारी व्यवस्थापनबारे सुझाव संकलन गर्न रामेछाप, सिन्धुलीलगायत विभिन्न ९ जिल्लामा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । 

प्रकाशित मिति : १० कार्तिक २०७३, बुधबार ००:००