८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘स्थानीय तहलाई मगन्ते बनाइराख्ने सोच अझै बाँकी छ’



स्थानीय खबर संवाददाता, काभ्रे । स्थानीय तहलाई केन्द्र सरकारमातहतको निकाय सम्झिने र स्थानीय तहलाई मगन्तेको भूमिकामा राखिराख्ने सोंच अझैं बाँकी रहेको सरोकारवालाहरूले बताएका छन् । काभ्रेको नमोबुद्ध नगरपालिकाले धुलिखेलमा आयोजना गरेको कार्यक्रममा पूर्वमहान्यायधिवक्ता डा युवराज संग्रौलाले पुरानो मानसिकताका कारण स्थानीय तहको संवैधानिक गरिमा बुझ्न नसकेको बताए ।

“स्थानीय तह सिंहदरबारमातहतको निकाय हाे भन्ने बुझाई अझै बाँकी छ । यो बुझाई सिंहदरबारसँग बजेट मागेर स्थानीय तहलाई मगन्ते बनाउनेभन्दा माथिको होइन,” संग्रौलाले भने, “संघ, प्रान्त र स्थानीय तह बराबर हुन् भन्ने बुझाई निर्माण हुन बाँकी छ । दिमागमा भएको पुरानो फ्रेम फेर्नुपर्ने बेला आएको छ ।”

तस्बिरः माेतिराम तिमल्सिना

विगतका स्थानीय तह ऐनले गठन भएको तर अहिलेको स्थानीय तह संविधानको व्यवस्थाअनुसार गठन भएको उनले बताए । सर्बोच्च, पुनरावेदन र जिल्ला अदालतको उदाहरण दिँदै संघ, प्रान्त र स्थानीय तहको अधिकार बराबर भएको उनले प्रष्ट पारे । “सर्वोच्च अदालतले पुनरावेदन र जिल्ला अदालतलाई आफूभन्दा सानो भन्दैन । पुनरावेदन र जिल्ला अदालतले पनि सर्बोच्चलाई आफूभन्दा ठूलो भन्दैन,” उनले भने, “अब स्थानीय तहले संवैधानिक अधिकारको उपयोग गरेर सम्पन्न बन्ने कि, सिंहदरबारमा बजेट मागेर मगन्ते बन्ने ? प्रष्ट हुन जरुरी छ ।”

यही मानसिकताका कारण मुलुकको स्रोत साधनलाई पनि सिंहदरबारकै तजबीजिमा बुझिरहेको र सिंहदरबारले नदिए स्थानीय तहलाई संकट आइपर्छ भन्ने आम बुझाई रहेको उनले बताए । तलको अधिकार सोहोरेर माथी राखे अबको राज्य असफल हुने उनको निर्ष्कष छ । “संविधानले बराबर हैसियत दिएपछि मुलुकको स्रोत साधनमाथी स्थानीय तह, प्रान्त र संघको अधिकार पनि बराबर हुन्छ,” उनले भने, “पुरानो मानसिकताका कारण सिंहदरबारले बजेट नदिए स्थानीय तह संकटमा पर्छ भन्ने भ्रम व्याप्त छ । यो भ्रम चिर्ने बेला आएको छ ।”

अधिकार र स्रोतसाधन स्थानीय तहलाई दिनु पर्ने तर कार्यान्वयन प्रक्रियालाई पनि निगरानी गर्नुपर्ने बताए । “अधिकार दिनुपर्छ तर गलत गर्नेवित्तिकै पक्रिहाल्ने संयन्त्र पनि बनाउनु पर्छ,” उनले भने, “अधिकारसम्पन्न हुनु भनेको मनलाग्दी गर्न पाउनु होइन, थप जिम्मेवारी बन्नु हो ।”

नमोबुद्ध नगरपालिकालाई सुझाव दिनेक्रममा उनले बहुआयामिक फाईदा दिने खालका लगानी भित्र्याउन पहल गर्नुपर्ने बताए । साथै व्यवस्थित योजना तर्जुमाको कार्यान्वयन पक्षलाई बढी ध्यान दिन पनि सुझाव दिए । “जग्गा प्लटिङ गरेर घर थुपार्दैमा मात्रै व्यवस्थित सहरीकरण हुँदैन । नजिकैको राजधानीमा थुप्रिएर रहेका केही कलेजलाई मात्र नमोबुद्ध नगरपालिकामा ल्याउने पहल गर्नुहोला,” उनले भने, “एउटा कलेज स्थापना भयो भने त्यसले जग्गाको भाउ बढाउने काम मात्रै गर्दैन । मान्छेको आवतजावत बढ्छ । यहाँको व्यापार व्यवसाय बढ्छ । कृषी उपजहरूको बिक्रि बढ्छ । शिक्षाले पार्ने सामाजिक प्रभाव त छँदैछ ।”

यसैगरि वित्तीय बिकेन्द्रीकरण विज्ञ खिमलाल देवकोटाले विभिन्न विधेयकहरू निर्माण गर्नेक्रममा स्थानीय तहलाई कमजोर पार्न खोजिएको बताए । स्थानीय तहलाई जिम्मेवारी धेरै र स्रोत साधन कम दिन खोजिएको प्रति देवकोटाले जनप्रतिनिधीहरू चनाखो हुनुपर्ने बताए । जिम्मेवारी धेरै, स्रोतसाधन कम हुँदा स्थानीय शासन नै असफल हुने देवकोटाको निर्ष्कष छ । संविधनामै भएको कतिपय प्रावधानलाई टेकेर केन्द्रीय सरकारले स्थानीय तहलाई आदेश दिइरहेको बताए ।

याेजनामा बहस धेरै, कार्यान्वयन थाेरै !

नेपाल सरकारका सचिव गोपी मैनालीले नेपालमा योजनाको बहस धेरै हुने र कार्यान्वयन फितलो हुने परिपाटी रहेको बताए । “योजनाको हिस्सा १ प्रतिशत र कार्यान्वयन ९९ प्रतिशत हुनुपर्छ,” एक जापानी विज्ञलाई उधृत गर्दै मैनालीले भने, “हामीकहाँ बहस धेरै भयो, कार्यान्वयन कमजोर भयो । त्यसैले योजना निर्माणको परिपाटी फेर्नुपर्ने बेला आएको छ ।” नमोबुद्ध नगरपालिकालाई सुझाव दिँदै बौद्ध र हिन्दु धर्म सर्किटकाे निर्माण, स्थानीय थांका कलाको प्रर्वद्धन गर्नुपर्ने वताए ।

हालै अवकास प्राप्त सरकारका सचिव पूर्णचन्द्र भट्टराईले पनि ठूला र महत्वकांक्षी भन्दा पनि पुरा गर्न सक्ने योजना निर्माणमा जोड दिए । साथै स्थानीय सुशासनप्रति चनाखो रहनुपर्ने बताए । सरकारका अर्का सचिव राजन खनालले पनि ‘माग्ने युग सकिएको’ सकिएको टिप्पणी गर्दै स्थानीय तहले आन्तरिक स्रोत जुटाउनेमा जोड दिनुपर्ने बताए । “मुलुकको आम्दानीको कूल हिस्सामध्ये विदेशबाट आयातित सामानबाट उठाउने भन्सारको अंश ५० प्रतिशत हाराहारी छ,” खनालले भने, “केन्द्र सरकारले मुलुकको स्रोतसाधन राख्ने र तजबीजिमा दिने युग सकिएको छ । अब त्यसैले सबै सरकार आम्दानी बढाउनेमा अब्बल हुनुपर्छ ।”

नमोबुद्ध नगरपालिकाले काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘विज्ञ संवाद तथा अन्तरक्रिया कार्यक्रम’ मा नमोबुद्ध क्षेत्रका प्रशासक, विज्ञ, जनप्रतिनिधीहरूको उपस्थिति थियो । नमोबुद्धका नगरप्रमुख टीपी शर्माले आफ्नो कार्यकालमा नगरपालिकालाई समृद्ध बनाउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १० असार २०७४, शनिबार ००:००