१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचन २०७६ः वाम तालमेल काङ्ग्रेसलाई चुनौती




रामबहादुर थापा

बागलुङ । नेपाली काङ्ग्रेससामु क्षेत्र नं २ ख मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि काङ्ग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो ।

सो चुनावमा काङ्ग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए । घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो । उपचुनावमा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को समर्थनमा राजमोका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा छन् । काङ्ग्रेसले अघिल्लो चुनावमा पराजित शेरचनलाई पुनः उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा तत्कालीन नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजमोको गठबन्धनले सबै क्षेत्रमा एकलौटी जितेको थियो । विसं २०७० को संविधानसभा सदस्यको दोस्रो चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको काङ्ग्रेस वाम तालमेलकै कारण पराजित भएको थियो ।

विसं २०७४ को चुनावपछि भने तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनिसकेको छ । त्यो बेलाको तीनदलीय वाम गठबन्धन उपचुनावसम्म आइपुग्दा दुईमा झरेको छ । नेकपा र राजमोको केन्द्रीय नेतृत्वबीच उपचुनावमा पनि वाम तालमेललाई निरन्तरता दिने सहमति भएपछि उक्त क्षेत्र राजमोले पाएको हो ।

यो चुनावमा पनि परिचित प्रतिद्वन्द्वी वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । चुनाव जित्ने जिकिर भने दुवैतर्फका उम्मेदवार र नेताको छ । नेपाली काङ्ग्रेसका सभापति दीपेन्द्रबहादुर थापा यसपालिको वाम तालमेललाई ‘आत्मिय’ नभएको रूपमा अर्थ्याउछन् ।

“पहिले वाम तालमेल गरेका हुनाले उपचुनावमा पनि बाध्यता प¥यो होला”, सभापति थापाले भने, “उनीहरुको एकता आत्मियखालको छैन, एकतर्फीजस्तो छ ।” काङ्ग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएकाले चुनाव जित्नेमा विश्वस्त छन् । “गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिन”, उनले भने, “अहिले परिस्थिती फरक छ, हामी चुनाव जित्छौँ ।”

उनले पहिले चुनाव जितेका दल र उम्मदेवारले जनतामाझ गरेको वाचा पुरा गर्न नसकेको आरोपसमेत लगाए । पहिले चुनाव हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ । राजमाका जिल्ला अध्यक्ष अमर थापा भने अघिल्लो चुनावमा भन्दा बढी मतका साथ चुनाव जितिनेमा ढुक्क छन् । उनले भने, “काङ्ग्रेसले जितिरहेको ठाउँ हो, जनमत पनि राम्रो थियो, सरकार पनि काङ्ग्रेसकै थियो” उनले भने, “त्यो परिस्थितिमा त काङ्ग्रेस ठूलो मतान्तरसहित चुनाव हा¥यो, अहिले कसरी जित्छ ? जित्दैन ।”

तीनै तहमा बलियो कम्युनिष्ट सरकार भएको, जनतामा आशा जागेको, विकास, निर्माणदेखि राष्ट्रिय मुद्दामा दरिलो अडान लिएका कारण आफ्नो उम्मेदवारले झन् बढी मत लिएर जित्ने अध्यक्ष थापाको ठोकुवा छ । उनले उम्मेदवारीलाई लिएर छिटपुट असन्तुष्टि देखिए पनि त्यो समाधान हुने बताए ।

सो क्षेत्रमा नेकपाका नेता शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई अप्ठेरो परेको छ । “उहाँ पुरानो हाम्रै पार्टीको साथी हो, जिम्मेवार व्यक्ति कम्तीमा अर्को दललाई चुनाव जिताउन लाग्नुहुन्छ भन्ने लागेको छैन”, अध्यक्ष थापाले भने, “विश्वास छ उनले उम्मेदवारी फिर्ता लिनुहुन्छ, त्यसमा नेकपाका साथीहरुले पहल गर्नुहुनेछ ।”

शेरमान तत्कालीन नेकपा (माआवोदी केन्द्र) मा आउनुपूर्व राष्ट्रिय जनमोर्चामा आवद्ध थिए । गएको स्थानीय तह चुनावमा उनी माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको प्रमुख पदमा चुनाव लडेका थिए । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा उनको उम्मेदवारी फिर्ता हुने बताएका थिए ।

राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताए । “अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो सङ्गठन पनि विस्तार भएको छ”, उनले भने, “सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।” उनले चुनावी अभियानलाई पनि प्रभावकारी बनाइने उल्लेख गरे । अव्यवहारिक र महत्वकाङ्क्षी योजनाभन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार ००:००