१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हराउँदै पिङ संस्कृति




कावासोती । दशैँ तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने लिङ्गेपिङ हराउँदै जान थालेका छन् । दशैँ लाग्नुपूर्व गाउँका टोलटोलमा राखिने लिङ्गेपिङ अहिले भने क्रमशः हराउँदै जान थालेका हुन् । गाउँघरमा युवा जनशक्ति कममात्रमा हुनु र बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हुँदा पिङ राख्ने संस्कृति भने पातलो हुँदै गएको छ ।

“पहिले पहिले दशैँ आउन लाग्दा गाउँघरका साथीभाइ जम्मा भएर लिङ्गेपिङ राख्ने चहलपहल हुन्थ्यो, बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने चटारोसँगै दशैं आएको भान हुन्थ्यो, अहिले त पिङ पनि नौलो हुन थाल्यो”, स्थानीय दुर्गालाल पराजुलीले भने । “दशैँ आएसँगै गाउँघरमा रोटेपिङ, लिङ्गेपिङ राख्ने चलन रहेको थियो ।

“अहिले रोटेपिङ हराइसकेको छ, लिङ्गेपिङ पनि बिरलै देख्न पाइन्छ”, पराजुलीले भने, “गाँउघरमा दशैँ लागेसँगै राखिने पिङ हराउँदै जादा दशैँको उमङ्ग पनि कम हुँदै जानेछ ।” नेपाली संस्कृति परम्पराअन्तर्गत दशैँ तिहारमा पिङ राख्ने चलन छ । यस्तै दशैँको टीकाका दिन एकपटक भए पनि पिङ खेल्नुपर्छ भन्ने मान्यतासमेत रहेको छ तर अहिले आएर पिङ राख्नेक्रम भने घट्दै गइरहेको छ ।

“पहिले पहिले दशैँ आउनुभन्दा पहिला नै गाउँका युवा मिलेर पिङ हाल्ने गरिन्थ्यो, दशैँ प्रारम्भ भएसँगै रमाइलो हुथ्यो हिजो आज त्यो सब हराउँदै गएको छ”, हुप्सेकोटका राजु पोख्रेलले भने, “आजभोलि गाउँ नै रित्तो जस्तै छ, दशैँ आए पनि आए जस्तो छैन ।” रोजगारको खोजीमा युवा विदेश पलाएन भएसँगै गाउँ घरमा चहल पहल कम भएको छ । युवा जनशक्ति नहुँदासमेत गाउँका लिङ्गे पिङ हराउँदै जान थालेका छन् ।

शहरमा सबै आफ्नो काममा ब्यस्त, मनोरञ्जनका साधन अन्य धेरै हुँदा शहर बजारबाट पिङ राख्ने चलन लोप नै हुन लागेको कावासोती–३ गोपाल बस्नेतले बताए । मनोरञ्जनका लागि टेलिभिजन, सिनेमाघर, इन्टरनेट आदि विभिन्न साधनको प्रयोग बढ्दै गइरहेको र शहरी जीवन आफैँमा ब्यस्त बन्दै गएका कारण शहर बजारमा पिङ राख्ने चलन कम हुँदै गएको बस्नेतले बताए ।

नेपालका मौलिक परम्परा र संस्कृति संरक्षणका लागि यस्तै सानासाना परम्परागत कार्यको जगेर्ना गर्दै जानुपर्ने कतिपय सामाजिक अगुवाको भनाइ छ । केही स्थानमा गत वर्षमा सशस्त्र प्रहरीलेसमेत लिङ्गे पिङ राख्ने गर्दथ्यो । यसलेसमेत विभिन्न चहलपहल र दशैँको शुरुआत भएको आभास दिलाउथ्यो । अहिले पिङ गाड्ने काममा खासै कसैको चासो देखिँदैन । यसले दशैँसँगै आश्रित पिङ राख्ने परम्परा नै सङ्कटमा पर्दै गएकामा कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । रासस

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार ००:००