ताराखोला गाउँपालिकाले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ । गाउँपालिकाले विज्ञ, परामर्शदाताको सहयोग लिएर आवधिक योजना बनाएको हो । ५ वर्षका लागि योजनाबद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।
योजनाको मस्यौदा छलफल तथा सुझावका लागि शुरुमा वडा तहमा पठाइएको थियो । गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, विषयगत शाखाका प्रमुख, विज्ञलगायतको टोलीले आवधिक योजनाको मस्यौदा बनाएका थिए ।
“पञ्चवर्षीय योजना अब कार्यान्वयनमा जान्छ,” अध्यक्ष घर्तीले भन्नुभयो, “यो ताराखोलाको सपना र भविष्यसँग जोडिएको छ ।”
पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर ताराखोला’को लक्ष्यसमेत किटान गरेको छ । साना उद्योगको प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि ‘उद्योग ग्राम’ सञ्चालन गरिने उल्लेख छ । परम्परागत र सीपमूलक व्यवसायलाई उद्यमका रुपमा विकास गर्ने योजना छ । बाँझो जग्गालाई भूमि बैंकको अवधारणामा एकीकृत गरी व्यावसायिक कृषि खेतीलाई विस्तार गरिने भएको छ ।
“खाली रहेका खेतीयोग्य जमीन निश्चित समयका लागि गाउँपालिकाले लिने र व्यावसायिक किसानलाई दिने योजना छ”, घर्तीले भने ।
एकीकृत नमूना कृषि ‘फार्म’का लागि संघीय सरकारबाट चालू आवमा २ करोड बजेट छुट्टिएको र उक्त योजना सञ्चालनका लागि गुरुयोजना निर्माणको काम अघि बढेको जनाइएको छ । न्यून आय भएका किसानको आयआर्जन सुधारमा पनि गाउँपालिकाले सघाउने नीति लिएको छ ।
पाँच वर्षभित्र गाउँ चक्रपथ निर्माण, गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रे, गाउँपालिकाभित्रका मुख्य सडकको स्तरोन्नति र कालोपत्रे गर्ने योजना छ । गाउँपालिकालाई छिमेकी पालिका र जिल्लासँग जोड्ने सडकलाई विशेष जोड दिइएको छ ।
सडक बोर्डले रणनीतिक सडकका रुपमा लिएको रिजालचोक–अमरभूमि–तारा–म्याग्दी शहीद मार्गलाई गाउँपालिकाले पनि रणनीतिक सडकमार्गका रुपमा स्वीकार गरेको छ । गलकोट नगरपालिका हुँदै ताराखोला गाउँपालिका जोडिने सडक पाँच वर्षभित्र स्तरोन्नति र कालोपत्रे गरिने आवधिक योजनामा उल्लेख छ ।
पर्यटनतर्फ घरवास (होमस्टे) कार्यक्रमलाई थप व्यवस्थित र सम्भावित ठाउँमा नयाँ विस्तार गरिने उल्लेख छ । नयाँ गन्तव्य पहिचान र पर्यटनमैत्री पूर्वाधार निर्माणमा पनि गाउँपालिकाको जोड छ । शिक्षा, स्वास्थ्यका कार्यक्रमलाई पनि प्रभावकारी र परिणामुखी बनाइने गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।
कृषितर्फ आलुखेती, पशुपालनमा बाख्रा, भेडा र भैँसीपालनमा ताराखोला आत्मनिर्भर छ । वनमा आधारित उद्यम विकासको पनि उत्तिकै सम्भावना छ । ताराखोलाबाट आलु, भाँगो, अल्लोका कपडा, नेपाली हाते कागज, काठ, जडीबुटीलगायतका स्थानीय उत्पादन निर्यात हुन्छ ।
आगामी पाँच वर्षभित्र पाँचवटै वडामा शुद्ध पिउने पानी, बिजुली बत्तीलगायतका आधारभूत सुविधा पु¥याइने उल्लेख छ । वातावरण संरक्षणतर्फ गाउँपालिकाको वडा नं २ मा पर्ने चरीखोला तालको संरक्षण गरिने भएको छ । बहुपहिचान झल्कने सांस्कृतिक सङ्ग्रहालय निर्माणको योजना पनि अघि सारिएको छ ।
पञ्चवर्षीय योजना कार्यान्वयमा जनशक्ति अभाव, भौगोलिक कठिनाइ, नागरिक सशक्तीकरणको कमीलगायत चुनौतीको रुपमा लिइएको छ ।रासस
प्रतिक्रिया