६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चोत्र गाउँको घरबासमा पर्यटक वृद्धि




सिञ्जा । जुम्ला गुठीचौर गाउँपालिका वडा नं १ चोत्र गाउँमा १५ घरधुरीबाट शुरु भएको घरबास ९होमस्टे०मा अहिले आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । त्यहाँको घरबासमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटक पुग्ने गरेका छन् । गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्रिने त्यो गाउँ घरबास गाउँका रुपमा विकसित भएको छ ।

गुठीचौर गाउँपालिकाको सहजीकरणमा घरबास स्थापना गरिएको हो । पन्ध्र घरधुरीबाट शुरु भएको घरबासलाई अहिले ५५ घरमा विस्तार गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए । जाजरकोट र डोल्पा जिल्लाको नजिकै पर्ने चोत्र र गडीगाउँलाई पर्यटन क्षेत्रका रुपमा विकास गरिने लक्ष्य रहेको उनको भनाइ थियो ।

विशेष गरी हिउँदको समयमा बढी पर्यटक भित्रिने गरेका छन् । स्वच्छ वातावरण, खानेपानी, शौचालय, बिजुली बत्तीलगायत सुविधाको व्यवस्था गरिएकाले पर्यटक घरबासमा आकर्षित भएको चोत्र गाउँका हिमा आगम्मु बुढाले बताए । घरबास सञ्चालन भएका घरमा पाँचदेखि १० जनासम्म बस्न सक्ने क्षमता रहेको उनको भनाइ थियो ।

“घरबासलाई अझै व्यावसायिक बनाउने सोच बनाएका छौँ”, उनले भने, “आउँदा दिनमा अझै सुविधा सम्पन्न बनाउने प्रयत्नमा छौँ ।” प्राङ्गारिक खाना आलु, मकै, मूला, कोदोको ढिँडो, सिस्नो, स्थानीय कुखुरा तथा स्थानीय परिकारमा पर्यटक रमाउने गरेका छन् । घरबास सञ्चालन गरेपछि आफ्नो घरखर्चसमेत राम्रोसँग चलेको बुढाले बताए ।

यस गाउँको कला, संस्कृति र मौलिकतासँगै पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष गरेर ग्रामीण तहमा घरबास बनाउन थालिएको उनको भनाइ थियो । पदयात्राका लागि पदमार्ग धेरै भएकाले यस क्षेत्रमा बसोबासका लागि सहज हुने अपेक्षाका साथ घरबासको अवधारणा स्थानीय सरकारले ल्याएको अध्यक्ष भण्डारीले जानकारी गराए । ग्रामीण तहमा घरबास सञ्चालनले स्थानीय स्रोत र साधनको परिचालन, स्थानीय कृषिको प्रवद्र्धनसँगै प्राङ्गारिक खानाले स्थानीयवासीको आर्थिक अवस्थामा सुधार हुनाका साथै प्राङ्गारिक खानाको प्रयोगले स्थानीय कला, संस्कृति र जीवन पद्धतिसमेत संरक्षण हुने उनको भनाइ थियो ।

पर्यटकको सहजताका लागि प्रत्येक घरमा टेलिफोन सेवा जडान गरिने जानकारी दिँदै उपाध्यक्ष जानदेवी ऐडीले उक्त गाउँलाई नमूना घरबासका रुपमा विकास गरिने बताइन् । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने तयारी गरिरहेको अवस्थामा स्थानीय तहमा निजी र सामुदायिक घरबास बनाउनेको सङ्ख्या बढेको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार ००:००