९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका किसान सामूहिक तरकारी खेतीतर्फ




मिमबहादुर रावल

मान्म । कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारी लगाएर किसानहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका अन्तर्गतका कर्णाली राजमार्ग छेउछाउका ताडी, बद्रीगाउँ, दाँहा, पीलि, गाल्जे, खल्नागाड, धनेडा, भिग्म गाउँका किसानहरु बैमोसमी तरकारी खेती गर्न थालेका छन् । विगतमा परम्परागत खेतीबाट सामान्य आम्दानी लिने गरेका ती किसान अहिले तरकारी खेतीबाट चौगुना आम्दानी गर्छन् ।

बेमौसमी तरकारी खेती गरेर अहिले वर्षमा चार वटा बालीसम्म तरकारी खेती गर्ने गरेको तिलागुफा नगरपालिका वडा नं ६ जुबिथाका रिशमा शाहीले बताइन् । उनका अनुसार त्यसबाट वर्षमा १ लाखदेखि २ लाखसम्म आम्दानी हुन्छ । “विगतमा परम्परागत बाली लगाउँदा आम्दानी सामान्य मात्रै हुन्थे,” उनले भनिन्, “अहिले विगतमा भन्दा अहिले चौगुना आम्दानी लिन थालेका छौं ।”

कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारी बजारीकरण गर्न सजिलो भएको छ । यद्यपि माग अनुसारको तरकारी उत्पादन गर्न नसकिएको सोही वडौ ६ का परेकबहादुर शाहीले बताए । “कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारीको बजारीकरणमा सहज भएको छ,” उनले भने, “मागअनुसारको तरकारी उत्पादन गर्न सकिएको छैन ।”

सामूहिक तरकारी खेतीमा किसानहरु

कर्णाली राजमार्ग बनेपछि किसानहरुले सामूहिक तरकारी खेती शुरु गरेका छन् । गाउँमा रहेको जग्गा भाडामा लिएर उनीहरुले समूह बनाई तरकारी खेती गर्न थालेका हुन् ।

तिलागुफा नगरपालिकाका ठाउँ ठाउँमा स्थानीय गाउँलेहरु मिलेर कृषि समूह गठन गरेका छन् । कर्णाली राजमार्गमा पर्ने खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका विभिन्न गाउँहरुमा अहिले सामूहिक तरकारी खेती हुने गरेको छ ।

गाउँमा उत्पादन हुने तरकारीको बजारीकरण गर्न र गाउँका सबैको आम्दानी वृद्धि गर्न १३ जनाको समूह बनाई ५ लाखमा जग्गा भाडामा लिइएको तिलागुफा नगरपालिका वडा नं ५ खल्लाका सामूहिक तरकारी खेती समूहका अगुवा किसान विष्णुलाल रेग्मीले बताए । “सबै गाउँलेको आम्दानी वृद्धि गर्न सामूहिक तरकारी खेतीको अभ्यास शुरु भएको छ,” उनले भने–“यसबाट सामूहिकताको भावना पनि विकास हुन्छ । सबैको आम्दानी पनि बढ्छ ।”

एउटै वडाबाट करोडौंको कारोबार

तिलागुफा नगरपालिका वडा नं ६ जुबिथाका किसानहरुले एक वर्षमा तरकारी बेचेरै एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । मार्सी धान फल्ने खेतहरुमा धान खेतीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केही वर्ष अघिदेखि नै मार्सी धान लगाउने खेतहरुमा बैमौसमी तरकारी खेती गर्न थालिएको छ ।

विगतमा धानको खेती गर्दा एउटा खेतमा तीन बोरा मात्र धान फलाउन सकिन्थ्यो । अहिले तरकारी खेती गर्दा त्योभन्दा बढी नै आम्दानी हुन थालेको स्थानीय तरकारी किसान जनकबहादुर शाहीले बताए । “विगतमा खेतमा धान रोप्दा दुई–तीन बोरा फल्थ्यो,” उनले भने, “अहिले त्यही खेतमा तरकारी खेती गर्दा एक लाखभन्दा बढी कमाइ हुन्छ ।”

तिलागुफा नगरपालिका वडा नं ६ को जुबिथा गाउँमा तरकारी खेती गरेर किसानहरुले १ करोडभन्दा बढी आम्दानी लिएको वडाध्यक्ष नेत्रबहादुर शाहीले बताए । “यो आर्थिक वर्षमा किसानहरुले तरकारी खेतीबाट १ करोडभन्दा बढी आम्दानी लिएका छन्,” उनले भने, “यहाँका मानिसहरुको आम्दानीको पहिलो आधार तरकारी बनेको छ ।”

कर्णाली राजमार्ग आसपासका किसानहरुले तरकारी खेती गर्न थालेपछि उनीहरुलाई सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु पनि बढेका छन् । ती मध्ये प्रधानमन्त्री कृषि परियोजना, सेडा नेपालले विकास परियोजना केही संस्था हुन् । यी कार्यक्रमले किसानलाई प्राविधिक ज्ञान र विभिन्न प्रकार तालीम उपलब्ध गराउँछन् । सेडा नेपालका विकास परियोजना संयोजक प्रेमबहादुर फडेराले भने–“किसानहरुले तरकारी खेती गर्न थालेपछि अहिले सरकारी तथा गैरसरकारी संस्थाहरुले किसानका लागि प्राविधिक तथा बजारीकरणमा काम गरिहेका छन् । यसले किसानहरुलाई तरकारी खेती गर्न सहज बनाइदिएको छ ।”

तरकारी खेती गर्न थालेपछि सहयोगीहरु पनि बढेकाले किसानहरु अहिले तरकारी खेतीप्रति आक्रर्षित हुँदै गएको स्थानीयस्तरमा काम गर्दै आउनुभएका कृषि प्रविधिज्ञ लोकजंग शाहीले बताए । नगरपालिकालाई कृषि क्षेत्रमा अब्बल बनाउने तिलागुफा नगरपालिकाले अठोट लिएको छ ।

जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्दै आएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । “त्यही अनुसार नगर परिषद्बाट योजना तर्जुमा गरेका छौं,” उनले भने–“कृषि क्षेत्रलाई अगाडि बढाउने काम गरेका छौं ।”

खडेरी पर्ने क्षेत्रमा सिँचाइका लागि कुलो र खानेपानीका धाराको प्रबन्ध गर्ने कामलाई अगाडि बढाएको नगर प्रमुख शाहीले बताए । उनले भने–“कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी, सडक लगायतका क्षेत्रमा तीव्र रुपमा काम अगाडि बढाइएको छ । त्यसका लागि साझेदार संस्थासँग मिलेर पनि काम गरिरहेका छौं ।”

उनका अनुसार अहिले नगरपालिकाले स्याउ जोन बनाउने पनि कामलाई अगाडि बढाएको छ । “नगरपालिकाभित्रका सबैको बारीमा एक स्याउ बारी बनाउने नीति नगरपालिका छ,” उनले भने–“त्यसका लागि नगरपालिकाले नीतिगत निर्णय समेत गरिसकेको छ ।”

कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको किसानहरुलाई खाँडाचक्र नगरपालिकाले सहुलियतमा बीउ र बिरुवाका वितरण कार्यक्रमलाई अगाडि बढाएको नगरपालिका प्रमुख विजया बिष्टले बताए । उनले भने–“हाम्रो पहिलो प्राथमिकता कृषि क्षेत्र नै हो । कृषिलाई आधुनिकीकरण गर्ने र किसानहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्ने विषयमा छलफल भइरहेको छ ।” रासस

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार ००:००