१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय केन्द्र बन्दै मझुवागढी




केदार मगर

खोटाङ । जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक दिक्तेलबजार नजिकै पर्ने ऐतिहासिक मझुवागढी, कालिका भगवती, मझुवामाई र बुद्धेश्वर गुफा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

हलेसी आउने तीर्थालुले कालिका भगवती, मझुवामाई र बुद्धेश्वर गुफाको दर्शन नगरे तीर्थ अपूरो हुने विश्वास छ । त्यस्तै किरात उत्पत्तिको थलो मानिएको तुवाचुङ जायजुम आउने समेत मझुवागढी नआएसम्म अधुरो यात्रा हुने मनोकांक्षामा यस क्षेत्रमा तीर्थालुहरु आउने गर्छन् ।

हिन्दु धर्मावलम्बीहरू हलेसीको दर्शनपछि कालिका भगवती, मझुवामाई, बुद्धेश्वर गुफामा पूजा आराधना गरे चिताएको पूरा हुने जनविश्वासमा यहाँ आउने गरेको मझुवामाइका पुजारी छवि आचार्यले बताए । त्यसैगरी तुवाचुङ जायजुम आउने किराती समुदायका तीर्थालुसमेत मझुवागढी आउने गरेका छन् ।

मझुवागढी आउने पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिलट्रस्ट तथा आराम गर्ने स्टिलको फलैँचा र प्यास लागेको समयमा पिउनेपानीको व्यवस्था गरिएपछि यस क्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीयवासी बताउँछन् ।

तराईका समथर भू–भागदेखि हिमशृङ्खलासम्म दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । बाह्रै महीना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको दिनमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयवासी बताउँछन् ।

चारैतिर घना जङ्गलले घेरिएको मझुवागढीमा अहिले दैनिक एक सयदेखि एक सय पचास जना आन्तरिक पर्यटक घुम्न र विभिन्न ठाउँको दृश्यावलोकन गर्न आउने गरेका छन् । मझुवागढीको पश्चिम दिशामा महुरेगढी सोही नगरपालिका–१३ नुनथलामा पर्छ । पूर्वमा चुइचुम्वागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने, दक्षिणमा खाम्तेल गढी हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्छ ।

चारैतिर गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानकारहरु बताउँछन् । मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ ।

समुन्द्री सतहदेखि करीब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रष्ट देखिन्छ । मझुवागढीमा पछिल्लो समय किराँत सभ्यताको अध्ययन तथा अनुसन्धान गर्नेको सङ्ख्या पनि उत्तिकै बढेको छ ।

दिक्तेल बजारबाट करीब ४५ मिनेट पैदल यात्रापछि पुगिने मझुवागढी संरक्षण र विकास गर्न एसबिएलएल परियोजनाले ४० लाख ५० हजार सहयोग गरेको थियो । गढीको उत्तर दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ ।

गढीको पूर्वमा फूलपातिडाँडा राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै, गढीको बीच भागमा मौली रहेको छ । उसबेला रणवीर राजाका रैतिहरुले दशैँ मनाउनका लागि ल्याएको राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो ।

मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ रहेको छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छ भने गढीवरिपरि बम्कर घेरासमेत रहेको छ ।

मझुवागढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ । मझुवागढीमा हरेक वैशाखे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवागढीदेखि केही तल सशस्त्र प्रहरी बलको क्याम्प हलेसी गुल्म रहेको छ ।

मझुवागढीमा पर्यटकको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि भौतिक पूर्वाधार विकास गर्ने काम भइरहेको नगरप्रमुख दीपनारायण रिजालले बताए । “मझुवागढी हाम्रो ऐतिहासिक तथा सांस्कृतिक धरोहर हो”, उनले भने, “मझुवागढीलाई संरक्षण र विकास गर्न नगरपालिका लागिपरेको छ ।” मझुवागढीको पर्यटन विकासका लागि नगरपालिकाले प्रवेशद्वार, पदमार्ग निर्माण, खानेपानीको व्यवस्थालगायतका भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको छ । नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने पर्यटकलाई मझुवागढीसम्म ल्याउन हलेसीमा पर्यटन सूचना केन्द्रसमेत स्थापना गरिएको छ ।

हलेसी र दिक्तेलस्थित कालिका भगवती मन्दिरको सम्बन्ध एकआपसमा जोडिएको मानिन्छ । धार्मिक आस्थामा विश्वास गर्नेलाई मझुवागढीसम्म ल्याउन सहजीकरण गर्ने उद्देश्यले धार्मिकस्थल हलेसीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको नगरप्रमुख रिजालले बताए । रासस

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार ००:००