१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदी कटान र पहिरो नियन्त्रणको पहल नहुँदा बस्ती जोखिममा



विमलबहादुर विष्ट

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा समयमै नदी कटान र पहिरो नियन्त्रणको पहल नहुँदा डोटीमा बग्ने सेती, अछाम–बाजुरामा बग्ने बुढीगङ्गा र अन्य शाखा खोलानाला छेउछाउका दर्जनौँ बस्ती जोखिममा पर्दै गएका छन् ।

गएको वर्ष जेठ २६ गते आएको बाढीपहिरो शिखर नगरपालिका वडा नं ९ को तिलतालीसैन गाउँमा पसेपछि अहिले उक्त बस्ती जोखिममा परेको छ । अहिले उक्त गाउँका झण्डै १५० परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।

त्यस्तै शिखर नगरपालिकास्थित बारपाटा गाउँको वडा नं २ र ३ का ४८ परिवार सेती नदी र हारेखोलाको कटानले बस्तीनै उठीबास हुनसक्ने खतरामा परेको छ । त्यस्तै सेती नदीको कटानले बारपाटाको वडा नं ६ स्थित बल्लेगडा गाउँका विष्ट परिवार पनि जोखिममा परेका छन् । नदी कटानका कारण विष्टगाउँका १४ परिवारमा वर्षेनी असार साउनमा त्रास बढ्दै गएको स्थानीय रमेशबहादुर विष्टले बताए । उनले भने, “हाम्रो गाउँ बाढीपहिरोको उच्च जोखिममा छ, पानी पर्दा हामीलाई निद्रासमेत लाग्दैन ।”

विसं २०७३ साउनमा छ जनाकोज्यान जाने गरी सायल गाउँपालिकास्थित डौड तोलेनीका सात गाउँ स्थानीय साइलीगाडमा आएको बाढी र गाउँमाथि खसेको पहिरोले जमीन चिराचिरा पारेको छ । बाढी र पहिरोले पूरै गाउँको भूगोल फेरिएको स्थानीयवासी डिलबहादुर सिंहले बताए । उनले भने, “बाढीपहिरोले पूरै गाउँ र जमीनको मुहारै फेरेको छ, बस्तीमाथि पूरै चिरैचिरा परेको छ, कतिबेला के हुन्छ भन्नसक्ने अवस्था छैन, डरैडरमा रात बित्छ ।”

त्यस्तै शिखर नगरपालिकाको बानीडुंग्रीसैन क्षेत्र नदी कटानको उच्च जोखिममा छ । त्यहाँको सिद्धेश्वर माविको पर्खाल नदीले वर्षेनी काटिरहेको र नदी गाउँतिर सोझिएकाले सयौँ परिवार घरबारविहीन हुनसक्ने सम्भावना रहेको स्थानीयवासी नरेन्द्र बलायरले बताए । उता डोटीको पूर्वी क्षेत्रमा रहेको बोगटान फुड्सिल गाउँपालिकाको वडा नं ८ स्थित मल्लागाउँको जमीन फुटेर वर्षेनी १० १५ फिट तल भासिन लागेको स्थानीय हर्कबहादुर बमले बताए । उनले भने, “वर्षातको समयमा जहिले जमीन भासिने गरेको छ, रोकथामका लागि कतैबाट पनि पहल भएको छैन ।” पैँतालीस परिवार रहेको सो गाउँलाई समयमै नियन्त्रणका लागि पहल नगरे सङ्कट पर्ने उनको भनाइ छ ।

उता बाजुरा–अछाममा बग्ने बुढीगङ्गा नदीको कटानले अछामको साँफेबगरदेखि कैलाशखोला र बाजुराको मार्तडीस्थित विद्युत्गृहदेखि लेकसम्मको भागमा वर्षेनी नोक्सान पार्दै आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । जलउत्पन्न प्रकोप व्यवस्थापन सवडिभिजन कार्यालय नं २३ दिपायल राजपुरका प्रमुख कुमारबहादुर खड्काले बुढीगङ्गा नदीको गुरुयोजना तयार पारेर नोक्सानी नियन्त्रण गर्ने प्रयासमा भइरहेको बताए । उनले भने, “अब साना तथा टुक्रे योजनामा बढी ध्यान दिने छैनौँ, गुरुयोजना बनाएर काममा लाग्ने तयारीमा छौँ ।” कर्णाली नदीले अछामका कालिकास्थान, रानीवन र ढुङ्गाचाल्ना क्षेत्रमा तीव्र क्षति पारिरहेको छ भने डोटीको सायलीगाड र दक्षिण क्षेत्रमा बग्ने ठुलीगाडमा नदी कटान अनियन्त्रित बन्दै गएको स्थानीयवासी बताउँछन् ।

जिल्ला दैवी उद्धार प्रकोप समितिले जिल्लाका बोगटान फुड्सिल, सायल, बारपाटा, जोरायललगायतका २२ क्षेत्रलाई उच्च जोखिममा राखेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा वर्षातको समयमा हुनसक्ने घटनाबाट कसरी उद्धार गर्न सकिन्छ भन्ने तयारीमा रहनुका साथै विपत्ति नियन्त्रणका लागि पहल भइरहेको बताए । उनले भने, “जिल्लामा हुने विपद् नियन्त्रण र उद्धारका लागि कसरी छिटो काम गर्न सकिन्छ भन्ने विषयमा हामी केन्द्रित भएका छौँ, विपद् आइपरे हामी तत्काल खटिनेछौँ ।” जलउत्पन्न प्रकोप व्यवस्थापन सवडिभिजन कार्यालय नं २३ राजपुरले सेती नदी आसपासका बस्तीलाई जोखिमबाट बचाउन गुरुयोजना तयार गरी काम भइरहेको जनाएको छ । गुरुयोजनामा सेती नदीले माथिल्लो भेग गिरीचौकाबाट क्षति गर्दै तल तिखात्तरको नारीदाङसम्म असर गरेको उल्लेख छ । गुरुयोजनाअनुसार विभिन्न ११ ठाउ“मा नदी नियन्त्रणका लागि काम गरिरहेको सो कार्यालयका खरिदार दीपेन्द्र शाहले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ असार २०७६, आइतबार ००:००