३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋषिङ्ग गाउँपालिकाले ‘युवा स्वरोजगार कार्यक्रम’ सञ्चालन गर्ने



दमौली । ऋषिङ्ग गाउँपालिकाले ‘युवा स्वरोजगार कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउने उद्देश्यले आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार युवा विकासको संवाहक भएकाले बेरोजगार भई बसेका युवालक्षित ड्राइभिङ तालीम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । “गाउँपालिकामा स्थायी बसोबास भएका युवालाई ड्राइभिङ तालीम दिएर स्वरोजगार बनाउने गरी कार्यक्रम तय गरेका छौँ ।”

गाउँपालिकाले विद्युतीकरण, युवा रोजगार र कृषिलाई प्राथमिकतामा राखेको छ । टुकीको भरमा जीवनयापन गर्न बाध्य स्थानीयवासीका लागि आर्थिक वर्षमा विद्युतीकरणलाई मुख्य प्राथमिकता दिने श्रेष्ठले बताए । “टुकीमुक्त गाउँपालिका बनाउने अभियान चलाएर सबै वडामा विद्युतीकरणको काम सम्पन्न गर्छौं”, उनले भने ।

अध्यक्ष श्रेष्ठका अनुसार कृषि तथा पशुपालनलाई स्थानीय जनताको रोजगारी एवं आम्दानी वृद्धिको माध्यमका रुपमा विकास र विस्तार गर्ने सोच बनाइएको छ । सहकारी सिँचाइ, साना सिँचाइ मर्मतसम्भार तथा निर्माण, माटो परीक्षण गरी माटो सुधारका लागि सामग्री एवं प्रविधि वितरण, पशु स्वास्थ्य प्रवद्र्धनको कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति छ ।

गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई दिने विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । उनले भने, “चालू वर्षमा गाउँपालिकाका माध्यमिक विद्यालयमा अध्यनरत एसइई परीक्षा दिने विद्यार्थीलाई अङ्ग्रेजी, गणित र विज्ञान विषयको निःशुल्क कोचिङ कक्षा सञ्चालनको व्यवस्था मिलाइएको थियो । आगामी वर्षमा प्रभावकारिता मूल्याङ्कन गरेर निरन्तरता दिनेछौँ ।”

विद्यालयमा सौर्य ऊर्जा जडान गरी कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउने, केही विद्यालयलाई नमूना बनाउन स्मार्ट टिभी जडान गर्न शुरुआत गरिएकामा थप विस्तार गर्ने गाउँपालिकाको नीति रहेको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताए ।

पौडेलका अनुसार मोटरेवल सडकको स्तरोन्नतिमा विशेष जोड दिने, खरमुक्त गाउँपालिका बनाउने अभियानलाई निरन्तरता दिने, आदिवासी जनजातिको भाषा, लिपि, संस्कृति, वेषभूषा, धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धनमा टेवा पु¥याउने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

अस्पताल बनाइने

ऋषिङ्ग गाउँपालिकामा अस्पताल निर्माण गरिने भएको छ । गाउँपालिकाभित्र एउटा पनि अस्पताल नरहेकाले जनतालाई सहज र सुलभरुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको हो ।

२५ शैय्याको अस्पताल निर्माण गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । अस्पताल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग साझेदारी गरिनेछ । “गाउँपालिका एक्लैको बजेटबाट अस्पताल निर्माण गर्न सम्भव छैन”, उनले भने, “प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर अस्पताल निर्माण गर्ने सोच बनाएका छौँ ।”

स्वास्थ्यसम्बन्धी हकलाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेकाले सोही हकलाई कार्यान्वयन गर्न अस्पताल निर्माणको प्रक्रया शुरु गर्न लागिएको बताइएको छ । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका स्थानीयवासी उपचारका लागि भिमाद आउनुपर्ने बाध्यता छ । गाउँपालिकाले आयुर्वेद स्वास्थ्य कार्यक्रम, पोषणसम्बन्धी कार्यक्रम, स्वास्थ्य चौकी सुदृढीकरण, आमा सुरक्षा कार्यक्रम, परिवार नियोजन सेवा, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन र परिचालन, खोप केन्द्रको भवन निर्माण, स्वास्थ्य चौकीभन्दा टाढाको दूरीमा रहेका बस्तीमा स्वास्थ्य एकाइ र बर्थिङ सेन्टरको स्थापना र सञ्चालन गर्ने तयारी गरेको छ । रासस

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार ००:००