६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरः पाँच स्थानीय तहमा ‘सुपर धान जोन कार्यक्रम’



राजेन्द्रप्रसाद पनेरु

असार २५, कञ्चनपुर । कृषिलाई यान्त्रीकरण गरी उत्पादन लागत र श्रम शक्तिको अभाव घटाउँदै कार्य दक्षतामा वृद्धि गर्नका लागि कञ्चनपुरमा प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गत ‘सुपर धान जोन कार्यक्रम’ जिल्लाका पाँच वटा स्थानीय तहमा विस्तार गरिएको छ ।

धान जोन कार्यक्रम सञ्चालन हुँदै आएका भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकासहित बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा आउँदो आर्थिक वर्षदेखि सुपर धान जोन कार्यक्रम सञ्चालन हुन लागेको हो ।

कार्यक्रम सञ्चालनका लागि चालू आवमा स्वीकृति प्रदान भइसकेकाले आगामी आवदेखि कार्यक्रम सञ्चालन गरिने परियोजना कार्यान्वयन एकाइ कञ्चनपुरका प्रमुख टीकाराम थापाले बताए । “धानको उत्पादकत्वमा वृद्धि गरी, यान्त्रीकरण, पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन, प्रशोधन केन्द्रको स्थापना, मूल बीउ उत्पादन, कृषि अनुसन्धान केन्द्र र अध्ययन संस्थान स्थापना गर्ने कार्यक्रमको उद्देश्य रहेको छ”, उनले भने ।

धान जोन कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिकाको वडा नं १, २, ३, १८ र १९ तथा कृष्णपुर नगरपालिकाको वडा नं ४, ५ र ६ को पाँच हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको थियो । कार्यक्रम सञ्चालन हुने भीमदत्त नगरपालिकाको महाकाली सिँचाइ परियोजनाको कमाण्ड क्षेत्र, कृष्णपुर नगरपालिकाको वडा नं १, ४, ५, ६ र ७, बेलौरी नगरपालिकाको वडा नं ८ र १०, पुनर्वास नगरपालिकाको वडा नं ३ तथा बेलडाँडी गाउँपालिकाको वडा नं १, २ र ५ रहेका छन् ।

सुपर धान जोनका लागि १० हजार हेक्टर क्षेत्रफल छनोट गरिएको छ । धान खेती हुने क्षेत्र बढेसँगै उत्पादनसमेत बढ्ने अपेक्षा गरिएको छ । “धान जोनअन्तर्गत जिल्लामा स्थापना भएका १४ वटा हायरिङ सेन्टर र पाँच वटा कष्टम हायरिङ सेन्टरको सङ्ख्या बढाई धान उत्पादनका लागि यान्त्रीकरणमा जोड दिई कम लागतमा बढी उत्पादन गर्न, महिलाको कार्यबोझ घटाउन र कम समयमै धेरै कार्य गर्नका लागि कार्य अगाडि बढाउँछौँ”, परियोजना कार्यान्वयन एकाइका प्रमुख थापाले भने ।

हाल हायरिङ सेन्टर र कष्टम हायरिङ सेन्टरबाट किसानलाई पावर टिलर, थ्रेसर, ट्र्याक्टर, ट्रली लगायतका मेसिनरी, कृषि उपकरण र औजार किसानलाई प्रयोग गर्नका सस्तो भाडादरमा उपलब्ध गराउने व्यवस्था गरेको छ । धान जोनलाई सुपरजोनमा लगिएपछि यस्ता उपकरण, मेशिनरी र औजार किसानसम्म सहजरुपमा पु¥याउनका लागि हायरिङ सेन्टर र कष्टम हायरिङ सेन्टरको सङ्ख्यामा समेत वृद्धि गरिने बताइएको छ । पचास प्रतिशत अनुदानमा ती औजार र उपकरणसहित साना सिँचाइका कार्यक्रम किसानले पाउने छन् ।

कार्यक्रमअन्र्तगत कृषिमा आधुनिकीकरणसँगै रसायनिक मल र विषादीको प्रयोगलाई निरुत्साहित गर्नका लागि जैविक मल उत्पादन, प्रयोग र जैविक विषादी प्रयोगमा जोड दिइनेछ । परियोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख थापाका अनुसार देशमा बाह्य क्षेत्रबाट चामलको आयात प्रतिवर्ष २५ अर्ब बराबरको आयात हुने गरेको छ ।

आयातलाई प्रतिस्थापन गर्नका लागि धानका बढी फल्ने जातसँगै लगाउने, रोग किरा नियन्त्रण, झारपात व्यवस्थापनका आधुनिक तरिका सिकाइ किसानलाई कार्यक्रमअन्तर्गत प्रोत्साहित गर्ने योजना अघि सारिने एकाइ प्रमुख थापाले बताए ।

कञ्चनपुरमा हाल ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानको उत्पादन एक लाख ६६ हजार ९६६ मेट्रिक टन रहेको छ । कञ्चनपुरमा आव २०७३÷७४ देखि १० वर्षका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको हो । रासस

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ००:००