५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी गराउनेक्रम बढ्यो



हेमन्त केसी

असार २५, जाजरकोट । दुर्गम बारेकोट गाउँपालिकामा पछिल्लो समय महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेक्रम बढ्न थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नरहने र केही आर्थिक सहयोग पनि प्राप्त हुने भएकाले सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेक्रम बढ्न थालेको हो ।

स्वास्थ्य संस्थाबाट नियमित गर्भ जाँच गराए ४०० तथा सुत्केरी भएमा एक हजार प्रोत्साहन रकमसमेत दिँदै आएको छ । गाउँपालिकाबाट थप एक हजार रकम थप गरे पनि दुई वर्षयता स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको सङ्ख्या चारगुणाले बढेको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए ।

गाउँपालिका सञ्चालनपछि स्वास्थ्य संस्था व्यवस्थापन, महिला स्वास्थ्य स्वयंसेविकालाई महीनाको दुई हजार प्रोत्साहन रकम व्यवस्थापन लगायत कार्यक्रम सञ्चालन गरेपछि यो दर बढेको सिंहले बताए । पहिले घरमा नै असुरक्षित सुत्केरी हुने गरेका महिला पछिल्लो दुई वर्षयता स्वास्थ्य चेतना जागरुक भएपछि स्वास्थ्य संस्थामा आउने गरेको सिंहले बताए ।

स्वास्थ्य संस्थाभन्दा घरैमा असुरक्षितरुपमा सुत्केरी हुने महिलाको सङ्ख्या दुई वर्षअघि धेरै रहेको बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले बताइन् । स्थानीय सरकार आएपछि महिलाको लागि विशेष कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ । पहिला महिला स्वास्थ्य संस्था नआएर घरमा नै असुरक्षित सुत्केरी हुने चलन थियो शाहीले भनिन् ।

भौगोलिक विकटता, चेतनाको अभाव, गरीबी, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नहुनु लगायत कारण महिला असुरक्षित सुत्केरी हुन बाध्य रहेको र कमै महिलाले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा लिने गरेको शाहीको भनाइ छ । अहिले बारेकोटमा सडक सञ्जाल जोडियो, गाउँघरमै सहजै सरकारी सेवा उपलब्ध भएका छन् उपाध्यक्ष शाहीले भनिन् ।

स्वास्थ्य संस्था बाहिर असुरक्षित सुत्केरी हुने अधिकांश महिलाको ज्यान जोखिममा हुने गर्दथ्यो । अहिले बारेकोटमा मातृमृत्यु शून्य अवस्थामा रहेको छ । गत आर्थिक वर्ष बारेकोट गाउँपालिकामा ३०० महिलाले स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा पाएका थिए । चालू आवमा ५०६ गर्भवती महिलामा ३४८ जनाले स्वास्थ्य संस्थाबाट सुत्केरी सेवा लिएको बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए ।

पहिले साविकका तीन गाविस सक्ला, रामीडाँडा, नायकवाडा, रोकायगाउँ गरी चार ठाउँमा स्वास्थ्य संस्था थिए । अहिले छ स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ सञ्चालित छन् । चार ठाउँमा प्रसूति केन्द्र सञ्चालनमा आएपछि बारेकोटका महिलाको स्वास्थ्य संस्थामा पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताएका छन् ।

बारेकोट–१ रामीडाँडाकी २२ वर्षीया देवीका नेपाली नियमित गर्भ जाँच नगराउने र व्यथाले चापेपछि मात्र अस्पताल जाने चलन भएको बताउँदै आफूले त्यो चलन तोडेको बताइन् । स्वास्थ्य संस्थामा गएपछि केही नगद पाइने, नून, तेल, साबुन, कपडा पाउने भएपछि आफू जस्तै धेरै महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको नेपालीले बताइन् । घरमै असुरक्षित सुत्केरी हुने प्रचलनले सुत्केरी महिलाको ज्यान जोखिममा रहने गरेको भन्दै अस्पताल तथा स्वास्थ्यमा गएर गर्भ जाँच तथा सुत्केरी हुनु महिलाका लागि फाइदाजनक रहेको नेपालीको भनाइ छ ।

सरकारले स्वास्थ्य संस्थाबाट नियमित गर्भ जाँच गराए ४०० तथा सुत्केरी भएमा एक हजार प्रोत्साहन रकमसमेत दिँदै आएको छ । जाजरकोटका स्थानीय तहले थप प्रोत्साहन रकम उपलब्ध गराउने गरेपछि घरमा नै असुरक्षित सुत्केरी हुने महिला अहिले अस्पताल तथा स्वास्थ्य संस्थामा आएर स्वास्थ्य सेवा लिने गरेका छन् । रासस

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ००:००