२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पानीको मुल सुकेपछि दूधकोशीको पानी तान्ने काम शुरु


१५ असार २०७६, आइतबार ००:००  


असार १५, खोटाङ । रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोशीको पानी पम्पिङ प्रविधिमार्फत गाउँमा तानेर वितरण गर्ने योजनाको काम शुरु भएको छ ।    

लामो समयदेखि खानेपानी अभावमा काकाकुलको अवस्था भोगिरहेका ३५० घरधुरी उपभोक्तालाई उनीहरुको घरमै प्रयाप्त खानेपानी उपलब्ध गराउने उद्देश्यले पम्पिङ प्रविधिको योजना शुरु गरिएको हो ।    

एक नम्बर प्रदेश सरकारको नौ करोड १२ लाख तथा गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोगमा शुरु गरिएको खानेपानी योजना आगामी तीन वर्षभित्र पूरा हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष भलकाजी तामाङले बताए । प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत यो चालू आर्थिक वर्षमा उक्त खानेपानी योजनाका लागि ९५ लाख बजेट प्राप्त भएको जनाइएको छ ।    

गाउँ तथा बस्ती नजिक खानेपानीको मुहान नरहेको डुम्रेधारापानीमा दूधकोशीको पानी पम्पिङ गरेर तान्नुको विकल्प नभएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । “यसअघि उनीहरुले उपभोग गर्दै आएका खानेपानीको मुहानहरु सुकिसकेका छन्” उनले भने, “अहिले डुम्रेधारापानीका स्थानीयवासी चार घण्टाभन्दा टाढा रहेको दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् ।”    

दूधकोशीभन्दा माथिल्लो भेगमा पर्ने डुम्रेधारापानीका स्थानीयवासीले अहिले सोही दूधकोशी नदीबाट बोकेर ल्याएको धमिलो पानी उपभोग गर्दै आएका छन् । कतिपयले ट्याक्टरमा र अधिकांशले गाग्री तथा जर्किनमा बोकेर ल्याएको पानी उपभोग गर्छन् ।    

 धारापानी भनिने ठाउँको नामले परिचित डुम्रेधारापानीमा पानी नहुँदा सबैभन्दा बढी घरपालुवा गाई, भैँसी तथा अन्य पशुपक्षीलाई बढी समस्या देखिएको छ । बोकेर ल्याएको पानीले मान्छेलाई मात्र पुग्ने र पशुपक्षीलाई पुग्ने गरी दूधकोशीबाट उक्कालो बोकेर ल्याउन नसकिने हुनाले समस्या भएको स्थानीयवासीले बताएका छन् ।    

खानकै लागि करीब तीन किलोमिटर तल रहेको दूधकोशीको पानी बोकेर ल्याउनुपर्ने बाध्यताले कतिपय बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताए । परापूर्वकालदेखि बस्दै आएको गाउँमा खानेपानीको समस्या भएपछि कतिपय स्थानीयवासी बसाइ सरेर अन्यत्र गइसकेका स्थानीयवासी एवं गाउँपालिका सदस्य पुण्यकुमारी मगरले बताइन् । “खानेपानीको अभावले स्थानीयवासी बसाइ सर्नेक्रम बढेसँगै गाउँ उजाड बन्दै गएको छ” उनले भनिन्, “ढिलै भए पनि दूधकोशीको पानी पम्पिङ गरेर गाउँमा ल्याउने योजना शुरु भएपछि स्थानीयवासीमा खुशी छाएको छ ।” रासस

प्रकाशित मिति : १५ असार २०७६, आइतबार ००:००