Logo

व्यावसायिक कृषिमा फड्को मार्दै साकेला गाउँपालिका



केदार मगर

जेठ १६, खोटाङ । कृषि क्षेत्रको विकासका लागि साकेला गाउँपालिकाले हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने अभियान थालिएको छ ।

गाउँपालिकाले आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशुपक्षीपालन लगायत फरक फरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने अभियान थालेको हो ।

गाउँपालिकाको हरेक वडामा कृषक समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “वडास्तरमा २९ वटा कृषक समूह गठन गरिएको छ”, उनले भने, “हरेक कृषक समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउबिजन, उन्नत जातको पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराएको छ ।”

कृषिका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ५३ लाख र स्वीस सरकारअन्तर्गत हेल्भेटासले ४५ लाख २८ हजार गरी जम्मा ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । सबै वडामा एक एक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यसहित हरेक वर्ष क्रमशः बजेट बढाउँदै लगिने जनाइएको छ ।

गाउँपालिकाले विनियोजन गरेको बजेटबाट खरीद गरेर ल्याइएको १७ घार एपिस सेरेना जातको मौरीसहितको घार वडा नं ३ खिदिमाको सुनाखरी मौरीपालन कृषक समूहलाई हस्तान्तरण गरिएको छ । राजधानी काठमाडौंस्थित गोदारवरीबाट प्रतिघार १५ हजारका दरले खरीद गरेर ल्याइएको मौरीसहितको घार कृषक समूहलाई हस्तान्तरण गरिएको कृषि प्राविधिक गणेश राईले बताए ।

मौरीका लागि स्थानीय नरभुपाल खत्रीले रेखदेख गर्नेगरी कृषक समूहलाई हस्तान्तरण गरिएको जनाइएको छ । खिदिमाको माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त भएकाले मौरी स्रोत केन्द्र बनाउने उद्देश्य राखिएको प्रमुख खड्काले बताए ।

खिदिमाकै ओराङ्गेथान चिया उत्पादक कृषक समूहलाई चियाको नर्सरी उत्पादन गर्ने जिम्मा दिइएको छ । गत वर्ष विनियोजन गरिएको ३८ हजार बजेटबाट यस वर्ष दुई लाख १० हजार बेर्ना उत्पादनको काम भइरहेको छ ।

गाउँपालिकाको मध्यभागमा पर्ने रतन्छामा माछा स्रोत केन्द्र बनाउने काम तीव्रगतिमा भइरहेको छ । गत वर्षदेखि माछापालन शुरु गरिएको रतन्छामा यस वर्ष दुई लाख ५० हजार छाका भुरा लगाइएको छ । रतन्छामा माछापालनका लागि सम्भाव्यता अध्ययनगरी ग्रासकार्प र कमनकार्प जातको भुरा तीन लाखमा खरीद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रतन्छाबाट शुरु गरिएको माछापालन व्यवसाय गाउँपालिकाभरि विस्तार गर्ने तयारीमा रहिएको प्रमुख खड्काले जानकारी दिए ।

कृषक समूहबाहेक हरेक घरलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन यस वर्ष १९३ घरलाई प्लाष्टिक वितरण गरिएको छ । ८० प्रतिशत गाउँपालिका र २० प्रतिशत कृषकको लगानीमा खरीद गरिएको प्लाष्टिक वितरण गरिएको हो । गाउँपालिकाले विदेशबाट फर्केका नौ जना युवालाई निजी उद्यमी बन्न सहयोग गरेको प्रमुख खड्काले बताए । उनीहरुलाई गाउँपालिकाले ५० ५० हजारका दरले अनुदान रकम उपलब्ध गराएको छ ।

हरेक वडामा गठन गरिएको कृषक समूहलाई आवश्यक तालीम तथा प्राविधिक सहयोग उपलब्ध गराउन १५ जना स्थानीय कृषि स्रोत व्यक्ति उत्पादन गरिएको छ । उनीहरुलाई एक दिनको एक हजार भत्ता गाउँपालिकाले दिने गरेको छ । गाउँपालिकाको सुक्खाग्रस्त क्षेत्रमा लगाइएको फलफूल तथा तरकारी खेतीमा पानी अभाव हुन नदिन वर्षाद्को पानी सङ्कलन गर्न १२५ वटा पोखरी निर्माण गरिएको छ । गाउँपालिको लगानी शुरु भएपछि करीब दर्जन बढी कृषक आत्मनिर्भर बनेका छन् ।

गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएपछि यस पेशाप्रति युवाहरु आकर्षित भएका छन् । गाउँपालिकाको समृद्धि र विकासका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । यसका लागि गाउँपालिकाका अध्यक्ष र वडाका लागि वडाध्यक्षको संयोजकत्वमा कृषि विकास समिति गठन गरिएको छ ।

गाउँपालिकाले खाद्यान्न तथा पशुपक्षीपालनका लागि पनि उत्तिकै सहयोग गर्दै आएको छ । खाद्यान्नका लागि उपयुक्त बीउ तथा प्राविधिक सहयोग, पशुपक्षीपालनका लागि उन्नत जातको पशुपक्षी, घाँस तथा चरणको व्यवस्थाका साथै औषधि उपचार गाउँपालिकाले उपलब्ध गराएको छ ।

उत्पादित कृषिउपज खपतका लागि पनि गाउँपालिकाले सहयोग गर्ने योजना बनाएको छ । स्थानीय हाटबजारलाई सुधार गर्नुका साथै बाहिर निकासी गर्न सडक मर्मतसँगै स्तरोन्नतिका काम गरिरहेको छ ।

गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि वडा तथा पालिकास्तरीय आवधिक योजनाको निर्माणसमेत भइरहेको छ । आवधिक योजनाको निर्माणका लागि स्वीस सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्