८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका महासंघको दाबीः संघ र प्रदेशको भन्दा हाम्रो काम उत्कृष्ट



स्थानीय खबर संवाददाता
काठमाडौं, १४ जेठ

गाउँपालिका महासंघका नेताहरूले संघ र प्रदेशले भन्दा आफूहरूले उत्कृष्ट काम गरेको दाबी गरेका छन् । राजधानीमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संघका नेताहरू गाउँपालिकाहरूको कार्यसम्पादन संघ र कुनै पनि प्रदेशको भन्दा उत्कृष्ट रहेको दाबी गरेका छन् ।

तस्बिरः चन्द्रमणि भट्टराई

महासंघ र विकास पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले पूँजीगत खर्चदेखि बजेट परिचालनको अनुशासनमा संघ र प्रदेशभन्दा गाउँपालिकाहरू अगाडी रहेको जिकीर गरे ।

“बेरुजु संघको ८, प्रदेशको ७ र स्थानीय तहको ४ प्रतिशत छ । पूँजीगत बजेट खर्च ८० प्रतिशत छ,” श्रेष्ठले भने, “संघको खर्च ३५/४० प्रतिशत मात्र छ, त्यसमा स्थानीय तहले गरेको खर्च पनि जोड्दो रहेछ ।”

खासगरि गाउँपालिकाहरू संघ र प्रदेशहरूको तुलनामा योजना तर्जुमा प्रक्रियामा समावेशी, खर्च प्रक्रियामा अनुशासित भएको श्रेष्ठको दाबी छ । “स्थानीय जनप्रतिनिधी जनताद्धारा घेरिएर बसेका हुन्छन् । अहिले जनताको आवाज बलियो भएको छ । त्यसैले गडबडी गर्न सम्भव छैन,” श्रेष्ठले भने, “संघ र प्रदेशले के गरिरहेको छ भनेर स्थानीय तहमा जसरी दिनदिनै हेर्न सकिँदैन ।”

कुनै स्थानीय तहको कुनै गलत कामलाई आधार बनाएर सञ्चार माध्यमले सबै स्थानीय तहलाई मुछेको प्रति श्रेष्ठले घुमाउरो तरिकाले असन्तुष्टि व्यक्त गरे ।

यसैगरि महासंघका महासचिव बंशलाल तामाङले पनि गाउँपालिकाहरूको कार्यसम्पादन संघ र प्रदेशको भन्दा उत्कृष्ट रहेको दाबी गरे । “२ बर्षअघि हामी निर्वाचित हुँदा एउटा टेबल र कुर्सीका भरमा काम थाल्यौं । कर्मचारी थिएन, ऐन कानून थिएन, पूर्वाधारको अवस्था शून्य थियो,” तामाङले भने, “प्रदेश नं. २ मा निर्वाचन नै ढीला भयो । २ बर्ष अघिको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्ने हो भने हाम्रो कार्यसम्पादन संघ र प्रदेशभन्दा राम्रो देखिन्छ ।”

संघसँग पहिले देखि नै आवश्यक स्रोत साधन र जनशक्ति भएको र प्रदेश पनि गठन हुने वित्तिकै आवश्यक बन्दोबस्ती भएको तामाङले बताए । तर निर्वाचन भएको २ बर्ष नाघ्दा पनि संघीय सरकारले कर्मचारी पठाउन र आवश्यक बजेट पठाउन नसकेको तामाङले आरोप लगाए ।

“संघ र प्रदेशसँग जत्ति स्रोत साधन र जनशक्ति मात्रै थियो भने, दाबीका साथ भन्न सक्छु, यो २ बर्षमा मुलुकले चर्चा गर्नयोग्य विकास गरिसक्थ्यौं,” तामाङले भने, “दुःखको कुरा ! संघले कहिले कानून बनाएर, कहिले खारेज भइसकेका जिल्ला सदरमुकामको संरचनाहरू ब्यूँत्याएर संविधानले दिएको अधिकारहरू पनि खोसिरहेको छ ।”

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दैै डा. कमल फुयाँलले गाउँपालिकाहरूले चर्चा गर्नयोग्य असल कामहरू गरिरहेको बताए । स्थानीय तहमा चुनौति पनि रहेकाले जनप्रतिनिधीहरू उत्तिकै सचेत बन्नु पर्ने पनि फुयाँलले सुझाव दिए ।

“अधिकांश स्थानीय तह आफैँले गर्दै सिक्दै छन् । निराश भइहाल्नु पर्ने अवस्था छैन,” फुयाँलले भने, “जनप्रतिनिधी आफ्नो भूमिकामा स्पष्ट हुनु पर्ने देखिन्छ । साथै, अध्ययन अनुसन्धान गरेर मात्र योजना छनोट गर्नुपर्ने देखिन्छ ।”

कार्यपत्र प्रस्तुत गर्दै महासंघका कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले जनशक्ति अभाव, नीतिगत अन्योलताका बीच पनि गाउँपालिकाहरूले उत्साहजनक काम गरिरहेको बताए ।

स्थानीय शासनको बिषेश बर्ष

यसैगरि पूर्वसचिव खेमराज नेपालले यस बर्ष आधुनिक स्थानीय शासन सुरूवात भएर एक शताब्दी पुगेको बताए ।

“१९७६ पुसमा चन्द्र शमसेरले भोटाहिटी म्युनिसिप्यालिटी गठन गरेका थिए । त्यो कामलाई आधुनिक स्थानीय शासनको प्रारम्भिक बिन्दू मान्नु पर्छ,” नेपालले भने, “त्यसैले यो बर्ष भनेको स्थानीय शासनका लागी गौरबको बर्ष हो । किनकी नेपालमा आधुनिक स्थानीय शासन सुरू भएको एक शताब्दी हुँदैछ ।”

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार ००:००