४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

द्वन्द्वकालका ठाउँ उजिल्याउने प्रयासमा स्थानीय तह



उमा केसी

वैशाख २४, रोल्पा । माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्वन्द्वमा झण्डै एक हजार जनाले ज्यान गुमाएको रोल्पामा स्थानीय निर्वाचन पछि गठित स्थानीय सरकारहरुले युद्ध पर्यटनको विकास र प्रवर्धनमा जोड दिन थालेका छन् । सशस्त्र द्वन्द्वको उद्गम थलो मानिने रोल्पाका स्थानीय सरकारहरुले द्वन्द्वकालमा चर्चामा आएका ठाउँका पूर्वाधारको संरक्षण र प्रचारप्रसार गर्न थालेका हुन् ।

जिल्लाको माडी गाउँपालिकाले ओतमा रहेको वांगे तालको संरक्षण गर्न थालेको छ । द्वन्द्वताका माओवादी सेनाले शिविर सञ्चालन गरेको सो स्थान सामरिक महत्वको क्षेत्र भन्दै गाउँपालिका संरक्षणमा जुटेको हो । सरकारी सेनासँग भिडन्त गर्नु अघि माओवादी सेना सोही स्थानमा जम्मा भई सम्पूर्ण तयारी गर्ने गर्दथे । सो स्थानको तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत अवलोकन गरेको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।

सोही गाउँपालिकामा रहेको अर्को पर्यटकीय क्षेत्र हो जननमूना अस्पताल । ओतको घोरनेटीमा रहेको सो अस्पताल द्वन्द्वकालमा माओवादीले निर्माण गरी सञ्चालनमा ल्याएका हुन् । माओवादीका स्वास्थ्यकर्मीहरु कार्यरत रहेको सो अस्पतालमा सर्वसाधारण र माओवादी कार्यकर्ताले निःशुल्क स्वास्थ्योपचार गर्थे । उक्त अस्पताल अहिले पनि सञ्चालनमा रहेको छ ।

सरकारी सेना र माओवादी सेनाबीच भिडन्त भएको अर्को स्थान हो हान्निङ । यहाँ माओवादी सेनाका तीन र सरकारी सेनाका सात जनाले ज्यान गुमाएका थिए । आफ्ना तीन जना सैनिक जवान मारिएको सो स्थानलाई माओवादीले संरक्षण गर्दै आएको थियो । उनीहरुको स्मरणमा स्तम्भ तयार गरी खडा गरिएको छ । सो स्थानको व्यवस्थापनका लागि गाउँपालिकाले आठ लाख बजेट विनियोजन गरेको अध्यक्ष पुनले जानकारी दिए । “सो स्थानमा सडक पु¥याउने गरी काम थालनी गरेका छौं,” अध्यक्ष पुनले भने ।

सोही गाउँपालिकाको वडा नं ५ भावाङ वाग्मा अर्को युद्ध पर्यटकीय स्थल हो । विसं २०५८ मा ११ जना माओवादी कलाकारलाई सरकारी सेनाले घरभित्रै घेरा हाली सामूहिक हत्या गरेको थियो । विगतमा माओवादी सो स्थानमा पुगी सांस्कृतिक प्रतिरोध दिवस समेत मनाउने गर्दथे । स्थानीय निर्वाचन पछि भने सो स्थानलाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी काम अगाडि बढाउन थालिएको सो वडाका वडाध्यक्ष भरत बुढाले जानकारी दिए ।

सोही गाउँपालिकाको वडा ५ कुलवाङधुरी अर्को सामरिक महत्व बोकेको स्थान हो । माओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्ट र माओवादी सेनाका कमाण्डर वरुण सरकारी सुरक्षा फौजबाट हतियार खोसेर चर्चामा आएको थियो । सरकारी सुरक्षा फौजको ठूलो जत्थाबाट दुई माओवादी कार्यकर्ताले हतियार खोसेका कारण सो स्थान चर्चामा आएको बताइन्छ ।

“युद्ध पर्यटनका साथै समग्र पर्यटन विकास, पूर्वाधार निर्माण, संरक्षण र प्रचारप्रसारमा जोड दिएका छौं,” गाउँपालिका अध्यक्ष पुनले भने । पर्यटकको सुविधाका लागि आवास, सडक पूर्वाधार तथा सञ्चारको सुविधालाई पहिलो प्राथमिकता दिएको अध्यक्ष पुनको भनाइ छ ।

यसैगरी, रोल्पा नगरपालिकाले समेत युद्ध पर्यटन प्रवर्द्धन गर्ने भन्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाको वडा नं १० धवाङमा रहेको घामतारा भनभनेमा र वडा नं ६ दारवोटमा पर्ने वोक्सिड थलामा रहेको छापामार तालीम केन्द्रलाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने निर्णय भएको छ । नगरपालिकाको सबैभन्दा उचाइमा रहेको धरमपानीमा केही दिन अघि नगर कार्यपालिकाको बैठक बसी सो निर्णय गरेको हो । लिबाङ जलजला सडकलाई धार्मिक सांस्कृतिक र युद्ध पर्यटन मार्गको रुपमा विकास गर्ने गरी काम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल वनाउन पर्यटकीय गन्तव्य जलजलासँग सीमा जोडिएका थवाङ र सुनछहरी गाउँपालिकासँग सहकार्य गरी योजना निर्माण गरिएको नगर प्रमुख पूर्ण केसीले बताए ।

द्वन्द्वकालमा मारिएकाहरुको स्मरणमा धरमपानीमा तयार गरिएको शहीद स्तम्भको संरक्षण तथा थप विकासमा आफूहरु लागेको नगर प्रमुख केसीले जानकारी दिए । जलजला पुग्न धरमपानीसम्म सडक सञ्जाल पु¥याउने गरी काम भइरहेको छ ।

द्वन्द्वकालमा सुनछहरी गाउँपालिका ७ जेल्वाङका करीव १०० जनाले ज्यान गुमाएका थिए । एउटै वडामा यति धेरैले ज्यान गुमाउने जेल्वाङ देशकै पहिलो वडा हो । युद्ध पर्यटनको विकासका लागि आफ्नो गाउँपालिकाले समेत काम गरिरहेको सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताए । रासस

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार ००:००