१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषिबाटै नाम, दाम र इज्जत



चैत १४, घोडाघोडी । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन्ः कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी ।

प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो । तर कृषि प्राविधिक पढेका चौधरी भने व्यावसायिक किसान बनेर वार्षिक लाखौँ कमाउँछन् ।

प्राविधिक शिक्षा पढ्नुभएका चौधरीको मन कहिले नोकरीमा गएन । सानैबाट खेतीपातीमा रमाउने चौधरी परिश्रममा विश्वास गर्ने भएका कारण विदेशी भूमिमा भन्दा आफ्नै माटोमा सफलता खोज्न लागि परेका छन् । आफ्नै माटोमा भविष्य खोज्न चौधरी सफल छन् ।

चौधरी अहिले व्यावसायिक तरकारी र कुखुरापालनमा व्यस्त छन् । विद्यालय अध्यायनमा उनलाई बुबाले पढाई जारी राख्न दबाब दिइरहन्थे । उनको भने पढाइभन्दा खेतीपातीमा बढी ध्यान थियो ।

पढीलेखी राम्रो ठाउँमा जागिर खाला भन्ने बुबाको सपना पूरा गर्न नसके पनि अहिले उनी व्यावसायिक किसान बनेका छन् । छोराले राम्रो आम्दानी गर्न थाले पछि बुवा रामलाल पनि खुशी छन् । १८ महीने कृषि जेटिए पढेका उनी विगत ३ वर्षदेखि तरकारी र कुखुरापालनमा सक्रिय छन् ।

घोडाघोडी नगरपालिकास्थित सीताकुण्ड माध्यमिक विद्यालयको जमीन भाडामा लिएर व्यावसायिक रुपमा कृषिमा लागेका उनी तरकारी र कुखुरापालनबाट गतिलो आम्दानी गर्छन् ।

उनले ले ५ बिघा १७ कठ्ठामा विभिन्न जातका मौसमी र बेमौसमी तरकारी फलाएका छन् । उनको बारीमा काउली, बन्दगोभी, गोलभेँडा, भेडेखुर्सानी, भन्टा, फर्सी, काँक्रालगायतका तरकारी उत्पादन हुन्छ ।

तरकारीबाट मात्रै महीनामा ३० हजार रुपैयाँ कमाउने उनले कुखुरापालन र केराखेती पनि गरेका छन् । “१० कठ्ठामा केराखेती गरेको छु, राम्रै आम्दानी भएको छ,” चौधरीले भने, ““एक पटकमा साढे ४ हजार कुखुराका चल्ला हाल्छु ।” पोल्टीफार्मबाट पनि वार्षिक सरदर रु २० लाख आम्दानी हुने गरेको उनले बताए ।

५ लाख रुपैयाको लगानीबाट कुखुरापालन सुरू गरेका उनले एक वर्षयतादेखि बरुण पोल्टी सप्लायर्स सञ्चालन गरी किसानलाई दाना र चल्ला पनि बिक्री गर्दै आएका छन् । उनले पालेका लेयर्स जातका कुखुरा कृषिक्षेत्रमा कार्यरत सङ्घसंस्थाले खरीद गरी लैजाने गरेका छन् ।

“गतवर्ष बजार व्यवस्थापन नहँुदा तरकारी कुहिएर खेर गएको थियो,” उनले भने, “अहिले भने बजारको समस्या कम भएको छ ।” युवालाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले हाम्रो हात नेपाल र सशक्तीकरण युवा सहयोग नेपाली संस्था खोलेको उनले बताए । रासस

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार ००:००