१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाद्वारा महिलालाई आत्मनिर्भर बनाउन आयमूलक तालीम



सुशीला रेग्मी

चैत ३, बेझाड । रामपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन आयमूलक तालीमलाई जोड दिएको छ । विभिन्न सीपमूलक तालीम सञ्चालन गरेपछि यहाँका महिला स्वरोजगारतर्फ उन्मुख हुन थालेका छन् ।

सिलाइकटाइ, स्वीटर बुन्ने, अचार बनाउने, गुडिया बनाउने जस्ता तालीम सञ्चालन भएपछि यहाँका महिलालाई स्वरोजगारको ढोका खुलेको छ । सधैँ घरायसी कामधन्दामा मात्र सीमित रहेका यहाँका महिला गाउँमै सीपमूलक तालीम सिकेर स्वरोजगार बन्ने अवसर पाएपछि उत्सुकताका साथ सहभागिता जनाएका छन् । नगरपालिकाले यसै आर्थिक वर्षको बजेटमार्फत ९२ महिलालाई सीपमूलक तालीममा सहभागिता गराएको छ ।

नगरपालिकाले ४२ महिलालाई तीन महिने सिलाइकटाइ र ५० महिलालाई १२ दिने स्वीटर बुन्ने तालीम आयोजना गरेको उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । “महिलालाई आफ्नो सामान्य खर्च पनि श्रीमान्सँग मागेर चलाउने प्रवृत्तिको अन्त्य गराई आफैँ स्वरोजगार बनाउन सीपमूलक कार्यक्रममा नगरपालिकाले जोड दिइरहेको छ” उनले भनिन् । हिजोआज महिला पहिलेको तुलनामा केही सीप सिकेर आफ्नो खुट्टामा उभिन सक्ने क्रम रामपुरमा बढ्दै गरेको उनले बताइन् ।

दलित, विपन्न, जनजाति, एकल महिलालाई सीपमूलक तालीममा बढी जोड दिइएको छ । बिहान साँझ घरको कामधन्दा सकाएर दिउँसोको फुर्सदको समय सिलाइकटाइ तालीममा सहभागी भएको रामपुर नगरपालिका–५ मटेरी बस्ने सन्तोषी ढकालले बताइन् ।

“आफ्नो कमाइ नहुँदा कतिबेला कसले दिन्छ र गुजारा चलाउँला भन्नुपर्ने अवस्था थियो, अब यसरी अर्काको भरमा बाँच्नुभन्दा सीप सिक्यो भने घरमै बसेर पनि आफ्नो खर्च आफैँले चलाउन सकिन्छ” उनले भनिन् । बिहान छोराछोरी स्कुल पठाएपछि दिनभरको समय तालीममा सदुपयोग भएको उनले बताए ।

त्यस्तै रमा भण्डारी पनि आफैँ स्वरोजगार बन्न अहिले स्वीटर बुन्ने तालीम लिइरहेकी छन् । उच्च शिक्षा अध्ययन गरेकी भण्डारी बिहान छोराछोरी बोर्डिङ स्कूल पठाएर दिउँसोको समय तालीममा आबद्ध हुन्छिन् । “श्रीमान् वैदेशिक रोजगारीमा, छोराछोरी पढाउनै प¥यो, घरायसी खर्च बढ्दै गयो, एक जनाको कमाइले परिवार धान्न समस्या, अर्कोतर्फ म पनि दिनभर घरमा खाली बस्नुभन्दा स्वीटर बुन्ने तालीम पाएपछि खुशी लागेको छ” भण्डारीले भनिन् ।

विमला थापा एक घण्टाको समय गाडीमा रामपुर बेझाडमा आएर अहिले स्वीटर बुन्ने सीप सिकिरहेकी छन् । उनले स्वीटर बुन्ने सीपलाई व्यावसायिकरूप दिने सोचका साथ तालीममा सहभागी भएको बताइन् । “दुई चार पैसाका निम्ति सधैँ अर्काको भर पर्नु भनेको अपाङ्ग बन्नु जस्तै हो, अपाङ्ग भएका केही व्यक्तिले कति रचनात्मक कार्य गरेर देखाएका छन् । हामी पनि केही गरेर आफैँ बाँच्न सिकौँ” थापाले भनिन् ।

उनले तालीम पहिलेदेखि नै सिक्ने इच्छा राखेकी थिइन् तर, अन्यत्र गएर सीप सिक्ने घरबाट वातावरण नमिलेकोले अहिले रामपुरमै सिक्न पाउँदा खुशी छन् । नगरपालिका क्षेत्रमा १०० को हाराहारीमा सिलाइकटाइ, ब्युटीपार्लर, गुडिया बनाउने, अचार बनाउने जस्ता तालीम लिएर महिलाले आफैँ व्यवसाय सञ्चालन गरिरहेका छन् ।

अरुको कमाइमा बाँचिरहेका यहाँका महिला गाउँ गाउँमा नगरपालिकाले विभिन्न सीपमूलक तालीम दिन थालेपछि स्वावलम्बी बन्दै गएको पाइएको छ । केहीले व्यवसाय नै गरेर बसेका छन् भने केहीले आफ्नो गुजारा चलाउन सक्ने भएका छन् । रासस

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार ००:००