फागुन ५ बर्दिवास । जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै यहाँका अवैध क्रसर उद्योग धमाधम बन्द भएका छन् । शुक्रबार सुरू गरिएको स्थलगत अनुगमनका क्रममा शनिबार साँझसम्म १२ त्यस्ता क्रसर बन्द गरिएको समितिले जनाएको छ ।
जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा बग्रेल्ती सञ्चालनमा छन् । ती उद्योगहरूले अनियन्त्रित दोहन गरेर प्राकृतिक सम्पदालाई कुरुप र जोखिमयुक्त बनाएको गुनासो बढ्दै गएपछि समितिले स्थलगत अनुगमन गरेको हो ।
क्रसर उद्योगले तटबन्ध निर्माण गरिएका ठाउँ र वृक्षरोेपण क्षेत्रमा उतखनन गरेर बनाएका ठूलठूला खाल्डाले तटबन्ध भत्कने र वनक्षेत्रका रुख ढल्ने अवस्था देखिएको समितिका प्रवक्ता सुदीपकुमार झाले बताए ।
उद्योग सञ्चालन गर्न स्थानीय तह र जिल्ला समन्वय समितिबाट लिनुपर्ने स्वीकृतिको समेत बेवास्ता गर्दै क्रसर सञ्चालकले मनपरी उत्खनन गरिरहेका पाइएको छ । जिल्लामा कानूनअनुसार अभिलेखीकरण भएका क्रसर उद्योगको संख्या ६ वटा मात्रै देखिए पनि महोत्तरीमा ५० भन्दा बढी क्रसर भेटिएका छन् ।
यसअघि नदी र नदीउकास क्षेत्रमा अवैध र अनियन्त्रित दोहन बढेको व्यापक गुनासो बढेपछि जिल्ला समन्वय समितिले गत बुधबार जिल्लाका सबै क्रसर उद्योग बन्द गरेर स्थलगत अनुगमन गरी नयाँ अनुमति दिने निर्णय गरेको थियो ।
पछिल्लो पटक थालिएको स्थलगत अनुगमनमा उद्योगले २५ फिट गहिरोसम्म खाल्डो खनेका र वातावरण जोखिम अध्ययन प्रतिवेदनको पूरै बेवास्ता गरेका पाइएको छ ।
स्थानीय तहले विज्ञहरू परिचालित गरी बनाएको वातावरण जोखिम अध्ययन प्रतिवेदनमा अनुमति पाएका उद्योगले नदीका दुवै किनारमा ५० फिट छाडेर तीन फिटसम्मको खाल्डो खनेर बालुढुङ्गा निकाल्न सक्ने मापदण्ड छ । तर अनुमति नै नलिएर जथाभावी उत्खनन गरिरहेको पाइएको छ ।
जिल्लाका चुरे पहाडी शृङ्खला, नदी र नदीउकास क्षेत्रमा अनियन्त्रित दोहन बढेपछि खानेपानीका मुहान सुक्दै गएको, सिमसार क्षेत्र, जलाधारक्षेत्र र वनक्षेत्र मासिदै गएर बाढीबाट डुवान र कटान बढ्दै गएको वनविज्ञहरुले चिन्ता जनाउँदै आएका छन् ।
समितिले पछिल्लोपटक थालेको अनुगमनले प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन नियन्त्रणमा सघाउ पुग्ने जिल्लाका बुद्धिजीवी बताउँछन् । रासस
प्रतिक्रिया