मोहम्मद सदरुल
फागुन ४, विराटनगर । जलवायु परिवर्तनका कारण मोरङलगायतका तराईका जिल्लामा रहेका सिमसारहरु लोप हुँदै गएका छन् । भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा यी पोखरीको महत्व घट्दै, पोखरी पुरिँदै, सुक्दै, अन्य उपयोगमा जाँदै मासिँदै गरेका छन् ।
मोरङमा हाल १९ वटा सिमसारको पहिचान भइसकेको छ । तिनमा सुन्दरहरैंचाको हसिना र वागदेवी सिमसार, उर्लावारीमा रहेका सालबारी, वेतेनी र सुनझोडा सामुदायिक वन सिमसार, पथरीमा रहेका भुल्के, जालपादेवी, श्रीजङ्गा, बाघेखाडी र सुन्दर सामुदायिक वन सिमसार पर्दछन् । मधुमल्लाका कतले बेतिनी र देवीथान सिमसार छन् ।
त्यसैगरी वेतना सिमसार (बेलवारी), झलझली सिमसार (डाँगीहाट), कानेपोखरी भलुवा सिमसार (वयरवन), धनपाल गढी सिमसार (कसैनी) रहेका छन् । यसबाहेक बजरङ सिमसार (ग्रामथान तेतरिया), सिमसार (पथरी), राजारानी सिमसार (लेटाङ), र गरापानी सिमसार लेटाङ छन् ।
दिगो संरक्षणका लागि यी क्षेत्र वरिपरिको वन जङ्गल र प्राकृतिक भू–उपयोगलाई विनाश एवं परिवर्तन नगरी हामीले गर्ने भौतिक विकासका क्रियाकलापलाई वातावरणमैत्री कायम गर्दै सिमसारको संरक्षण गरिनु अपरिहार्य भएको छ ।
अहिले भएका कुवा, दह, पोखरी र सिमसारमा जम्मा हुने पानीको मुख्य स्रोत बेतना सिमसार, हसिना सिमसार, धनपालथान ऐतिहासिक पोखरी हुन् । जिल्लाभित्र रहेका यी सानाठूला सिमसार क्षेत्र वरपरको वन जङ्गलको दिगोे संरक्षण र व्यवस्थापन गर्नु पर्ने देखिएको छ ।
मोरङ जिल्लाअन्तर्गत रहेका सिमसारको संरक्षण र प्रवद्र्धन गर्नका लागि डम्बर बस्नेतको अध्यक्षतामा १९ सदस्यीय सिमसार संरक्षण तदर्थ समिति निर्माण भएको छ ।
वेतना सिमसार क्षेत्रका अध्यक्ष डम्बर बस्नेतले १७४.९१ हेक्टर जग्गा रहेको जानकारी दिए । बेतना सिमसारलाइर्ई व्यवस्थित गर्न तत्काल १५ करोड रुपैयाँ लाग्ने उनले बताए । आयआर्जन गर्ने लक्ष्य राखेर २० वर्षे गुरुयोजना बनाई व्यवस्थित, सुन्दर र राम्रो बनाउन करीब २ अर्ब रुपैयाँ लाग्नेछ ।
उनका अनुसार यस सिमसारबाट अहिले वार्षिक १ करोड रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ । मानिसलाई मनोरञ्जन दिनुका साथै आम्दानी स्रोत बनाउन सकिने र प्राकृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुग्ने उहाँको रहेको छ ।
बजरङ सिमसार क्षेत्रका सचिव राम विश्वासले लगभग १० बिगाहा जग्गामा रहेको यो सिमसारलाई तत्काल संरक्षणका काम गर्नुपर्ने बताए । उनले जिल्ला वन कार्यालयबाट यसवर्ष खाली जग्गामा ६ हजार बोटबिरुवा रोपिएको जानकारी दिँदै अब मन्दिर बनाउन, घेराबार लगाउन र नजिकैको नदीमा तटबन्ध गर्नुपर्ने बताए ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले कमै मुलुकमा पाइने सिमसार हाम्रो देशमा प्रशस्त रहेकाले यसलाई समयमै संरक्षण गर्नुपर्नेमा जोड दिए ।
पूर्ण रुपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रुपले बनेको तथा कृत्रिम रुपले बनाइएको, स्थायी वा अस्थायी रुपले जमेको पानी, जमीनमुनिको पानी वा वर्षाले जमेको अथवा बगेको पानीको क्षेत्र नै सिमसार हो ।
सिमसारले पानीको भण्डारण र सफाइ, जैविक विविधताको आश्रय स्थल, खाद्यान्न औषधि र जडीबुटी, दैनिक उपभोग्य वस्तु, सांस्कृतिक धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल आदिको उपयोगिता प्रदान गरेको हुन्छ ।
सिमसार संरक्षणमा प्रतिबद्धता जनाउँदै नेपाल सरकारले विश्वका सिमसार संरक्षण गर्ने सम्बन्धी इरानको रामसार भन्ने स्थानमा सन् १९७१ मा सम्पन्न विश्व सम्मेलनबाट पारित “रामसार महासन्धि” लाई सन् १९८८ मा अनुमोदन गरेको थियो । यस महासन्धिका १६९ वटा पक्ष राष्ट्र छन् र जम्मा २ हजार २९३ वटा सिमसार सूचीकृत छन् ।
हाल विश्वको जमीनको ४ देखि ६ प्रतिशत भू–भाग सिमसारले ढाकेको छ । नेपालमा जम्मा जमीनको करीब ५ प्रतिशत क्षेत्र सिमसारले ढाकेको छ । नेपालका १० वटा महत्वका ताल, पोखरी र सिमसार क्षेत्र हालसम्म रामसार सूचीमा सूचीकृत छन् । त्यसमध्ये वटा सोलुखुम्बुको गोक्यो ताल, इलामको माइपोखरी र सुनसरीको कोशी टप्पु प्रदेश नं १ मा छन् । रासस
प्रतिक्रिया