५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैलुङमा होटल बनाउनेलाई गाउँपालिकाको अनुदान



सिर्जनकुमार घिमिरे

फागुन १, जिरी । दोलखाको सैलुङ गाउँपालिकाले सैलुङमा पर्यटकलाई आकर्षित गर्न होटल बनाउनेलाई अनुदान दिने भएको छ ।

गाउँपालिकाको निर्णयबाटै सुरूका १० वटासम्म होटल वा होमस्टे निर्माणका लागि अनुदान दिने घोषणा गरेको हो । महाभारतको सबभन्दा अग्लो स्थान मानिएको सैलुङमा पर्यटकको गन्तव्यस्थल बनाउन गाउँपालिकाले साविक सैलुङ्गेश्वर गाविसको कालापानीमा डोजर लगाएर घरेडीसमेत निर्माण गरेको छ ।

सैलुङ घुम्न आउनेका लागि खान बस्न समस्या नहोस् भनेर अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए । सैलुङ डाँडाको आसपास ढुङ्गे वा कालापानी क्षेत्रमा कम्तीमा १० जना बस्न सक्ने होटल वा होमस्टे निर्माण गर्न १ लाख रुपैयाँका दरले अनुदान दिने निर्णय भएको दुलालले जानकारी दिए । होटललाई अनुदान दिन गाउँपालिकाले चालू आर्थिक बर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सो स्थानलाई ‘विशेष पर्यटकीय क्षेत्र घोषणा’ गरेर गाउँपालिकाले भौतिक निर्माण कार्य अहिले पनि गरिराखेको छ । सैलुङ विकासकै लागि स्थानीय सरकार सञ्चालन ऐनबमोजिम विशेष पर्यटन क्षेत्र कार्ययोजना बनिसकेको छ । सैलुङको प्रवेश द्वारकै रुपमा रहेको कालापानीमा गाउँपालिकाको १० रोपनी जग्गा छ । त्यहाँ पर्यटकलाई बास बस्ने र सैलुङको यात्रा गराउनका लागि यो व्यवस्था गर्न लागिएको हो ।

रिसोर्ट तथा होटल सञ्चालन गर्न इच्छुकलाई छिटै टेन्डर आह्वान गर्दैछौँ । दुलालले भने, “जग्गा बढाबढमा उपलब्ध गराइनेछ । पालिकाका तर्फबाट पानी, बत्तीसमेत सुविधा हुन्छ ।”

सुरक्षाका लागि प्रहरी चौकीको स्थापना चाँडै हुँदैछ । जनकपुरतिरबाट आउनेलाई नयाँ पुल चर्नावतीबाट र काठमाडौँबाट आउनेलाई मुढे–बाघखोर–कालापानी २० किलोमिटरको ७ मिटर चौडाइको सडक बनिसकेको छ । कालोपत्र गर्ने सोच पनि बनिसकेको छ ।

सैलुङकै नामबाट सैलुङ गाउँपालिका बनेको छ । यो सैलुङको रमाइलो ठाउँ र चौँरी हेर्नका लागि काठमाडौँदेखि झन्नै १ सय४० किलोमिटर पूर्व दोलखामा पर्छ ।

नेवार र तामाङ संस्कृति, रमणीय दृश्य, विभिन्न जङ्गली जडीबुटी र वनस्पति, चौँरीको दूधबाट बन्ने विभिन्न परिकार पाइने यो स्थान दोलखाको सदरमुकाम चरिकोटबाट झण्डै ५० किलोमीटर दक्षिणतर्फ रहेको छ । सयभन्दा बढी स–साना डाँडा भएकाले नै यसलाई सैलुङ भनिएको हो । सैलुङ समुद्री सतहबाट लगभग ३ हजार ४ सय मिटर उचाइमा छ । रासस

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ००:००