कृष्ण आचार्य
माघ २६, भरतपुर । चितवनको माडी क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । माडी नगरपालिकाले पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माण गरेर पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको हो ।
नगरप्रमुख ठाकुरप्रसाद ढकालले यहाँका पर्यटकीय क्षेत्र पहिचान गरी पूर्वाधार निर्माण र प्रचारप्रसारलाई पहिलो प्राथमिकतामा राखिएको बताए । उनले भने, “शून्य अवस्थामा रहेको पर्यटन पूर्वाधार निर्माणको काम भरखर सुरू गर्दैछौँ । पूर्वाधारका लागी यो वर्ष तीन करोड रुपैयाँको काम हुँदैछ ।”
राष्ट्रिय महत्व बोकेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्वमेश्वरलाई मुख्य गन्तव्यको रूपमा स्थापित गर्नेगरी काम भइरहको ढकालले जानकारी दिए ।
स्वमेश्वरमा पुग्ने सडक र अन्य भौतिक संरचनाको निर्माण तथा पुनःनिर्माणको काम भइरहेको छ । माडी क्षेत्रमा गोद्धक, परशुराम कुण्ड, पाण्डवनगर, स्वमेश्वर, वाल्मीकि आश्रम, बैकुण्ठेश्वरधाम, महादेव मन्दिर, सीतागुफा, विक्रम बाबालगायत धार्मिक महत्वका पर्यटकीयस्थल छन् ।
स्वमेश्वरमा केन्द्र सरकारले घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यअन्तर्गत ५० लाख रुपैयाँ, स्वमेश्वर क्षेत्र विकास समितिको ४१ लाख रुपैयाँ, स्वमेश्वरगढी सूचना केन्द्र निर्माणका लागि प्रदेश सरकारको ४० लाख रुपैयाँ, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत ३५ लाख रुपैयाँ, सडक बोर्डको ६० लाख रुपौँ र नगरपालिकाबाट ३८ लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै बैकुण्ठेश्वरधामका लागि प्रदेश सरकारले करीब १ करोड रुपैयाँ विनियोजन गर्ने तयारी भइरहेको छ ।
चितवन आउने आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन पनि माडी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको विकास गर्नु परेको ढकालको भनाइ थियो । परशुराम कुण्ड पुग्ने बाटो निर्माणका लागि माडी पर्यटन विकास समिति मार्फत ९ लाख रुपैयाँ विनियोजन भएर काम सुरू गरिएको छ । यस्तै पुष्पवाटिका पार्कको गुरुयोजना निर्माण अघि बढेको र त्यसमा प्रदेश सरकारबाट १ करोड प्राप्त हुने नगरपालिकाले जनाएको छ ।
सौराहा, जगतपुर, पटिहानी, मेघौलीलगायत चितवनका पर्यटकीय क्षेत्रसँग निकट रहेको माडीमा पर्यटकीय गन्तव्य धेरै भएर पनि ओझेलमा परेको छ । विभिन्न निकायबाट स्वीकृत भएका योजना भर्खर कार्यान्वयनको चरणमा छन् । माडीको पूर्वमा पर्सा, उत्तर र पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतर्फ भारतको बिहार पर्छ । धार्मिक महत्व बोकेको गोद्धक क्षेत्रमा रामनवमी र चैते दशँैमा ठूलो मेला लाग्छ । यहाँको पुरानो दौप्रदी कुण्ड, पुराना मूर्ति, इनारहरु संरक्षणमा सरोकारवालाले चासो देखाउन थालेका छन् ।
“परशुराम कुण्ड जाने गोरेटो बनाउन लागेका छौँ,” पर्यटन विकास समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले भने, “परशुराम कुण्ड जाने बाटो सहज भए यो स्थल पर्यटकको रोजाइमा पर्न सक्छ ।” उनले निकुन्जसँग समन्वय गरेर पूर्वाधार निर्माणको काम अघि बढाइने बताए ।
पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि वेवसाइट निर्माण र पर्यटन हाते पुस्तिका प्रकाशनको तयारी भइरहेको छ । त्यसका लागि सूचना तथा तस्वीर सङ्कलनको काम भइरहेको र ३ वर्षभित्र माडीमा पहिलो चरणको पूर्वाधार निर्माणको काम सम्पन्न गर्ने पौडेलले बताए ।
माडीको वैकुण्ठ क्षेत्रमा शिवालय मन्दिर, रामसीता मन्दिर, अजिङ्गरे छहरा, वैकुण्ठ ताल, पिकनिकस्थल छन् । सौराहा जोड्ने गरी पैदलमार्ग बनाइने र त्यसले पर्यटकको आवागमन बढ्ने जानकारी दिँदै उहाँले तेस्रो पर्यटकीय गन्तव्यस्थल जिल्लामा रहे पनि यहाँ पर्यटक कम आउने गर्छन् ।
माडीका ४ ठाउँमा सांस्कृतिक होमस्टे
माडीमा पर्यटकलाई आकर्षण गर्न र उनीहरुको बसाइँ लम्ब्याउन थप तीन ठाँउमा घरबास (होमस्टे) को व्यवस्था गरिने भएको छ । अहिले शिवद्धारमा मात्रै मगर समुदायले होमस्टे सञ्चालन गरिरहेका छन् । अन्य तीन ठाउँमा घरबास निर्माणको तयारी भइरहेको नगरप्रमुख ढकालले जानकारी दिए ।
माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायको संस्कृति झल्किने गरी घरबास निर्माणका लागि बजेट विनियोजन भएको छ । नगरपालिकाबाट ५० लाख रुपैयाँ र तराईमधेस समृृद्ध कार्यक्रममार्फत २५ लाख रुपैयाँ बोटे घरबास निर्माणका लागि विनियोजन भएको हो ।
यस्तै नगरपालिकाको वडा नं ३ बघौडामा थारू होमस्टे र वडा नं ९ मा राई होमस्टे निर्माण गरिने भएको छ । शिवद्धारमा रहेका ११ घरबासको क्षमता विस्तार गर्दै २० बनाउने तयारीसमेत नगरपालिकाले गरेको छ । माडीको पाण्डवनगरमा ६ बिघा जग्गा किनेर विदेशी लगानीकर्ताले रिसोर्ट निर्माणको समेत तयारी गरिरहेको ढकालले बताए ।
प्रतिक्रिया