१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा पानी घट्ट लोप हुँदै



माघ २३ अमरगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्टहरू लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् ।

सुदूरका पहाडी क्षेत्रमा स्थानीय खोलाका पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्दथे । तर अहिले आधुनिक विद्युतीय मीलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी घट्ट लोप हुन थालेको नवदुर्गा गाउँपालिका–१ का करन कामीले बताउँछन् ।

सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका विभिन्न ठाउँमा हजारौंको संख्यामा रहेका पानी घट्ट प्रयोगविहीन भएको र ती घट्ट नयाँ प्रविधिसाथ सञ्चालन हुन थालेपछि परम्परागत घट्टहरू लोप हुनथालेको स्थानीयवासीको भनाइ छ ।

हाल प्रयोग विहीन रहेका पानी घट्टलाई गैरसरकारी संस्थाहरूको सहयोगमा सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल पेलानी र काठ चिरानी समेत गर्न थालिएको अमरगढी– ७ का घट्टधनी पदमबहादुर कैनीले बताए ।

पहिले पानी घट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो । तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्नेको सङ्ख्या घटेको छ । केहीले आधुनिक घट्टबाटै कुटानी पिसानी गर्ने गरेका छन् ।

मिलमा कुटानी पिसानी गरेवापत प्रतिकिलो २ देखि ४ रुपैयाँसम्म ज्याला लिने गरेको छ । अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले पुराना पानीघट्ट बन्द गर्नुपरेको पानी घट्ट चलाउँदै आउनु भएका गन्यापधुरा गाउँपालिका–५ का कमलबहादुर ओली बताउँछन् ।

घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको तर मिलमा भनेकै समयमा कुटानी र पिसानी हुने भएकाले पानी घट्ट प्रयोग गर्नेको सङ्ख्या घट्दै जाँदा घट्ट बन्द गर्नुपर्ने अवस्थामा पुगेको ओलीको भनाइ छ । तर परम्परागत घट्टबाट पिसानी गरिएका अन्नको पिठो स्वास्थ्यका लागि लाभदायक मानिने गरेको छ । रासस

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार ००:००