१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीको ४८ विद्यालयमा सरकारी शिक्षक दरबन्दी शून्य



सन्तोष गौतम

माघ ९, म्याग्दी । जिल्लाका ४८ सामुदायिक विद्यालयमा सरकारी शिक्षकको दरबन्दी शून्य छ । सरकारी दरबन्दी नभए पनि समुदायले आर्थिक जोहो गरेर विद्यालय सञ्चालन गर्नु पर्ने बाध्यता छ ।

१९ मावि, १ देखि ३ सम्म पठनपाठन हुने ९ तथा कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने २० विद्यालयमा शून्य दरबन्दी रहेको क्षिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले बताए । म्याग्दीमा २ सय ३२ सामुदायिक विद्यालय सञ्चालनमा छन् । अन्य विद्यालयहरूमा पनि पूर्ण दरबन्दी छैन ।

“शून्य दरबन्दीका विद्यालयका शिक्षकलाई तलबभत्ताका लागि समुदायमा ब्ययभार परेको छ”, धन जनता मावि फलीयागाउँका प्रधानाध्यापक पुष्कर भण्डारीले भने, “स्थानीयवासीले चन्दा सङ्कलन र तिहारमा देउसीभैलो खेलेर शिक्षक पालेका न् ।”

विद्यालयलाई चन्दा सहयोग गर्न नसक्ने गरीब विपन्न समुदायका अभिभावक समस्यामा छन् । कतिपय ठाउँमा चन्दा जुटाउन नसकेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको धवलागिरि गाउँपालिका–२ लुलाङका तिलाराम विश्वकर्माले बताए ।

दुर्गम र विकट क्षेत्रमा रहेका निजी स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयमा पर्याप्त तलब सुविधा र अतिरिक्त आम्दानीको स्रोत नहुने भएकाले विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक नपाउने समस्या रहेको सर्वोदय माविका स्रोतव्यक्ति जयराम सुवेदीले बताए ।

स्थानीय तहले शिक्षक दरबन्दी मिलान, व्यवस्थापनमा पहल गर्नुका साथै सङ्घीय र प्रदेश सरकारले आवश्यक कानून बनाएर सामुदायिक विद्यालयको समस्या समाधान गर्नु पर्ने मङ्गला मावि बाबियाचौरका शिक्षक हुमनाथ पाण्डे बताउँछन् ।

शून्य दरबन्दीका सामुदायिक विद्यालयको सहयोगका लागि धवलागिरि गाउँपालिकाले यस वर्ष रु १८ लाख विनियोजन गरेको छ । मङ्गला गाउँपालिकाले शून्य दरबन्दीमा सञ्चालित सामुदायिक विद्यालयमा एक÷एक शिक्षकको तलब व्यवस्था गर्न २५ लाख विनियोजन गरेको छ ।

गाउँपालिकालाई चार रोपनी जग्गा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका बासिन्दाले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् । गाउँपालिकाको केन्द्र पोखरेबगरको गोजेमा ६ स्थानीयवासीले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

स्थानीयवासीले उपलब्ध गराएको जग्गाको मूल्य स्थानीय बजारभाउअनुसार १ एक करोड अनुमान गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । जालवीर पुर्जा, गोपाल बरुवाल, रामबहादुर बिसी, सन्तोष बरुवाल, कप्रसाद पुर्जा र गोकुल बरुवालले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् ।

समुदायको पहलमा थप ९ रोपनी सार्वजनिक र शिवालय मन्दिर संरक्षण समितिले एक रोपनी तीन आना जग्गा गाउँपालिकाको भवनका लागि उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष खड्ग गिरीले बताउए । उक्त जमीन सम्याएर भवन निर्माण थालिएको छ ।

पहिलो चरणमा गाउँपालिकाअन्तर्गत विषयगत कार्यालयहरूका लागि आवश्यक ६ वटा ब्लक निर्माण गर्न लागिएको हो । जग्गा व्यवस्थापन र भवन निर्माणका लागि चालू आर्थिक बर्षमा ५० लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष केशमाया मगर जानकारी दिइन् । पूर्वाधार अभावमा गाउँपालिका र विषयगत कार्यालयका शाखा भाडाको घरबाट सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाको कार्यालय भवन निजी घर भाडामा लिएर सञ्चालन गरिएको छ । स्वास्थ्य, कृषि, पशुलगायत शाखा स्थानीय आमा समूहको एउटै भवनमा छन् । साँघुरो भवनबाट सेवा प्रवाह गर्न कठिनाइ छ । रासस

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार ००:००