९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिसँगै कालिजपालन गर्दै युवा नेताहरू



स्थानीय खबर संवाददाता

न कुनै पेसा, न कुनै व्यवसाय ! आम्दानीको स्रोत केही देखिँदैन । तर अधिकांश राजनीतिक कार्यकर्ताहरूको ‘राजनीति’ चलेकै छ । त्यसैले ‘राजनीतिलाई पेसा व्यवसाय बनाए’ भन्ने आम जनताको गुनासो स्वभाविक देखिन्छ ।

पञ्चायतकालमा होस् वा बहुदलकालमा पूर्णकालीन राजनीति गर्दा पार्टीले ‘पकेट खर्च’ दिने गर्थ्यो । तर अहिले त्यो पनि दिँदैन । दिए पनि त्यो पैसाले ‘चिया खर्च’ समेत धान्दैन । तर पनि राजनीति चलेकै छ ।

कतै गलत ढंगले संकलन भएको पैसाले राजनीति धानिरहेको त छैन ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । अर्को पनि प्रश्न उठ्छ, के हाम्रा राजनीतिक कार्यकर्ताहरूले राजनीतिलाई ‘कमाई खाने भाँडो’ मात्र बनाइरहेका छन् त ? राजनीतिक दलका नेता तथा कार्यकर्ताका लागी यस्ता अनेकौं प्रश्न छन् ।

बादलको घेरामा चाँदी भनेझैं केही नेता र कार्यकर्ताले राजनीतिसँगै व्यवसाय रोजेका छन् । नेता कार्यकर्ताहरूले ‘व्यवसाय गर्ने, राज्यलाई कार र पार्टीलाई लेबी तिर्ने’ नयाँ शैली अपनाउन थालेका छन् ।

तत्कालिन नेकपा एमालेका भातृ संगठन युवा संघका नेताहरूले राजधानीमा कालिज फार्म चलाएका छन् । युवा संघका केन्द्रीय सदस्य शुसिल भट्टराईको नेतृत्वमा अहिले राजधानीको फर्पिङको १२ रोपनी फैलिएको फार्मबाट कालिज बिक्री गर्नसमेत थालेको छ ।

“हिजो राजनीतिक स्थायित्वका लागी लड्दा पेसा व्यवसाय गर्न असम्भव जस्तै थियो । अब आर्थिक विकासको चरणमा प्रवेश ग-यौं,” भट्टराईले भने, “अब नेता कार्यकर्ताले भाषण मात्र गरेर हुँदैन, पनि पेसा, व्यवसाय र उद्यमतर्फ अग्रसर हुनुपर्छ । त्यसैले नौलोखाले कालिज फर्म चलाउन थालेका छौं ।”

कालिज फार्मको अबधारणा

युवा संघ नेपालका महासचिव नरेश शाही २०६८ मा इटाली भ्रमणमा गएका थिए । नेपाल फर्किने क्रममा हवाईजहाज ढीला भएको हुँदा केही घन्टा डुल्ने अवसर मिल्यो । साथीहरूको सल्लाह अनुसार शाहीले इटालीमा रहेको कालिज फर्म घुमे । त्यत्तिबेला नै नेपालमा पनि कालिज पाल्नेबारे शाहीले योजना बनाए ।

नेपाल फर्किएर कालिज पाल्ने योजना त बनाए, तर नेपालको तत्कालिन कानून बाधक बन्यो । त्यसबेला कानूनमा घरपालुवा पशुपन्छी मात्र पालेर किनबेच गर्न मिल्ने व्यवस्था थियो । वन्यजन्य पशुपन्छी पाल्न मिल्ने तर बेच्न नमिल्ने तत्कालिन कानूनी व्यवस्थाका कारण कालिज फर्म चलाउने सपना सपनामै सिमित रह्यो ।

नयाँ संविधान जारी भए पछि बनेको कानूनले भने अन्तराष्ट्रिय साइटीस सन्धीको संवेदनशील बर्गमा सूचीकृत बाहेकका अन्य वनजन्य पशुपन्छी व्यापरिक प्रयोजनका लागी पाल्न पाउने व्यवस्था ग-यो । जसले गर्दा किनबेच गर्न पाउने भयो । कालिज साइटीसको संवेदनशील सूचीमा नपरेका कारण कालिज फर्म चलाउने सपना एकाएक ब्यूँतियो ।

झन्झटिलो सरकारी प्रक्रिया

कालिज फार्म चलाउन युवा संघका केन्द्रीय सदस्य शुसिल भट्टराईको अध्यक्षतामा एभरेष्ट वाइल्ड लाईफ एग्रो एण्ड रिसर्च सेन्टर कम्पनीमा दर्ता त भयो । तर कालिज पाल्न क्वारेन्टाईनका लागी कृषी मन्त्रालय र स्वीकृतिका लागी वन मन्त्रालय धाउनु प-यो ।

त्यत्तिले पुगेन, ‘कालिज संवेदनशील बर्गमा पर्दैन’ भन्ने सिफारिस लिन नेपालस्थित साइटीस अफिसमा धाउन प-यो । नयाँ प्रकृतिको व्यवसाय, त्यसमाथी वनसँग जोडिएको बिषय, सरकारी मान्यता पाउन ठूलै पापड बेल्नु परेको अनुभव छ उनीहरूसँग ।

पहिलो गाँसमै ढुङ्गा

गएको बैशाखमा फर्म दर्ता गरेर दक्षिणकाली नगरपालिका– ४ चाल्नाखेलमा १२ रोपनी जग्गा भाडामा लिए । फार्मका सीईयो बाबुराम श्रेष्ठले इटालीमा कालिज पालनसम्बन्धि तालिम लिएका थिए । उनकै पहलमा फ्रान्सबाट १० हजार २ सय कालिजको अण्डा नेपाल आयत गरियो ।

ब्रोइलर कुखुराको ह्याचरीमा अण्डा कोरल्न पठाइयो । करिब ८० प्रतिशत अण्डा कोरल्न सकिने अनुमान गरिए पनि जम्मा ४ हजार ३ सय मात्रै चल्ला कोरल्न सफल भयो । त्यही चल्लाहरू हुर्किएर अहिले मासुका लागी बेच्नयोग्य भएको छ ।

ब्रोइलर कुखुराको तुलनामा कालिजको अण्डा साह्रो हुने हुँदा ह्याचरी मेसिनले कोरल्न गाह्रो भएको निष्कर्ष निस्कियो । यो अनुभवले कालिजको चल्ला कोरल्न छुट्टै ह्याचरी मेसिन ल्याउनु पर्ने देखियो । त्यो मेसिन नेपालमा नपाइने रहेछ, युरोपबाटै झिकाउनु पर्ने भएको छ । जसको मूल्य नेपालसम्म आइपुग्दा ३० लाख रुपैयाँ पर्छ । अहिले मेसिन झिकाउने प्रक्रियामा छ ।

अबको योजना

अहिलेसम्म करिब डेढ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । पहिलो चरणका कालिजहरू मासुका लागी योग्य भइसकेका छन् । एउटा वयस्क कालिज डेड किलोदेखि साढे २ किलोसम्म हुन्छ । एक वटा कालिजको मूल्य ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

मूल्य महँगो भयो कि भन्ने जिज्ञाशामा शाही भन्छन्, “फ्रान्सबाट अण्डा आयात गरे देखिको मेहनत र लगानी जोड्दा साढे ३ हजार पुग्नु स्वभाविक हो ।” खासगरि पछिल्लो समय पाँचतारे होटलहरूले सम्झौता गरेरै कालिज खरिद गर्न खोजेका छन् । सम्झौता भएपछि बर्षैभरी होटललाई कालिज दिन सक्नु पर्छ । तर अहिले सिमित उत्पादन भएकाले पाँचतारे होटललाई दिन सक्ने अवस्थामा छैन ।

सर्बसाधरणले पनि कसैलाई उपहार दिन वा पाहुनालाई खुवाउन कालिज किन्छन्, आफू खानलाई होइन । कालिजको मासु खाने बानी नपरेका कारण ‘आफ्ना लागी नकिनेको’ उनीहरूको निष्र्कष छ । अहिले दैनिक १५ देखि २० वटा कालिज बिक्री भइरहेको छ । पछिल्ला बर्षहरूमा नेपालीहरूको खर्च गर्ने क्षमता बढेका कारण बिस्तारै कालिजको मासु खाने सँस्कार सुरू हुनेमा उनीहरू विश्वस्त छन् ।

कालिजको मासुमा बोसो नहुने र प्रोटिनलगायत अन्य पौष्टिक तत्व धेरै हुने हुँदा स्वास्थ्यबर्धक रहेको उनीहरूको दाबी छ । खासगरि सुत्केरीका लागी कालिजको मासु बढी उपयोगी हुने उनीहरू दाबी गर्छन् ।

उनीहरूले भरखरै बागबजारमा कालिज रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याएका छन् । उक्त रोष्टुरेन्टमा कालिज ढिँडो, कालिज खाना, कालिज सूप, कालिज भुटनजस्ता विभिन्न परिकारहरू पाक्ने गर्छ । साथै कालिजको मासु त्यही रेष्टुरेष्टबाट बेच्ने योजनासमेत छ । यसबाहेक राजधानी उपत्यकामा थप कालिज रेष्टुरेन्टको आउटलेटहरू खोल्ने तयारी गरिरहेको शाहीले बताए ।

काठमाडौंबाहेक कालिज फर्महरू प्रदेश नं. १, ४, ५, ६ र ७ मा पनि सञ्चालन गर्ने तयारी भइरहेको शाहीले जानकारी दिए । कूल सेयरमध्ये ५० प्रतिशत आफूहरूको र ५० प्रतिशत स्थानीयवासीको हुनेगरि फार्म चलाउने सञ्चालन गर्न प्रक्रिया सुरू भइसकेको छ ।

राजधानीमा पनि थप फार्महरू सञ्चालन गर्न जग्गा खोजिरहेको शाहीले बताए । २ नं. प्रदेशमा भने तापक्रमका कारण फर्म चलाउन सम्भव छैन । कालिजपालन ३० डिग्रीभन्दा बढी तापक्रममा सम्भव छैन ।

लक्ष्यअनुसार थप फर्महरू सञ्चालन गर्न सके २०७६ को असारसम्ममा ४० हजार कालिज उत्पादन गर्न सक्ने उनीहरूको लक्ष्य छ । त्यसपछि तारे होटलहरूमा समेत कालिज पु-याउन सक्ने उनीहरूको विश्वास छ ।

न ऋण, न बीमा, न सरकारी सहयोग !

सत्तारुढ दलकै युवा नेताहरू भएका कारण व्यवसाय गर्न सरकारबाट सहयोग पायो होला नि ! भन्ने जिज्ञाशामा शाही भन्छन्, “कहाँबाट पाउनु ? सरकारी अनुदान त परै जाओस्, धितो राखेर ऋण खोज्दै भौँतारिएको ७ महिना पुग्यो ।”

धतो राखेर ऋण लिन खोज्दा बैंकहरूले ‘झुलाएको’ शाहीले गुनासो गरे । अहिलेसम्म उनीहरूले बैंकबाट ऋण पाउन सकेका छैनन् । व्यवसाय सञ्चालनका लागी पुरा गर्नुपर्ने सरकारी प्रक्रिया, ऋण, वीमा लगायतका समस्याले उनीहरूलाई दिक्दार बनाएको छ ।

दक्षिणकालीमा फर्म सञ्चालन गरे पछि वीमा गर्न खोजे । तर कालिजपालन नयाँ व्यवसाय भएकाले बीमा गराउन सकेनन् । वीमाका लागी फेरी कृषी मन्त्रालय धाउन प-यो । धन्न कृषी मन्त्रालयले वीमा समितिलाई कालिजपालनलाई पनि वीमा गराउन सकिने ब्योहोराको चिठी पठायो । तर अहिलेसम्म वीमा गराउन सकेको छैन ।

“झट्ट देख्दा सत्तारुढ दलका नेता कार्यकर्ताले उद्यम गरेको देख्छन् । कति न सरकारबाट लियो भन्नेहरू पनि होलान् ! तर नियमसम्मत ऋण खोज्दा त पाइएको छैन, केका सरकारबाट लिनु ?,” शाहीले दिक्दारी पोखे । लगानी गर्नुपूर्व भविष्यमा आउन सक्ने समस्यालाई अध्ययन गरेको हुँदा यो चरणसम्म आईपुगेको शाहीले बताए ।

उद्यम र राजनीति सँगसँगै

युवा नेताहरूले आर्थिक विकासको पनि नेतृत्व गर्नुपर्ने फर्मका अध्यक्ष भट्टराईले बताए । “मुलुक राजनीतिक स्थिरताको बाटोमा हिँडिसक्यो । अब पनि चन्दा मागेर राजनीति गर्नु लाजको बिषय हो । राजनीतिक क्रान्तिमा जस्तै आर्थिक क्रान्तिमा पनि युवाले अगुवाई गर्नुपर्छ,” भट्टराईले भने, “अब नेता कार्यकर्ताले पनि उद्यम गर्ने, राज्यलाई कर र संगठनलाई लेबी तिर्ने गर्नुपर्छ । देशमा आर्थिक क्रान्ति गर्नु पर्ने बेलामा चन्दा मागेर राजनीति गर्नुको औचित्य छैन ।”

व्यवसाय र राजनीतिलाई एकै साथ अगाडी बढाउनेमा भने उनीहरू दृढ छन् । कालिजपालनमा भट्टराई, शाही, दिलु पन्तलगायत युवा संघका ६ जना नेताहरूको लगानी छ ।

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार ००:००