Logo

मुग्लिन–नारायणघाट सडकखण्डमा सास्तीः पहिरो खस्दै, पैदल पार गर्दै



 

नारायण ढुंगाना
टोपोखोला मुग्लिन, २० असार

चितवनको रामपुरका झकबहादुर गुरुङ पहिरो खस्ने डरले बिहानै गोरखाको भच्छेक जान परिवारसहित बसमा आएका थिए । तर नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तोपेखोलाको छेवैमा खसेको पहिरोले उनको यात्रा रोकियो ।

‘जरुरी कामका लागि जान लागेको नगई नहुने’ भन्दै पहिरो पन्छाउन खटिएका प्रहरीसँग गुरूङले आग्रह गरे । अनुनयविनय नै गरे पछि प्रहरीले अघि जान अनुमति दिए ।

त्यसपछि गुरूङले हिँडेरै पहिरो छिचोले । पिठ्यूँमा भारी बोकेका गुरूङले घरी पहिरोतिर हेर्दै घरी पहिरोको थुप्रोतिर तोपेखोला र कालिका खोलाको पहिरो पार गरे । “धन्न पहिरो पार भयो,” लामो सास फेर्दै गुरुङले भने, “अब हिँडेरै पनि गइन्छ । तोपेखोलाबाट मुग्लिन आइपुग्न करिब ३ किलोमिटर छ ।”

हिडँ्दै गर्दा गुरूङले लोकल रुटमा एउटा गाडी फेला प-यो । तीन किलोमिटरको दूरीको रु ५० प्रतिव्यक्ति तिरेर उहाँ अपराह्न मुग्लिन आइपुगे । गुरुङ मात्र होइन, बुधाबार पहिरो खस्दै गर्दा त्यसरी नै सडक पार गर्ने यात्रु धेरै थिए ।

यस्तै, मुग्लिनतर्फबाट गएका यात्रुहरू पनि पोका पुन्तुरासहित आफूले यात्रा गरेको गाडी छाडेर पैदलै पहिरो पार गर्दै थिए । पहिरोमाथि यात्रुको ताँतीले लोडर र डोजरलाई बेलामा काम गर्न पनि समस्या हुन्थ्यो । कामदारहरू रिसाउँथे पनि ।

कोही बिरामी भेट्न आएको भन्दै प्रहरीसँग हारगुहार माग्दै पैदल जान दिन अनुरोध गर्दथे । कोही आफन्त बितेकाले जसरी पनि नगई भएन भन्थे । कोही ‘हामी मरे नि मर्छौं’ भन्दै जबरजस्ती जाने पनि थिए ।

प्रहरीका अनुसार कहिलेकाहीँ त यात्रुलाई रोक्दा रोक्दै झगडै हुन्थ्यो । यस्ता अटेर गर्ने यात्रुको जिद्दीका अघिल्तिर प्रहरीको केही सिप चलेन । पहिरो खस्न थाले पछि पुनः भागेर फर्कने यात्रु हरू पनि थिए ।

दिनभर पहिरोग्रस्त क्षेत्रमा खटिएका चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतम यात्रुहरूले नै जबरजस्ती गरेपछि आफूहरुले रोक्नै नसकेको बताउँछन् । कतिपय विद्यार्थी जाँच छ भन्दै पहिरो पार गरेर जान्थे । उनीहरुको बहानामा अन्य यात्रुहरू समेत पैदलै हिँडे ।

हिम्मत भएकाहरु हिँडेर पार गर्थे भने कतिपय यात्रुहरू गाडी गुड्ने आशमा बसिरहेका हुन्थे । कतिपय गाडीहरु बीचबाटै फर्किएका थिए । तर जोखिम मोलेर पहिरो छिचोल्दै जानेको संख्या पनि धेरै थियो ।

चितवनको रत्ननगरका अनिल भट्ट बिहान ३ बजे उठेर माइक्रोबसमा काठमाडौँ जान आएका थिए । तर बिहान ५ बजे बजे तोपे खोला आइपुग्दा उहाँको यात्रा रोकियो । गाडी नगएपछि उहाँ पुनः चितवन नै फर्किए ।

चितवनबाट माइक्रोबस लिएर काठमाडौँ आउँदै गरेका भरतपुरका गाडी चालक विकास गुरुङ पनि बिहान ५ बजे तोपेखोला आइपुगेका थिए । बाटो खुल्छ कि भनेर बिहान ११ बजेसम्म कुर्दा कुनै छनक नपाएपछि उनले गाडी भरतपुर नै फर्काए ।

तोपेखोला आसपास कतै विद्युत्का तार छिनेका छन्, कतै पोल ढलेका छन् । पहिरोको माटो र ढुंगा त्रिशूली किनारमा यत्रतत्र देखिन्छ । वारपार नै पहिराका लामालामा धब्बा र गाडीका लाइन थिए । महँगोमा खानेकुरासमेत बिक्री वितरण भइरहेका देखिन्थ्यो ।

यस्तो छ, तोपेखोलाको अवस्था

गत आइतवार बिहान ११ः५० बजेको समयमा तोपेखोला छेउमा ठूलो पहिरो खसेर अबरुद्ध भएको सडक राति ८ बजे सञ्चालनमा आएको थियो । त्यसको केही दिन अघिपनि यहाँ पहिरो गएर घन्टौं सडक बन्द हुन पुगेको छ ।

आज बिहान ५ः३० बजे खसेको पहिरो हटाएर दुईतर्फी सडक खुल्न झण्डै ११ घण्टा लाग्यो । अपराह्न ४ः३० बजे सडक खुल्यो । यो साल मात्रै तोपेखोलामा तीन वटा पहिरो खसिसकेका छ । आज तोपेखोलासँगै कालिका खोलामा समेत पहिरो खसेको थियो ।

“कमजोर भू–बनोटले गर्दा पहिरो खसेको हो । अहिलेसम्म तेपेखोलामा मात्रै १४/१५ पटक पहिरो खस्यो,” नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले भने ।

झन्डै २ सय मिटर माथिबाट पहिरो खस्ने गरेको छ भने भित्तोको तल्लोभाग घोप्टो पारेर काटिएको छ । त्यसैले पनि पहिरो खस्न बल पुगेको देखिन्छ । त्यसमाथि कमजोर भू–बनोटले अझै यहाँको धेरै भाग खस्न ठिक्क परेको छ ।

निस्कन लागेका ढुङ्गा र फुको माटोको भित्तो छ । छेवैमा पहिरो रोक्न लगाइएको रक नेटिङ प्रणाली छ । त्यसको केही तारको भाग समेत पहिरोले लगेको छ ।

बाँकी रक नेटिङलाई समेत बगाउने अवस्था देखिएको छ । तल्लो भागदेखि नै जमिन भस्केकाले यहाँ जाली लगाएर गरिएको रक नेटिङ प्रभावकारी नभएको फिल्डमा खटिएका ओभरसियर प्रकाश भण्डारीले बताए ।

पछिल्लो समयमा तोपेखोला, जलवीरे, मुग्लिन डाँडा, कालीखोला, चार किलो र पाँच किलोमा दैनिकजसो नै पहिरो खसिरहेको छ । सानातिना पहिरो दिनमै ५/६ वटा खसिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्