१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक कर्मचारीले ११ वटा सम्म फाँट हेर्नुपर्ने बाध्यता



गंगा पराजुली

पुस ११, पशुपतिनगर । दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि ९ जना मात्रै कार्यारत छन् । जम्मा १० वडा रहेको नगरपालिकाले आन्तरिक स्रोतबाट ५ कर्मचारी थपे पनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत समेत नभएको १० महीना बितेको नगर प्रमुख दीपक थेवेले बताए । अधिकार र काम थपिए पनि नगरपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयन, अनुगमन र प्रशासनिक काम गर्ने समस्या रहेको हो ।

कर्मचारी अभावले माई नगरपालिकामा एक कर्मचारीले ११ वटा फाँटसम्म हेर्नुपर्ने र इञ्जिनीयरले वडासचिवको समेत काम गर्नुपर्ने अवस्था छ । योजना कार्यान्वयनमा लाग्नुपर्ने प्राविधिकले वडासचिवको काम गर्नुपर्दा विकास निर्माणका योजनाले गति लिन सकेका छैनन् ।

दक्षिणकै चुलाचुली गाउँपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयनको काम हुन सकेको छैन । गाउँपालिकामा प्राविधिक र प्रशासनिक कर्मचारी पर्याप्त नहुँदा कामको गति सुस्त छ । सङ्घीय सरकारले २९ कर्मचारी पठाउनुपर्ने भए पनि अहिले १० मात्रै कार्यरत छन् । वडासचिव सबै वडामा नहुँदा जनताको काम गर्न समस्या रहेको गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए ।

वडा कार्यालयमा योजना हेर्ने प्राविधिक सहायक र सचिव केन्द्र सरकारबाट आउनुपर्नेमा अहिले कुनै वडामा पनि प्राविधिक छैनन् । गाउँपालिकाको केन्द्रमा १७ को दरबन्दी भए पनि अहिले पाँच कार्यरत छन् । शाखाअनुसारको कर्मचारी नहुँदा बजेट भएर पनि काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताए ।

कृषि, पशु, स्वास्थ्य र लेखा शाखामा प्रमुख भए पनि आठ वटा बढी शाखाको जिम्मा लिने कर्मचारी नहुँदा काम कसरी गर्ने भन्ने गाउँपालिकामा समस्या रहेको छ । उत्तरी सन्दकपुर गाउँपालिकामा समस्या उस्तै छ । सङ्घीय सरकारबाट २२ कर्मचारी समायोजन भएर आउनुपर्नेमा अहिले आठ जनाले गाउँपालिकाको काम धानिरहेका छन् ।

सबै वडामा वडा सचिव भए पनि प्राविधिक कर्मचारी र शाखा अनुसारको कर्मचारी नहुँदा योजना कार्यान्वयनमा समस्या रहेको गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताए । गाउँपालिकामा प्राविधिक कर्मचारी नहुँदा भौतिक पूर्वाधारको योजना कार्यान्वयन र अनुगमनको काम गर्न नसकिएको बताइएको छ ।

पहाडी क्षेत्रको ठूलो सूर्योदय नगपालिकाको मुख्य प्रशासनिक भवनमा ३९ कर्मचारी आवश्यक छ तर अहिले १५ ले काम गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताए । आवश्यक कर्मचारी नहुँदा काम गर्न समस्या देखिएको छ नगरप्रमुख राईले भने, “इलामका अन्य स्थानीय तहको तुलनामा कर्मचारी धेरै देखिए पनि ठूलो क्षेत्रफल भएकाले कर्मचारी अभावले पिरोलेको छ ।” १४ वडा रहेको नगरपालिकाको दुई वडा सचिव छैनन् भने प्रमुख प्रशासनिक कार्यालयका धेरै शाखाका प्रमुख नभएको प्रमुख राईले जानकारी दिए ।

उत्तरपूर्वी माइजोगमाई गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालय चार जनाले धानेका छन् । कूल २१ कर्मचारी दरबन्दी मुख्य प्रशासनिक कार्यालयमा भए पनि अहिले प्रमुख प्रशासकीय अधिकृत, लेखा, प्रशासन प्रमुख र एक प्राविधिक मात्रै छन् । गाउँपालिकाको छ मध्ये चार वडामा मात्रै सचिव छन् । मुख्य प्रशासनिक कार्यालयका शाखा रित्तै रहेको प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतले बताए । केन्द्र र वडा गरी २९ कर्मचारीको दरबन्दी भए पनि अहिले ११ मात्रै कार्यरत हुँदा काम गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए ।

इलाम नगरपालिकाको समस्या उस्तै छ । नगरपालिकामा ४२ कर्मचारी आवश्यक भए पनि अहिले सङ्घीय सरकारबाट खटिएका सात मात्रै कमचारी छन् । पुरानो नगरपालिका भएकाले आन्तरिक स्रोतबाट राखिएका कर्मचारीले काम चलिरहेको प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले बताए ।

जिल्लाको पश्चिमी देउमाई नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय र वडा कार्यालय सञ्चालनमा ७० कर्मचारी आवश्यक पर्छ । तर अहिले २२ ले मात्रै काम गरिरहेको र आन्तरिक स्रोतबाट अत्यावश्यक कर्मचारी थप गरी काम गरिरहेको नगरप्रमुख सूर्य पोखरेलले बताए ।

इलाममा १० स्थानीय तह छन् । स्थानीय तह गठन भएपछि तत्कालित जिल्ला विकास समिति, जिल्लाका विषयगत कार्यालय र सङ्घ सरकारबाट कर्मचारी खटाएर काम सञ्चालन गरिएको थियो । निर्वाचनबाट जनप्रतिनिधि आएपछि पूर्णरुपमा स्थानीय तह सञ्चालनका कानून निर्माण भए पनि सेवा दिने कर्मचारी अभाव रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई बताउछन् । कर्मचारी कम भएर काम गर्न समस्या परेको गुनासो दिनैपिच्छे स्थानीय तहबाट आउने गरेको जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले बताए ।

स्थानीय तहबाट कर्मचारी चाँडो पठाउन पहल गर्नुपर्यो भनेर माग आउने क्रम बढेको जिल्ला समन्वय समितिका प्रमुख बरालले बताए । “हामीले गुनासा सङ्घको सरकारसँग पु¥याउने गरेको र त्यहाँबाट माघ १५ सम्म कर्मचारी व्यवस्थापन गरिसक्ने आश्वासन पाएका छौँ,” उनले भने । रासस

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार ००:००