१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मञ्जुश्रीको मूर्तिले कीर्तिपुरको शोभा बढायो



नारायण ढुङ्गाना
मङ्सिर २५, काठमाडौं ।

कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले यहाँको शोभा बढाएको छ । ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण पर्यटकसमेत आकर्षित भएका छन् ।

निर्माण सम्पन्न नहुँदै मञ्जुश्री पार्कमा पुग्ने जो कोही उक्त प्रतिमा मूर्तिमा पुगेर सामूहिक तस्वीर खिचाउने र सेल्फीमा रमाउने गर्न थालेका छन् । “पार्कमा अन्तरिक पर्यटकको त भीड नै हुन्छ अझै प्रतिमाले थप आकर्षण बढाएको छ,” प्रतिमा निर्माण समितिक संयोजक सुजिन्द्र महर्जन भन्छन्, “अब थप पर्यटक बढ्ने विश्वास लिएका छौँ ।”

चोभार आफैँमा पर्यटकीय क्षेत्र हो । राजधानी काठमाडौंको केन्द्रबाट करीब सात किलोमिटर दक्षिण पश्चिम कीर्तिपुर नगरपालिका–४ स्थित चोभारबाट वरिपरिको सुन्दर दृश्यसहित वागमती नदी पनि देख्न सकिन्छ । यहाँ जलविनायक र आदिनाथको मन्दिर पनि छ । धार्मिक र पर्यटकीय महत्वको अनुपम सङ्गम रहेको चोभारबाट मौसम सफा हुँदा विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत देखिन्छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक कर्ण महर्जन चोभार ऐतिहासिक र धार्मिक दृष्टिले अति नै महत्वको ठाउँ भएको बताउछन् । पहिले काठमाडौं उपत्यकामा दह थियो । चीनबाट तीर्थयात्रामा आएका मञ्जुश्रीले चन्द्रहङ्स खड्गले डाँडो काटेर पानी पठाएकाले काठमाडौं बस्नयोग्य भूमि भयो भन्ने कथा इतिहासमा उल्लेख भएकाले सोही कुरालाई अनुशरण मञ्जुश्रीको मूर्तिको स्थापनाले चोभारको महत्व बढाएको हो ।

जल विनायक सामुदायिक वन उपभोक्ता समूहको पहलमा स्थानीय समुदाय र भक्तजनको सहयोगमा बनाइएको उक्त प्रतिमाका लागि अहिलेसम्म दुई करोड खर्च भइसकेको र यो काम पूरा गर्न थप करीब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

तेह्र टुक्रा ढुङ्गा जोडेर खोकनाका कलाकार चन्द्रमान डङ्गोलले प्रतिमा बनाएका हुन् । दुईदेखि १३ टनसम्मको ढुङ्गालाई मूर्तिको आकारमा ढालिएको छ । ढुङ्गाको बीचमा प्वाल खोपेर रडसमेत राखिएको छ । यस कार्यका लागि आठ कालीगढले करीब छ वर्ष लगाइसेका छन् । तीन वर्षसम्म लगातार आफ्नै कार्यथलोमा ढुङ्गा कुँदेका र बाँकी काम चोभारमै गरिएको उनी बताउछन् ।

शिरको मुकुट सात चुच्चोको छ । पाँचवटा चुल्ठो हालिएको छ । दायाँ हातमाथि खड्ग, बायाँ प्राज्ञ पारमिता ९पुस्तक०, बोध्याङग्र मुद्रा ९ज्ञान० दिँदै गरेको दृष्य मूर्तिमा अङ्कित छ । शुद्धताको प्रतीक कमलको फूलमाथि रहेको प्रतिमा हेर्दा सुन्दर देखिन्छ ।

पारिश्रमिकका लागि वन समितिले खर्च नभएको बताएपछि डङ्गोलले आफ्नो लाग्ने पारिश्रमिक भने नलिने बताएका छन् । करीब ७०० वर्ष अघि बनेको बूढानीलकण्ठमा रहेको मूर्तिपछि यति ठूलो बनेको मूर्ति यही भएको जिकिर डङ्गोलको छ । जमीनदेखि ३३ फिट उचाइको यो मूर्तिको भागमात्रै २५ फिट छ ।

मूर्ति अनुमानित ६० टनको भएको जिकिर गर्ने उनी मूर्तिको आधारमा सिमेन्टको जडान भएकाले त्यसको आयु सकिएपछि मूर्तिको हालत के होला भन्ने चिन्तामा छन् । यसका लागि ल्याइएका धेरै ढुङ्गा विभिन्न अवरोधले फर्पिङमै अड्किएको छ ।

अनुहार निकाल्न सकस

फर्पिङको खार्पाको कोरा ढुङ्गा ३० टनसम्मको थियो । मञ्जुश्रीको अनुहार निकाल्न पनि ठूलै चुनौती बन्यो । “प्रस्तरकला हेर्नेमध्ये कसैले नेपाली शैलीको भयो भने, कसैले चिनियाँ शैलीको भयो भने । त्यो मिश्रित प्रतिक्रियाले ठिकै बनाइएछ भन्ने लाग्या छ, खुशी पनि छु ।” डङ्गोल भन्छन् । मन्जुश्रीको अनुहार निकाल्न मात्रै उनलाई दुई महीना लागेको थियो । उक्त प्रतिमा बनाउन उनले अग्रज रवीन्द्र ज्यापु, नरेन्द्रमान बज्राचार्य, सत्यमेहन जोशी लगायतसँग सल्लाह पनि लिएका थिए ।

महिला की पुरुष ?

निर्माण शुरु गर्दा उनमा एउटा अच्चम्मको प्रश्न उब्जियो । मञ्जुश्री पुरुष हो की महिला । पहिचान गर्न नै निकै समय लागेकाले कलाकार डङ्गोलले विभिन्न अग्रजसँग छलफल गरे । बुझ्दै जाँदा चीनबाट नेपाल आउने क्रममा वरदा र मोक्षदा साथमा आएको कथन रहेकाले मञ्जुश्री केटा नै हो भन्ने निश्चित गरेर पुरुषको आकृति बनाइएको उनी सुनाउछन् ।

अन्य प्रस्तर कला एउटै सेपमा बन्छ तर मञ्जुश्रीको मूर्तिमा विभिन्न अङ्ग र रङ छुट्टिने गरी फरकफरक प्रस्तरकला यहाँ देख्न पाइन्छ । यो कला उनले चीनमा गएर सिकेका हुन् । “त्यहाँ पढ्दा प्रस्तरकलामा कपडा, छाला, कपाल छुट्टियाइएकाले, मैले पनि किन गर्न नसक्ने भनेर नयाँ तरिकाले मूर्ति बनाएको हुँ ।”

धनकुटबाट यहाँ घुम्न आएका उपेन्द्र खनाल मञ्जुश्रीको मूर्ति यहाँको सबैभन्दा सुन्दर पक्ष रहेको भन्दै चोभारको पर्यटन विकासमा यसबाट ठूलो सहयोग पुग्ने बताउछन् । रासस

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलबार ००:००