१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एक नेपाली एक फलफूल’ अभियानमा २९ लाख बिरुवा रोपिए



 

शरद शर्मा
मंसिर १७ काठमाडौं

‘एक नेपाली एक फलफूल’ को बिरुवा रोपण अभियानअन्तर्गत करिबब २९ लाख फलफूलका बोटबिरुवा रोपिएका छन् ।

देशलाई फलफूलमा आत्मनिर्भर बनाउन सञ्चालन गरिएको अभियानमा गत जेठदेखि भदौसम्म सरकारले बिरुवा रोप्ने अभियान नै सञ्चालन गरेको थियो ।

उक्त अभियानका क्रममा २८ लाख ९० हजार ९१९ विभिन्न जातका फलफूल सहितका बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए । ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्ववातारण दिवसका अवसरमा गत जेठ २२ गते सिंहदरबारमा एभोकाडो र लिची रोपेर अभियानको शुरुआत गरेका थिए ।

अभियानका क्रममा सबभन्दा बढी कागती ५ लाख चार हजार ४९४ र कम भुइँकटहर पाँच वटा मात्र रोपिएका छन् । कागतीपछि अलैँची ४र लाख ६९ हजार १५०, सुन्तला ३ लाख ३९ हजार ८३८, आँप २ लाख ५९ हजार ३६५, लिची ८८ हजार ६३४ र अलैँची ४६ हजार ९१५ फलफूलका बिरुवा रोपिएका छन् ।

यस्तै अञ्जिर ३५, खुरपानी ८६८, आरुबखडा ९७२ र जापानी कटुस एक हजार २८० रोपिएका छन् । रोपिएकामध्ये अन्य फलफूल ३ लाख ५४ हजार ९३२ र विभिन्न बिरुवा पाँच लाख ७४ हजार १८० रहेका छन् । सबभन्दा बढी गण्डकी प्रदेशमा ९ लाख ४३ हजार १३७, प्रदेश नं ५ मा ६ लाख ५८ हजार ८४३, प्रदेश नं ३ मा तीन लाख ६७ हजार ६८७ फलफूल र कर्णाली प्रदेशमा तीन लाख ३६ हजार ५७४ बिरुवा रोपिएका छन् ।

यस्तै सबभन्दा कम प्रदेश नं २ मा एक लाख ७१ हजार १९६, प्रदेश नं ७ मा दुई लाख तीन हजार २६६ र प्रदेश नं १ मा दुई लाख १० हजार २२९ बिरुवा रोपिएका छन् । अभियानअन्तर्गत नेपाली सेनाले ४१ हजार ७८१, नेपाल प्रहरीले ३४ हजार १०३, सशस्त्र प्रहरी बलले २४ हजार ७३७ र बंैक वित्तीय संस्था एवम् सार्वजनिक संस्थानले २५ हजार ४०० बिरुवा रोपेका छन् ।

मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत झवीन्दप्रसाद पाण्डेयले सबभन्दा धेरै बिरुवा रोप्ने लमजुङ जिल्ला उत्कृष्ट भएको बताए । उनका अनुसार लमजुङमा ४ लाख ९ हजार ९१६ बिरुवा रोपेको छ । लमजुङपछि रोल्पामा २ लाख १३ हजार ५१५, पर्वतमा १ लाख ७० हजार ९७२, कास्कीमा १ लाख ३२ हजार ८५ र उदयपुरमा १ लाख आठ हजार ४४६ बिरुवा रोपिएका छन् । बैतडीमा सबभन्दा कम १८० वटा मात्र फलफूलको बिरुवा रोपिएका छन् ।

यसैगरि सल्यानले ३ सय १५ वटा मात्र बिरुवा रोपेको छ । मन्त्रिपरिषद् कार्यालयले उत्कृष्ट बिरुवा रोप्ने पाँच जिल्लालाई पुरस्कृतसमेत गर्ने भएको छ ।

स्थानीय तहतर्फ उत्कृष्ट हुनेमा गाउँपालिकामा कास्कीस्थित अन्नपूर्ण गाउँपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेका छन् । अन्नपूर्ण गाउँपालिकाले ६३ हजार ९५० बोटबिरुवा, तिलोत्तमा नगरपालिकाले २७ हजार ७०० बिरुवा रोपेका छन् । तिलोत्तमा नगरपालिकाले नगरभित्रका जन्मिएका मानिसलाई जन्मदिनका अवसरमा बोटबिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ ।

स्याङ्जाको कालीगण्डकी नगरपालिकाले आफ्नो नगरलाई कागतीमय बनाउने अभियानमा लागेको शाखा अधिकृत पाण्डेयले बताए । कालीगण्डकीले २० हजार कागतीका बिरुवा रोपेको छ ।

रोपिएका बिरुवाको संरक्षण कृषि विकास मन्त्रालय, वन तथा वातारण मन्त्रालय र सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिइएको उनले बताए ।

मन्त्रिपरिषद्को कार्यालयले हिउँद महीनामा रोपिएका बिरुवाको विवरण वैशाखमा पठाउन निर्देशन दिएको छ । अभियानअन्तर्गत अहिले हिउँद महीनामा हुने फलफूलका बिरुवा रोपिरहेका छन् । सरकारले तीन वर्षभित्रमा फलफूलमा आत्मनिर्भर बनाउने अभियानका साथ ‘एक नेपाली एक फलफूल’ अभियान सञ्चालन गरेको हो । रासस

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार ००:००