२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारीबाट सक्षम बन्दै घोराहीका महिला



 

रीता लामा 

मंसिर १, घोराही

कुनै समय सहकारीमा आबद्ध भएर दैनिक २० रुपैयाँ बचत सुरू गरेका महिलासँग अहिले करीब दुई करोड रुपैयाँको पूँजी छ भन्दा पत्याउन मुश्किल पर्ला ! तर घोराही–१८ गिठेपानीमा रहेको एकता महिला विकास बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था अहिले आर्थिक रूपमा सम्पन्न भइसकेको छ ।

सहकारीले ठूलो मात्रामा आर्थिक कारोबार गरिरहेको छ । ०५४÷०५५ सालतिर रुखमुनि बसेर सुरु गरिएको बचत सहकारीसँग अहिले आफ्नै तीन पक्की घरका साथै बेसार उद्योग पनि छ । सुरूमा २० रुपैयाँ पनि जम्मा गर्न धौ–धौ हुने महिलाले अहिले मासिक ५०० देखि २ हजार रुपैयाँसम्म नियमित बचत गर्ने भइसकेका छन् ।

गाउँका ६० महिलालाई जम्मा पारेर सुरू गरिएको सहकारीमा अहिले करीब ५०० को हाराहारीमा सदस्य पुगेको संस्थाकी अध्यक्ष यशोदा पाण्डेले बताईन् । आफूहरूले सहकारीमा जम्मा गरेको पूँजी कृषि, पशुपालन, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्यमा लगानी गरिरहेको उनले बताइन् ।

“शुरुमा बचत गर्न सिकाउन महिला विकासबाट कर्मचारी आउँदा हामी ढोका थुनेर लुक्थ्यौँ तर अहिले हरेक ठाउँमा पुगेर आफ्नो प्रष्ट विचार राख्ने भइसकेका छाँै,” पाण्डेले भनिन् ।

सहकारीले महिलाको आर्थिक पाटो मात्र नभई सीप, क्षमता र चेतना विस्तार पनि गरेको उनको दाबी छ । घोराहीको विकट क्षेत्र मानिने वडा नं १८ का करीब २ सय महिला आवद्ध सहकारीले बेसार उद्योग पनि सञ्चालन गरेको छ ।

बेसार रोप्नेदेखि बजारमा पु¥याउनेसम्म सहकारीमा आबद्ध महिला आफैँले गरिरहेका छन् । यहाँबाट उत्पादन हुने बेसार अहिले दाङ, पोखरा, काठमाडाँैको बजारमा पनि पुगिरहेको छ । बेसार कर्मचारी, चिकित्सक, ठूला होटलमा माग हुने गरेको उक्त सहकारीले जनाएको छ ।

सुरूमा ४८ महिलाले १ सय रुपैयाँको शेयर र २५ रुपैयाँ बचत गरेर सुरूआत गरेका अर्को सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थासँग अहिले ७५ लाख रुपैयाँ छ । उक्त सहकारीकी अध्यक्ष हुमा डिसीका अनुसार अहिले सहकारीमा २२ लाख रुपैयाँ त शेयर मात्रै पुगेको छ । सहकारी संस्थाले मासिक, दैनिक, ऐच्छिक र बाल बचत पनि सञ्चालन गरिरहेको छ ।

अध्यक्ष डिसीका अनुसार बचत मात्र होइन, सहकारीले महिलाका आयआर्जनमा लगानी पनि गरेको छ । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले गरिएको लगानीबाट सहकारीमा आबद्ध महिला प्राय आत्मनिर्भर बनिसकेका छन् ।

“हाम्रो सहकारीबाट ऋण लिएर व्यवसाय शुरु गरेका महिला अहिले सक्षम भइसकेका छन्,” डिसी भन्छिनन्, “तरकारीखेती, पशुपालन र व्यापार गर्ने महिला धेरै छन् । सडकमा व्यापार गरेर बस्नेहरू सटरमा आइसकेका छन् ।”

सहकारी संस्थाले गरेका राम्रो गतिविधिको आधारमा अहिले सहकारीलाई सरकारी निकायले विश्वास गरेर सेवा केन्द्र सञ्चालन गर्न दिएको छ ।

घोराही १० नारायणपुरमा रहेको सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था पनि एउटा सक्षम महिला सहकारीको रूपमा चिनिन्छ । उक्त सहकारीमा अहिले करीब ५५ लाख रुपैयाँ छ भने ६० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति छ ।

सहकारी संस्थाले गाउँका करीब ६ सय ५० महिलालाई सहकारीमा आबद्ध गरेको छ । सहकारीकी अध्यक्ष मञ्जु न्यौपानेले सहकारीको लगानीबाट धेरै महिला बाख्रापालन, च्याउ उत्पादन, सिलाइकटाइ र अन्य व्यापार व्यवसाय गर्ने भइसकेका छन् ।

सहकारी संस्थाले हिंसामा परेकालाई आश्रय दिने उद्देश्यले महिला विकासको सहयोगमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । त्यस्तै महिलाका लागि चेतनामूलक कार्यक्रम, सीपमूलक र क्षमता अभिवृद्धिका कार्यक्रम आफूले सञ्चालन गरिरहेको केसीले बताईन् । अब सहकारीको कारोबारलाई कम्प्युटर प्रणालीमा लैजाने तयारी गरिरहेको केसीले बताइन् ।

जिल्लाको घोराही क्षेत्रमा मात्रै अहिले ११ महिला सहकारीले सयौँ महिलालाई एकताबद्ध गरेर करोडौंको कारोबार गरिरहेको घोराही उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोती विश्वकर्माले जानकारी दिइन् ।

घोराहीकै सैघा, सौडियार, लक्ष्मीपुर, रामपुर, धर्नालगायत स्थानमा रहेका महिला सहकारी संस्थाले आयआर्जन, सीपमूलक र चेतनामूलकजस्ता काममा अग्रसर रहेको विश्वकर्माले बताइन् । रासस

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार ००:००