१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङ नगरपालिकाः व्यावसायिक फलफूल खेतीलाई प्राथमिकता



 

तारानाथ आचार्य
मङ्सिर १३, बलेवा ।

फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले व्यावसायिक फलफूल खेती प्रवर्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले आर्थिक विकास अन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूल खेतीलाई प्राथमिकतामा राखेको हो ।

नगरका अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवर्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताए ।

किसानलाई प्रोत्साहन गरी फलफूलको उत्पादन बढाउन नगरपालिकाले चासो देखाएको हो । नगरपालिकाका १४ वडामध्ये अधिकांश वडामा सुन्तला, मेवा, लिच्ची लगायतका फलफूल खेतीको सम्भावना रहेकाले त्यसको व्यावसायिक उत्पादनमा जोड दिन कार्यक्रम ल्याइएको कुँवरले बताए ।

यो आर्थिक वर्षमा व्यावसायिक फलफूल खेती प्रवर्धन तथा विकास कार्यक्रमका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । “उत्पादनमार्फत समृद्धिको बाटो खोजिएको हो, जसका लागि फलफूल खेती महत्वपूर्ण बन्न सक्छ”, कुँवरले भने, “केन्द्र सरकारले लिएको आर्थिक समृद्धिको कार्यक्रमलाई सघाउने यो हाम्रो सानो प्रयास हो ।”

उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराउने गरी बजेटको व्यवस्थापन गरेर कार्यक्रम ल्याइएको नगर प्रमुख जनकराज पौडेलले बताए । बागवानी विकास कार्यक्रम अन्तर्गत सुन्तला, कागती, आँप, लिच्ची र मेवाका बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन थप ८ लाख बजेट व्यवस्था गरिएको छ ।

किसानलाई तरकारी तथा फलफूल खेतीमा आकर्षित गरी उत्पादनमुखी बनाउन अनुदानमा बिरुवा वितरणको कार्यक्रम तय गरिएको पौडेलले जानकारी दिए । “सामान्य घरायसी प्रयोजनका लागि मात्रै हामीकहाँ फलफूल खेती हुने गरेको छ” पौडेलले भने, “व्यावसायिक उत्पादन गरेर अर्थोपार्जन हुने गरी कार्यक्रम ल्याइएको हो ।”

कार्यक्रममा किसानलाई सहभागी बनाउन आर्थिक विकास समितिले योजना बनाउने छ । समितिले बनाएको योजनाका आधारमा समूह वा व्यक्तिलाई अनुदान उपलब्ध गराउने विषयमा निर्णय गरिने नगरपालिकाले जनाएको छ । फलफूल खेतीका लागि आवश्यक जैविक मलका लागिसमेत नगरपालिकाले सघाउने योजना बनाएको छ ।

जैविक मलको उत्पादन, सीप विकास र प्रवर्धनका लागि छ लाख बजेटको व्यवस्था गरिएको छ । कृषि तथा बागवानी विकास कार्यक्रममा ५५ लाख ५० हजार खर्च गर्ने नगरपालिकाले झण्डै २४ लाख फलफूल खेतीमा खर्चने छ ।

विभिन्न शीर्षक दिएर फलफूल खेतीको सुधार विस्तार र बजारीकरणका लागि प्राथमिकतामा राखिएको हो । बागलुङ बजारमा बिक्री वितरण हुने फलफूल सबै आयात हुने भएकाले यहाँ उत्पादन हुने फलफूलको बजारीकरणमा समस्या नरहेको कुँवरले बताए । किसानले व्यावसायिक रूपमा फलफूलको उत्पादन गर्नसके बागलुङ बजारमा बिक्री गर्न सकिने उनको विश्वास छ ।
रासस

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार ००:००