Logo

नेपालमा पर्यटन क्षेत्रको अवस्था, समस्या र सम्भावना



रसुवाको क्याञ्जिन गुम्बा । तस्बिरः लेखक

पर्यटन क्षेत्रलाई विश्वका धेरैजसो देशहरूमा आर्थिक विकासको मेरुदण्ड मानिन्छ । किनकी ती देशहरूको आर्थिक उन्नतिमा पर्यटन क्षेत्रले ठूलो योगदान पुर्याएको छ ।

धेरै देशमा विभिन्न खाले पर्यटनका फरक–फरक आयामहरूको विकास, संरक्षण र प्रबर्द्धन भएको पाइन्छ । त्यसैको माध्यमबाट उनीहरूले पर्याप्त मात्रामा विदेशी मुद्रा आर्जन गरेर आर्थिक विकासमा ठूलो फड्को मारेका छन् ।

अरू देशहरूको आम्दानीमा पर्यटन क्षेत्रले ठूलो योगदान दिइरहँदा नेपालको भने बार्षिक आम्दानीमा ३ प्रतिशत हाराहारी मात्रै पर्यटन क्षेत्रको योगदान छ । पर्यटन क्षेत्र यसरी कमजोर हुनुमा हामी सबै कतै न कतै चुकेका छौँ ।

नेपालजस्तो अथाह पर्यटकीय स्रोत साधन भएको देशको बार्षिक आम्दानीमा पर्यटन क्षेत्रको योगदान कम्तिमा १० प्रतिशत हुनुपर्ने हो । राज्यको स्पष्ट र परिपक्व भिजनको कमी त छँदैछ, यसमा अहिलेसम्मको समग्र भिजन, चिन्तन, बुझाई, सोचाइ पनि उत्तिकै जिम्मेवार छ ।

विश्वका धेरै देशहरूमा आफ्नैखाले फरक प्राकृतिक र सांस्कृतिक सम्पदा छन् । त्यसको भरपूर मार्केटिङ गरेर उनीहरूले बर्षेनी लाखौं बिदेशी पर्यटक भित्र्याएका उदाहरणहरू छन् । यसको ज्वलन्त उदाहरण थाइल्यान्ड, इन्डोनेसिया, माल्दिभ्स र दक्षिण अफ्रिकालाई लिन सकिन्छ ।

यसैगरी केही देशहरूले कृतिम भौतिक संरचना निर्माण गरेरसमेत बर्षेनी ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याएको पाइन्छ । खासमा पर्यटकीय आँखाले हेर्दा पर्यटकीय प्रडक्ट भनेको यो, यो वा यस्तै, यस्तै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । यसलाई कुनै मापदण्डको कसिमा राखेर जाेख्न पनि मिल्दैन ।

पर्यटनमा अरू ठाउँको भन्दा फरकपन (युनिकनेस) हुने बित्तिकै त्यो स्वभाबिक रुपमा नयाँ प्रडक्ट भइहाल्छ । त्यस्तो उत्पादन प्रचारप्रसार हुन पनि खासै समय लाग्दैन । हामीकहाँ यस्ता बिबिधता भएका मनै लोभ्याउने चिजहरू अनगिन्ती छन् ।

प्राकृतिक र सांस्कृतिक दृस्टिकोणले हामी धेरै सम्पन्न छौँ । प्राकृतिक हिसाबले हामी विश्वमै सम्पन्न मध्येमा पर्छौं । मूल कुराचाँही हामीकहाँ भएका चिजलाई कसरी अरुसामु पुर्याउने र आकर्षक ढंगले कसरी पस्किने भन्ने मात्र हो ।

यसका लागि अरुभन्दा पृथकखाले भिजन चाहिन्छ, जुन दिगो पर्यटन विकासको जगमा टेकेको होस् । पृथक होस्, अनि अरूभन्दा क्रियटिभ पनि होस् । स्थानीयलाई रोजगारलगायत धेरै कुरामा जोड्न सकियोस् । सकेसम्म स्थानीय जनता, उनीहरुको जिवनशैली, स्थानीय संघ सँस्थाहरूसँग बढीसे बढी समन्वय गरेको होस् ।

यति भएमा कुनैपनि खाले नयाँ प्रडक्ट मज्जाले बिक्छ र पुस्तौंसम्म बिकिरहने सम्भवाना हुन्छ । तर यस्ता दीर्घकालसम्म बिकाउ भइराख्ने प्रडक्ट तयार पार्न केही समय लाग्न सक्छ । सबै ठाउँ अप्रत्याशित रुपमा तनहुँको मानहुकोट र काभ्रेको तीनधारेजस्तै रातारात हिट वा भाइरल हुन्छन् भन्ने छैन ।

हिट हुनु मात्रै ठुलो कुरो होइन, अहिलेको स्मार्ट जमानामा । त्योभन्दा पनि ठूलो कुरा, त्यो अवसरलाई समातेर कसरी अघि बढ्छ ? त्यसबाट धेरैभन्दा धेरै लाभ कसरी लिन सकिन्छ ? स्थानीयबासीलाई कसरी जोड्छ ? भविष्यको योजना कस्तो छ ? भन्ने कुराहरू महत्वपूर्ण हुन्छ । यी कुराहरू प्रष्ट हुनु पर्छ । किनकी यी कुराहरूले भोलीको गन्तव्य र त्यसको दूरी समेत तय गर्छ ।

पर्यटनका प्रकार

पर्यटनलाई सामान्य आँखाले हेर्दा ‘केही पनि होइन’ वा ‘निकै सामान्य चिज हो’ भन्ने जो कसैलाई लाग्नु स्वभाविक हो । तर यसलाई अलि गहन रुपमा फराकिलो दृष्टीकोणबाट हेर्यौँ भने पर्यटनको दायरा एकदमै फराकिलो र एकदमै बिहङ्गम छ ।

यसका विभिन्न पाटा वा आयामहरू छन् । यो अझै बिस्तार र बिस्तृत हुनेक्रम जारी छ । जस्तैः आन्तरिक र बाह्य पर्यटन । लक्जरी पर्यटन र बजेट पर्यटन । सजिलो र साहसिक पर्यटन । सांस्कृतिक र धार्मिक/आध्यात्मिक पर्यटन । स्वास्थ्य र खेल पर्यटन । माइस (बैठक, गोष्टि, सेमिनार) टुरिजम, कृषि पर्यटन, भोल्युन्टर पर्यटन । आदि इत्यादी ।

पर्यटन विविधतायुक्त क्षेत्र हो । यसका अनेकखाले हाँगाबिँगा पनि छन् । जस्तैः खेल पर्यटनअन्तर्गत साईक्लिङ, र्याफ्टिङ, क्यान्योनिङ, बन्जि जन्पिङ, प्याराग्लाइडिङ, स्किजस्ता धेरै बिधा छन् । पछिल्ला दिनहरूमा हामीकहाँ पनि यी धेरैजसोलाई पर्यटकीय प्रडक्टको रूपमा लिने ट्रेण्ड सुरू भैसकेको छ ।

पर्यटन क्षेत्रमा यति धेरै बिकल्प हुँदा पनि हाम्रो देशको सन्दर्भमा भने प्रमुख हिस्सा पर्वतीय पर्यटनले ओगटेको छ । प्रमुख हिस्सा हो । किनकी नेपाल घुम्न आउने अधिकांश पर्यटक नेपालका सुन्दर हिमश्रीङ्खलाहरू हेर्नका लागि आतुर भएर यहाँ आउँछन् ।

पर्वतीय पर्यटन

शब्दबाटै बुझिन्छ कि, यो हिमालबिना सम्भव छैन । काठमाण्डौंलाई मन्दिरै मन्दिरको शहर भनेजस्तै हाम्रो देश नेपाल हिमालै हिमालको देश हो । विश्वका चौधवटा ठूला ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये ८ वटा हिमाल त नेपालमै छन् ।

त्यसमा पनि बढी अग्लाहरु धेरैजसो हामीकहाँ छन् । अझ गर्वको कुराचाँही सबैभन्दा अग्लो हिमाल सगरमाथा नै नेपालमा छ । हामीकहाँ अझै अनुसन्धान र खोजी हुन बाँकी हिमालहरू कति होलान् ?

यसरी नैं गर्व गर्नलायक धेरै चिज नेपालमा छन् । सयौँ साना ठूला अन्य पिक (साना हिमाल) छन् । जहाँ बर्षेनी लाखौं पर्यटक घुम्न र आरोहण गर्न आउँछन् । हिमालका तल्ला भेगहरूमा सुन्दर पदयात्रा मार्ग प्रशस्त छन् । जुन पुर्वदेखी पश्चिमसम्म विभिन्न जिल्लामा फैलिएर रहेका छन् । एउटै पदयात्रा रुटमा पनि धेरै बैकल्पिक रुटहरू छन् ।

अग्ला हिमालसम्म जान नसक्नेहरु छोटो र कम उचाईका ठाउँहरुमा घुम्ने गर्छन् । यसलाई पदयात्रा वा ट्रेकिङ भनिन्छ । यसबाट पनि धेरै नेपालीले रोजगारी पाएका छन् । स्थानीय होटेल र ब्यवसायीहरूले धेरथोर ब्यापार गर्न पाएका छन् । भिसा र पदयात्रा अनुमती शिर्षकबाट राज्यलाई पनि प्रत्यक्षरुपमा विदेशी मुद्रा प्राप्त भइहेकाे छ ।

एक अध्ययनअनुसार एकजना विदेशी पर्यटक पदयात्राको लागि नेपाल आउँदा ११ देखि १३ जनासम्मले रोजगारी पाउँछन् । झट्ट सुन्दा यो अपत्यारिलो लाग्छ, तर गहन रुपमा बुझ्ने हो भने यो यर्थाथ हो ।

पछिल्लो तथ्यांकअनुसार पर्वतीय पर्यटनलाई आफ्नो पेशा बनाएका व्यवसायीहरूको संख्यामात्रै करीब १८ सय जति छन् । उनीहरुसँङ्ग आबद्द मजदूरहरु गाइड, सहयोगी गाइड, आरोही, कूक, पोर्टर गाइड र अफिसियल स्टाफको संख्या पचासौँ हजारको संख्यामा छन् भन्न हिच्किचाउनु पर्दैन ।

तर एउटा अनौंठो कुरा ! अहिलेसम्म नेपालको पर्यटन प्रर्बद्धन गर्न विदेशमा जति पनि कार्यक्रम भएका छन्, धेरैजसो कार्यक्रम व्यक्तिगत र नीजि क्षेत्रको आफ्नै ‘इर्फोट’मा भएको छ भन्दा अन्यथा नहोला !

सरकारी स्तरबाट केही पनि प्रयास नभएको होइन । केही कोशिस पनि अवश्य भएका छन् । अझै कोशिश गरिरहेका पनि होलान् । तर सरकरी पहल, कोशिस र काम गर्ने शैली आँखा नदेख्ने मान्छेले हात्ती छामेजस्तो मात्रै भैरहेको छ ।

हुन पनि हाम्रो देशमा पर्यटन क्षेत्रलाई सरकारले कहिल्यै प्राथमिकतामा राखेन । नयाँ सरकार गठन गर्दा होस् वा मन्त्री हेरफेर हुँदा होस्, पर्यटन मन्त्रालय कम रोजाईमा पर्ने गर्छ । किनकी यसको गरिमा र महत्वलाई कसैले बुझेकै छैनन् ।

पर्यटनको सामान्य नीतिगत र व्यवहारिक कुरा बुझ्न ६ महिना, बर्ष दिन लाग्न सक्छ । कुरा राम्ररी बुझ्न नपाउँदै मन्त्री फेरिइसकेको हुन्छ । कुरा बुझेकै भए पनि स्वार्थ समुह र कर्मचारीतन्त्रले मन्त्रीलाई गुमराहमा राख्ने गरिन्छ ।

अर्को कुरा, अहिलेसम्म पर्यटन क्षेत्र बुझेको मान्छे मन्त्री भएका छन् जस्तो लाग्दैन । धेरैजसो मन्त्रीले आफ्नो टिम बनाउँदा पनि पर्यटन क्षेत्र बुझ्ने र बिज्ञहरू सामेल गरेको पनि पाइँदैन ।

व्यक्तिगत कुरा त गर्दिँन, तर केही समयअघि म आफैं संलग्न भएर पर्यटनसँग सम्बन्धित सुझाव पत्र बुझाउन मन्त्रालय जाँदा त्यो बेलाको मन्त्रीज्यूको पर्यटनप्रतिको समग्र बुझाइ देखेर चित खाएको थिएँ । किनकी उहाँले पनि अरु सामान्य मान्छेले सोचेझैं निकै सामान्य र सतही तरिकाले पर्यटनलाई सोच्नुभएको रहेछ ।

उहाँ अझ अहिलेको समकालीन राजनितिको सीनमा देखिएका नेताहरूमध्ये उर्जावान् नेता भनेर चिनिन्छ । त्यसदिन त्यहाँबाट फर्केपछि मलाई लाग्यो कि यो देशमा तत्काल केही हुन्न । यहाँको राजनीति अझै केहीदशक यस्तै रहनेछ । किनकि नेतृत्व भन्ने चिज रातारात तयार हुने होइन । अहिले भएका दोस्रो, तेस्रो पुस्तासम्ममा खासै आशावादी हुने अवस्था छैन ।

हाम्रो अवस्था

खासमा सरकारले पर्यटन क्षेत्रमा प्रबल संभावनाका क्षेत्रहरू बारे अध्ययन अनुसन्धान गरेर त्यसलाई प्रभावकारी ढंगले प्रचारप्रसार गर्नुपथ्र्यो । नयाँको अन्वेषणसँङ्गै पुराना गन्तव्यहरूको संरक्षण र सम्बर्द्धन पनि गर्नुपर्ने हो ।

तर सिमित ब्यक्ति र पहुँचवाला ब्यवसायीको स्वार्थमा मात्रै बिदेशमा मेला, प्रदर्शनी, प्रचारप्रसार भइरहेका छन् । नेपालभित्रै भइरहेका यस्ता कामहरूमा कतै न कतैबाट पहुँचवाला व्यवसायी र सिमित व्यक्तिको स्वार्थ जोडिएको देखिन्छ ।

सरकारको तहबाट जे हुनुपर्ने हो, त्यो भइरहेको छैन । जे आवश्यक छैन त्यो, सबै भैरहेको छ । एउटा सुनेको कुरा ! केही बर्षअघि चीनमा एक पर्यटन प्रदर्शनी मेला भएको थियो । त्यो एकहप्ताको थियो, खासमा । तर त्यहाँ सरकारी स्तरबाट नेपालको पहिलो दिनमात्रै स्टल देखियो रे ! किनकि दोस्रो दिनबाट स्टलको लागि तोकिएको टेबल नैं खाली गरेर सरकारले पठाएका कर्मचारीहरु कताकता घुम्न निस्के रे भन्ने सुनियो ।

यो कुरा नेपाल पर्खेपछि केही निजि क्षेत्रका व्यवसायीले आफ्ना नजिकका साथीहरूलाई सुनाए पछि मैले थाह पाएको थिएँ । यो कुरा सुनेर एकदमै मन पोल्यो । किनकी हामीजस्ता साना ब्यवसायीहरूले एकजना विदेशीलाई नेपाल भित्र्याउन कति पापड बेल्नुपर्छ, त्यो भोग्नेलाई मात्रै थाहा छ । यो एउटा सानो उदाहरणमात्र हो ।

यति गैरजिम्मेवार पूर्वक काम गर्छन् कि भनिसाध्य छैन । मुख्य समस्या हाम्रो चिन्तनमै छ । जागिर खानु भनेको पैसा कमाउनका लागी हो भन्ने चिन्तन नै गलत हो । जागिर खानु सेवा गर्नु पनि हो भन्ने चिन्तनको विकास हुनुपर्थ्याे ।

विकासको मामिलामा अन्य देशहरू धेरै रचनात्मक तरिकाले अगाडी बढिरहेको सन्दर्भमा हामी भने झारा टार्ने तरिकाले काम गरिरहेका छौँ । यही पाराले हाम्रो पर्यटनको भबिष्य कता पुगिएला ? आशा गर्ने ठाउँ एकदमै कम छ । तै पनि आशा गर्ने र सरोकारवालाले आवश्यक दबाब दिने काम जारी राख्नुपर्छ ।

अब सम्बन्धित सरकारी निकायहरूले पुनर्बिचार गर्नैपर्छ । सम्बन्धित सरोकारवालाहरू सबैसँग बृहत् अन्तकृया, छलफल गर्दै उनीहरूको जायज कुराहरु सुनेर काम गर्नसक्ने सरकार हामीले कहिले पाउने हो ? आशा छ, भोलिको कुनै दिन त्यो सम्भावनाको सुनौँलो ढोका बनेर आउनेछ ।

लेखक बिगत एक दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्