Logo

महामारीले पर्यटन क्षेत्रमा पारेको असर र व्यवस्थापनको सवाल



कोरोना महामारीले विश्वव्यापी रुपमा जनस्वास्थ्यलाई जसरी चुनौति दिइहेको छ, त्यसरी नै सबैखाले पेसा व्यवसायलाई धेरथोर नराम्रो असर पुर्याइरहेको छ । यही सन्दर्भमा सबैभन्दा धेरै नराम्रो असर भोगिरहेको पर्यटन क्षेत्रबारे चर्चा गरौँ ।

मान्छेको आवतजावत पर्यटन क्षेत्रको प्राण हो । कोरोना महामारी रोक्न गरिएका प्रयासले मान्छेको अवतजावतलाई रोकिदियो । मान्छेको आवतजावत ठप्प भए पछि पर्यटन उद्योग प्राण गएजस्तै भएको छ ।

पर्यटन गतिविधी शून्यजस्तै भएको करिब डेढबर्ष भइसक्यो । खासमा पर्यटन क्षेत्रको पेसा व्यवसाय ‘सिजनल’ हुन्छ । बर्षमा प्राःय दुई सिजनमात्रै काम हुन्छ । सामान्यतया एक सिजनमा दुईदेखी तीन महिना धेरै काम हुने गर्छ ।

नेपालमा अङ्ग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बरदेखि नोभेम्बरसम्म र मार्चदेखि मेसम्म बिदेशी पर्यटकको चाप बढी हुन्छ । सामान्य तरिकाले बुझ्दा बर्षको अधिकतम छ महिना पर्यटकीय गतिबिधी धेरै हुन्छ । अरू बेला काम भए पनि थोरै हुन्छ ।

गत बर्ष कोभिड सुरू हुनुअघि जाडोयामको अफ सिजन थियो । मार्चको पहिलो हप्ताबाट सिजन सुरु हुनै लाग्दा लकडाउन सुरू भयो । जसका कारण हामीजस्ता पर्यटन पेसा व्यवसायमा आश्रितहरूले आफ्नो रोजिरोटी गुमाउनु पर्यो । यो क्रम डेढ बर्षदेखि जारी छ । यो मार अझै कति खेप्नु पर्छ, अनिश्चित छ ।

यो डेढ बर्ष यति सकसपूर्ण रह्यो कि, कतिपय व्यवसायी पर्यटन क्षेत्रबाटै पलायन भइसकेका छन् । कतिपय व्यवसायी ‘अब के गर्ने ?’ भन्ने अन्योलमा छन् । पलायन नभएकाहरू पनि ‘कसरी टिक्ने ?’ भन्ने चिन्तामा छन् । त्यसैले पर्यटन क्षेत्र सामान्य हुने कल्पना गर्न सकिरहेको छैनौँ ।

ब्यवसायीहरूको यस्तो दुर्गति छ भने पर्यटन क्षेत्रमा अश्रित मजदुरहरूको हालत कस्तो होला ? कल्पना गर्दा पनि नरमाइलो लाग्छ । तर आशावादी हुनुको बिकल्प पनि छैन ।

पछिल्लो तथ्यांकअनुसार ट्रेकिङ गाइडको संख्या १७ हजार भएपनि निरन्तर काम गर्नेहरू करिब १३ हजार छन् । त्यसैगरी टूर गाइडको संख्या करिब ५ हजार जति छन् । यसमा पनि निरन्तर काम गर्नेहरू करिब १५ सय जति होलान् ! हिमाल आरोहीको संख्या २ हजार जति छन् ।

पदयात्राका सहयोगी मजदुरहरूको संख्या एकिन नभए पनि करिब २० देखि २२ हजार जति हुन सक्ने अनुमान छ । सामान्य हिसाबले हेर्दा ४० देखि ४५ हजार जति व्यवसायी र मजदुर पर्वतीय पर्यटनमा आश्रित छन् भन्न सकिन्छ ।

पर्यटकीय नगरी पोखराको लेकसाइड र ठमेल क्षेत्रका पसल र अफिसहरू अरूभन्दा धेरै मारमा परेका छन् । किनकी उनीहरूले महिनाकै लाखौँ भाडा तिरेर बसेका थिए । उनीहरू एक बर्षसम्म केही होला कि भन्दै भाडा तिरेर बसे । तर यो संकट रोकिने छाँट नदेखिए पछि बाँकी व्यवसायीहरू पनि पलायन भइरहेका छन् ।

केही महिना अघिबाट ठमेलका धेरैजसो ठाउँमा ५० प्रतिशत भाडा छुट पनि गरेको छ । तर अवस्था दिनदिनै बिकराल हुँदै गएको छ । अब त केही भन्न सक्ने अवस्था नै रहेन ।

घरबेटीहरूको पनि पीडा आफ्नै छ । सवैका पुराना घर होइनन् होला ! कोहीले भरखरै बैंकबाट ऋण लिएर घर बनाएका पनि होलान् ! ऋणको साँवा र ब्याज कसरी तिर्ने ? केही अत्तोपत्तो छैन ।

किनकी अब भाडामा बसेका सानाठूला सबै व्यवसायी पलायन हुनुपर्ने अवस्था आइसक्यो । भाडामा पचास प्रतिशत छुट गर्दा पनि बस्न र टिक्नसक्ने अवस्था रहेन । २५ प्रतिशतमै भाडा दिए पनि के गर्ने ? व्यापार व्यवसाय शून्य भएपछि टिक्ने आँट गर्न नसकिँदो रहेछ । कति दिन गोजीबाट झिकेर तिर्ने ?

ठमेल क्षेत्रमा रहेका होटेल, रेस्टुरेन्ट र बारको अवस्था त्यस्तै छ । सामान्य अवस्थामा पनि ठमेलको ९० प्रतिशत व्यापार बिदेशी पर्यटकमाथी निर्भर थियो । तर यहाँ आउने बिदेशीको संख्या शून्यमा झरेपछि उनीहरू पनि कठीन अवस्थाबाट गुज्रिरहेका छन् ।

पर्यटनका अरू क्षेत्रमा भन्दा धेरै लगानी भएको होटेल व्यवसायको अवस्था झन् कहाली लाग्दो छ । एकातिर ठूलो लगानी भइसकेको र अर्कोतिर ठूलो संख्यामा रहेका मजदूरलाई नियमित तलब दिनु पर्ने बाध्यता !

हुन त केही होटेलले क्वारेन्टिन बनाउने अवसर पाएका छन् । तर त्यो सबै होटलका लागी सम्भव छैन । बढीमा ५ प्रतिशतले क्वारेन्टिन सञ्चालनको मौका पाएका होलान् ! ।

पछिल्ला बर्षहरूमा होटल क्षेत्रमा उत्साहजनक लगानी भइरहेको थियो । कतिपय होटलहरू निर्माण हुँदाहुँदै कोरोना महामारीको चपेटामा परेका छन् । कुनै होटल बनिसक्यो, तर उद्घाटन गर्न पाएका छैनन् ।

बनिरहेका होटल पनि फिनिसिङ गर्ने कि त्यतिकै छाड्ने भन्ने अन्योलमा छन् । ठूला लगानीहरू ऋणमै हुन्छन् । पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्किने कुनै टुङ्गो छैन । यहि अवस्थामा हालत के होला ?

यति बिकराल अवस्थामा पनि हाम्रो राज्यको नीति निर्माण र सम्बन्धित निकायहरू कति गम्भीर छन् त ? भरखरै बजेटमा व्यवसायीको हितका केही कुरा आएको छ । तर यो पनि कार्यान्वयन कस्तो हुन्छ, हेर्न बाँकी छ ।

बजेटले पर्यटन मजदूरको बिषय छोएको छैन, यो दुःखको कुरा हो । भविष्यमा आउने थप बिकराल अवस्थाबारे राज्यको नीति निर्माण तह गम्भीर छैनन् भन्ने पुष्टी यसैले गर्छ ।

उता, पोखराको हालत उस्तै खराब छ । त्यहाँ निर्माणाधीन ठुला र स्टार होटेलहरूको अवस्था हालत के होला ? केही व्यवसायीले जसरी पुस्तौँलाई पुग्ने कमाएर चेन होटल खोलेका हुँदैनन् । नयाँ लगानीका होटलहरूको आर्थिक हैसियत र व्यवस्थापन क्षमता दशकौँदेखि चल्दै आएका केही होटल र रिर्सोटको जस्तो पनि हुँदैन ।

उता फेवाताल र वेगनास तालको किनारमा डुङ्गा चलाएर जिबिका चलाउने सयौँ मजदूर र उनीहरूको परिवारको हालत के होला ? सौराहातिर उस्तै समस्या होला ! माउते र नेचर गाइडहरूको भविष्यको नक्सा धुमिल छ ।

यसरी सूक्ष्म तरिकाले हेर्दा लाखौँ मान्छेको पेट पाल्ने र चुल्हो बाल्ने सवाल मात्रै होइन । कोभिड महामारी मानव सभ्यता माथिकै चुनौती बनेको छ ।

प्रशासनिक सवाल

नयाँ आर्थिक बर्ष सुरू हुँदैछ । सरकारले व्यवसायीको केही मात्रामा कर, नवीकरण दस्तुर मिनाह गर्ने घोषणा गरेको छ । अब यसको कार्यान्वयन सजिलो छैन । किनकी हाम्रो गतबर्षको अनुभव निकै नमिठो छ । सबैजना समस्याको भुमरीमा परेका बेला सरकारले कर तिर्न उर्दी जारी गरेको बिर्सेका छैनौँ ।

आशा गरौँ ! यसपाली गत बर्षको जस्तो हुने छैन । बजेटले घोषणा गरेको सबै बिषय सहज तरिकाले लागू हुनेछन् । सकेसम्म व्यवसायीमैत्री वातावरण सृजना हुनेछ । अन्यथा धेरै ब्यवसायीले हात उठाएर आत्मसर्मपण गर्नु पर्ने अवस्था आउन सक्छ ।

पछिल्लो समयमा पर्यटन पूर्वाधारमा उत्साहजनक लगानी भइरहेको छ । तर कोभिडको संकटले यी लगानीहरू धेरै जोखिममा छन् । किनकी यी संरचनाहरू लाखको होइन, करोडौं र अरबौँका छन् ।

उनीहरूका लागी पनि सरकारले सकेको सहुलियत दिनु पर्छ । किनकी व्यवसाय जोगिए, हजारौँ नागरिकको रोजिरोटी जोगिन्छ । त्यही व्यवसाय र रोजिरोटीबाट उठेको करले मुलुकको ढुकुटी भरिन्छ ।

एकजना व्यवसायी वा व्यक्तिसँग सयौँको रोजिरोटी र करोडौँ वा अर्बौ रुपैयाँ राजश्वको सवाल जोडिएको छ । एकजना इमान्दार व्यवसायी बच्दा सयौँ नागरिकको रोजिरोटी जोगिन्छ । ती सयौँ नागरिकमाथी आश्रित परिवारको सवाल जोडिएको छ ।

माथी चर्चा गरिएका संकटहरू पार गर्न सरकार र व्यवसायीले उत्तिकै जिम्मेवार र संयम भएर काम गर्नुपर्छ । सरकारले सक्दो सहयोग र संरक्षण हुने गरि काम गर्नु पर्छ । त्यसैगरी व्यवसायीहरू पनि कानून र विधिसम्मत तरिकाले चल्नु पर्छ । आफू इमान्दार भए मात्रै राज्यलाई औँला उठाउने नैतिक बल उत्पन्न हुन्छ ।

सरकार र पर्यटन व्यवसायीबीच यसरी नै विश्वासको वातावरण बन्दा मात्रै अवस्था सहज हुन्छ । यही सहज वातावरणले समृद्ध भविष्यको बाटो तय गर्छ ।

अन्त्यमा,

अवस्था सामान्य भए पनि तत्काल विदेशी पर्यटक नेपाल आउनसक्ने सम्भावना न्यून छ । यसैले तत्कालका लागि आन्तरिक पर्यटन प्रर्बद्धन गर्न संघ, प्रदेश, स्थानीय सरकार र व्यवसायीले अ–आफ्नो ठाउँबाट पहल थाल्नुपर्छ । किनकी पर्यटन भित्रको एउटा महत्वपुर्ण अङ्ग आन्तरिक पर्यटन पनि हो ।

संघीय सरकारको बजेटले सरकारी कर्मचारीलाई भ्रमणका लागी तलब सहितको १० दिने विदा दिएको छ । करिब एक लाखको संख्यामा रहेका निजामति कर्मचारी मात्रै १० दिन घुम्न निस्किए आन्तरिक पर्यटनलाई ठूलो टेवा दिन्छ ।

अर्को कुरा, नेपालबाट बिदेश भ्रमण शिर्षकमा बाहिर जाने धेरै पैसामध्ये २५ प्रतिशत मात्रै नेपाल भित्रै खर्च गराउन सक्यौँ भने ठूलो उपलब्धी हुनेछ । यसलाई पनि अभियानकै रुपमा सुरू गर्नुपर्छ । पछिल्लो समय प्याकेज नै किनेर स्वदेशका विभिन्न ठाउँमा घुम्ने नेपालीहरू बढिरहेका छन् ।

अहिले ट्रेकिङ र टूरमा पनि आन्तरिक पर्यटकहरू जान थालेका छन् । यी गतिविधीहरू पर्यटन क्षेत्र आशावादी हुने र नेपालीले आफ्नै देश चिन्ने मौका हो । त्यसैले यो संकटलाई पार गर्न सरकार, पेसा व्यवसायी र आम नागरिकले हातेमालो गर्न जरुरी छ ।

लेखक बिगत एक दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्