Logo

देशभर १६ दिने घटना दर्ता सिविर सञ्चालन



काठमाडौं । संघीय सरकारले स्थानीय तहसँग मिलेर १६ दिनसम्म घटना दर्ता सिविर सञ्चालन गरिरहेको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले देशभरका सबै वडामा सिविर सञ्चालन भइरहेको छ ।

देशभरका ६ हजार ७४३ वटा वडामा सिविर सञ्चालन भइरहेको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए । सिविरमा जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइँसराईको दर्ता भइरहेको छ । “एउटै वडामा स्थानीयवासीलाई पायक पर्ने गरि वडाको केन्द्रसहित ठाउँसम्म सिविर सञ्चालन भइरहेको छ,” उनले भने, “कर्मचारीहरू सिविरमै खटिएर घटना दर्ता गर्ने र रुजु गर्ने काम गरिरहेका छन् ।”

सिविर सञ्चालनका लागी विभागले स्थानीय तहहरूलाई आवश्यक जनशक्ति र सामाग्रीसमेत उपलब्ध गराएको छ । यसबाहेक घटना दर्ता र सामाजिक सुरक्षा भत्तासम्बन्धि गुनासोको पनि सुनुवाई गरिने उनले बताए ।

विभागले सन् २०२४ सम्ममा पूर्ण रुपमा घटना दर्ता गर्ने लक्ष्य राखेको छ । सन् २०१४ देखि २०२४ सम्मलाई घटना दर्ता दशकको रुपमा घोषणा गरेको छ । सिविरमा घटना दर्ताबाहेक सामाजिक सुरक्षा भत्ता पाउनयोग्य लाभग्राहीको निवेदन तथा नवीकरण गरिनेछ ।

किन आवश्यक छ घटना दर्ता ?

सामान्य जस्तो लाग्ने घटना दर्ताको महत्व धेरै छ । विभागका निर्देशक युवराज कट्टेल भन्छन्, “सामाजिक सुरक्षा भत्ता बाँड्नेलगायतका ६७ वटा सरकारी कामसँग घटना दर्ता जोडिएका छन् । घटनाको एकिन तथ्यांक नभए सरकारले गर्ने कामहरू असफल हुन सक्छ ।”

सामाजिक सुरक्षा भत्ता वितरणमा पनि घटना दर्ताको महत्वपूर्ण छ । भत्ता पाइरहेको लाभग्राहीको मृत्यु भएर पनि मृत्यु दर्ता भएन भने लाभग्राहीको नाममा भत्तावापतको रकम विनियोजन भइरहन्छ । जन्म दर्ता भएन भने बालबालिका बाल संरक्षण भत्ताबाट बञ्चित हुन्छ । भत्ता पाउने लाभग्राहीले बसाइँ सरे पनि बसाइँसराई दर्ता भएन भने भत्ता नपाउने वा दोहोरो भुक्तानी हुने जोखिम रहन्छ ।

यसैगरि घटना दर्ताले मुलुकभरको जनसंख्याको गतिविधी थाह पाउन सकिन्छ । घटना दर्ताको एकिन तथ्यांकले राष्ट्रिय नीति तथा कार्यक्रमलाई सफल बनाउन मद्दत पु-याउँछ ।

प्रतिक्रिया दिनुहोस्